रिमिटेन्स

Author : आशिष साम्पाङ 'महेश'
Published on : March 01, 2012


  
आशिष साम्पाङ 'महेश'

ए पुरोहित बाजे !

तिमी उता महायज्ञमा छौ

म यता खाडीतिर

बालिरहेछु वैदेशिक रोजगार धुनी

तापिरहेछु अपराधी उष्ण गर्मी

रात बिरात आलिङ्‌गन गर्छु प्रिय मृत्यु

पठाउँछु कफिनमा हालेर सम्झनाको पार्सल

मायालुको नाउँमा-रोइरहेको सेतो गुलाफ,

 

मलेसियाको औधोगिक घना जंगलमा

खोजिरहेछु श्रमको लालुपाते

यन्त्र जडित कल्पवृक्षबाट

टिपीरहेछु रगताम्मे लालीगुँरास

पठाउँदैछु निर्जनभूमीबाट

जिउँदो लासमा फक्रेको जिन्दगी

अनी

अत्यास लाग्दो अपाङ्ग फूलपाती,

 

हतौडाले हानिरहेछु अभागी पुर्पुरो

बनाएर हेम्रेज मस्तिष्क

बजार्दैछु निरन्तर परजीवी गैंतीबेल्चा

स्वाभिमानी चौडा वक्षस्थलमा

हानेर क्रूरताको ड्रिलमेसिन

पारेर छिद्र छिद्र संवेदनाका फोक्सोहरु

खोजिरहेछु रंगीबिरंगी कठोर हीरा

पठाउँदैछु असर्फीयुक्त

एकजोर निर्दोष आँखा,

 

ए पुरोहित बाजे !

यी सबै पठाएकोछु मैले

मेरा हड्डिको चन्दन घोटेर

मेरा रगतले अक्षता मुछेर

जिन्दगीका अधुरो हिसाब किताब

स्वणिर्म सपानायुक्त दक्षिणा

रिमिटेन्सको कालो लिफाफामा हालेर

राष्ट्रियता र सुशासनको

शान्ति र सम्वृद्विको

उही महायज्ञमा

दूर समुद्रपारिबाट ।

 

 

नोट:यो कविताले खोटाङ टेम्के तुवाचुङ साहित्य पुरस्कार निर्माण समितिले आयोजना गरेको 'बॄहत हङकङव्यापी कविता प्रतियोगिता'मा दोस्रो पुरस्कार प्राप्त गर्न सफल भएकोमा कवि ज्यूलाई सॄजनशील साहित्य समाज हङकङको तर्फबाट धेरै धेरै बधाई छ ।