अनेपाली परदेशी

Author : चन्द्र मादेन 'आन्छन्‌'
Published on : February 15, 2012


  
चन्द्र मादेन 'आन्छन्‌'

परदेशीएपछिनै मातृ देशको             

तृष्णाले सताउने रहेछ

महलको सपना बोकी न्यानो गुड छोडी

रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार !

बाहिर जस्तो देखिए पनि 

भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ

तर के गर्नु आज परिस्थितिले विदेशीदा

आफ्नै देशले अनेपाली बनाइरहेछ,

 

हामी मातृभूमि, इतिहास र देश बेगरको

मान्छे अवश्य होइनौं होला  

माटोको आधारमा जन्मसिद्द पाएको नागरिक पनि

खोसिएर अनागरिक बनाइरहेछ

तर.. तर मेरो पहिचान केमा खोज्छ

यो निति नियम बनाउने स्वाठहरुले ?

मैले नेपाली भाषा बोलेको

मैले नेपाली भाषा लेखेको 

मैले नेपाली गीत गाएको

मैले नेपाली पोसाक पहिरेको

मैले नेपाली साहित्यमा लगानी गरेको

त्यो मेरो देश रुँदा भक्कानिएर रोएको

यी सवै कानुन बनाउने बुर्जुकहरुले सुनुन्,

 

परदेशमा बस्यौं भनेर हामीले

च्याब्रुंग बजाउन, धाननाच्न

र साकेला नाच्न छाडेको छैनौं

भानुभक्त र लक्ष्मी प्रसादको

जन्म दिन मनाउन छाडेको छैनौं

तिहारमा लक्ष्मीपुजा गरेर

देउसी खेल्न छाडेको छैनौं

माघे सक्रान्तिमा तरुल र असार पन्द्रमा

दही चिउरा खान छाडेको छैनौं

वाध्यतिएर बिदेशको नागरिक लियौं भन्दैमा

पुर्खौ पुर्खा देखि पाएको नागरिक कसरी खोसिन्छर ?

के सोचेकाछन् कलुषित मानसिकता बोकेकाहरुले ?

छातीमा हात राखेर क्रिया खाएर भन....

हामी नेपाली मूलबासी होइनौं भनेर

हामीमा नेपालीको पहिचान र मौलिकता छैन भनेर

हामीलाई रत्तिभर विश्वास लाग्दैन

गीता, बाइबल, त्रिपिटक र कुरान राखेर क्रिया खाँदा

हामीलाई विश्वास लाग्छ प्यारो प्रकृति र माटोको,

 

कोशी ब्यारेज डुबानले सयौंलाई लापता बनाएको होस

खोटांगको सुङदेल र दिप्सुनगमा पहिरोले

सयौंको ज्यान लाँदा होस

ताप्लेजुंग सदरमुकाममा भिषण आगलागीले

शहर कुरूप बनाउँदा होस

भोजपुरको सदरमुकाममा प्रसुतिगृह निर्माण गर्दाहोस

धरानको मुटुमा सगरमाथाझैँ ठिन्ग्रिंग घण्टाघर ठड्याउदा होस

यस्ता कैयौं समस्याहरु प्रत्येकमा   

मैले आँसु बगाएर दु:ख साटेकोछु

मेरो प्यारो मातृ देशको लागि परदेशबाट,

 

तर पनि हामीलाई जबरजस्ति विदेशी बनाएकाछन्

हाम्रो मष्तिस्कका चाँप बढाएर चुलीमा पुर्याइदिएकाछन्

हाम्रो छातीमा तिखो झिरले रोपेकाछन् 

कानुनका वेत्ता भनाउदाहरुले

यी अरामदार घुम्ने मेचमा बस्ने

गिदीमा लिदी वोकेकाहरुले

जतिसुकै उपेक्षा र तिरस्कार गर्दा पनि

यो परदेशको सयौं तलाको गगनचुम्बी महल

चौरासी ब्यन्जन्को खान्किहरु

जादुवाल चटकीले तयार गरेझै

आश्चर्यचकित मन्त्रमुघ्ध पार्ने स्थलहरु किन नहोस

त्यहि प्यारो मातृभूमिको झुपडी घर

सल्लेरी डाँणा, गुंरासे भन्ज्याङ देउराली डाँडानै प्यारो लाग्दोरहेछ

ढिडो, गुन्द्रुक, सिस्नु र गिट्ठा भियाकुरनै मीठो लाग्दोरहेछ

नाना, दाना र छानाको समस्याले मातृ देश छोडेर परदेश बसे तापनि

मानसपटलमा हरदम नेपाल नाचिरहदोरहेछ

मझेरिमा नेपालकै ढ्यांग्रो बजिरहदोंरहेछ,

 

सयपत्री, मखमली र बाबरिलाई सजाएकै छौं

जनै पूर्णीमा, तिज देखि कौरा र सोरठी खेलेकै छौं

बाँसुरी, सारंगी र मादल, डम्फु बजाएकैछौं  

अब भन सिंहदरबारमा भाडभैलो मचाउने ६०१ डङ्गुरहरू  

हामी कसरी अनेपाली ?

हामी कसरी अनागरिक  ?

हामीलाई थाहा छ तिमीहरुको

गन्जागोलको आपसी विभेदहरुले गर्दा

यो हाम्रो माटोसंगको अमिट साइनोको

चित्कारहरु पुड्का हुनेछ ।

 

maden_family@yahoo.com