माटोको माया Author : टोप बहादुर राई Published on : March 01, 2012 |
||||||
नापेर देशका सिमाहरू बिस्तारामा जब ढल्छन् आमा बिनाका रित्ता रातहरू सुस्केरामा फेरि पुग्छु म एक पटक त्यहि हाटखोलाहरूमा ट्याम्केको उकालीहरूमा पातालको लहरी खर्कहरूमा ओलाङचुङ्गगोलाको शिरमा फुल्ने बुकी फूलहरूमा सुँघ्दै कस्तुरी बिनाका सुवासहरू चोर्दै सुनाखरीका सुन्दरताहरू ओढ्दै टारबारी सिमलका भूावाहरू मुठी भरी मसार्छु मेरै देशको माटो, कोल्टो पर्छु अह ! निदले गति लिएन उठ्छु फेरि एक प्याला सराव पिउँछु उसकै नाममा तर झन् छछल्किन्छन् यादहरू पोखिन्छन् नौनी भएर परेली भरी कसो-कसो पुछेछु आँसुका दानाहरू दौराका फेराले तर पुछ्न् सकिन आँखा भरि नाचिरहेका त्यो सुन्दर गाउँघर घुमिरेहका रोटेपिङ्ग र झुलिरहेका सहेलीहरू, अडिन्छु फेरि एक पटक पारिजातहरूमा मखमली र सयपत्रीहरूमा यौवनका रस चुस्दै हिड्ने श्वार्थी भमराहरूमा कतै उसले देशको सुगन्ध त लुटेन ? फेरि एक पटक सुँघ्छु मेरै देशको माटो, अब त भोली भयो पावर दबाउछु टेबलको थोत्रो कम्प्युटर माथि कोट्याउँछु कुना-कुनामा घरदेशका खबरहरू देशका सबै युवाहरू बिदेश पलायन देशको माटो बाँझो पल्टियो कुबेतमा घर मालिकद्वारा नेपाली चेली बलाकृत अफगानको यूद्धमा २ जना गोर्खाली फौजले वीरगति प्राप्त धड्कन रोकियो मन बेचैन भयो मुग्लाने छोराको कठै कति दुख्यो होला नेपाली बाबाको छाती ? कठै कति रोयो होला नेपाली आमाको मन ? नियाल्दै मृत्यूका भी.सी.हरू फेरि एक पटक सुन्छु मेरै माटोको आवाज गन्दै मृत्यूका भी.सी.हरू फेरि एक पटक सुन्छु मेरै माटोको चित्कार । नोट:यो कविताले खोटाङ टेम्के तुवाचुङ साहित्य पुरस्कार निर्माण समितिले आयोजना गरेको 'बॄहत हङकङव्यापी कविता प्रतियोगिता'मा पाँचौं तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकोमा कवि टोप बहादुर राईलाई सॄजनशील साहित्य समाज हङकङको तर्फबाट धेरै धेरै बधाई छ । |