फ्रान्कोनियाको मेट्रो

Author : युवराज नयाँघरे
Published on : January 12, 2012


  
युवराज नयाँघरे

कार छोडी चढियो मेट्रो !

नीलो रङको मेट्रो । सुरुदेखि अन्तिमसम्म रेलयात्रा हुने भो अब । हो, लामो रेल चढाइ । यसको खोजी मैले गरिरहेथेँ निकै अघिदेखि । बल्ल साइत जुर्यो आज ।

जिमार तलिफसँग मेरो चिनाजानी भएथ्यो सेरहुडमा ।

तालिबानीको तारोबाट बचेर अमेरिका पुगेको रहेछ अफगानी तलिफ । भेटेकै दिनदेखि उसको र मेरो राम्रो दोस्ती भयो । गहिरो मिलाप ।

भर्खर खोलिएको पिज्जा सिटीमा काम पाएका थियौं हामी दुबैले । काम नभएर हाई-हाई गर्दै बस्थें म । पाँचकोठे त्यो पसलमा हरेक कोठामा पाँच-पाँच मिनेट बिताउँथे समय कटाउन ।

कारमा डिभिडी हेरिबस्थ्यो ऊ ।

स्टोर प्रमुख जसवन्त सिंह ग्राहक नआएको हुनाले छट्पटिन्थ्यो निकै नै । खुब हैरानीमा थियो ऊ । एकजना किन्ने मान्छे आउँदा हड्बडिन्थ्यो खुबै ।

अनि भन्थ्यो-'म गुरु नानकलाई पुकार्छु !'

'तिमी भगवानसँग प्रार्थना गर !'

मलाई हेर्दै भन्थ्यो ।

'अल्लाहलाई भनिदेऊ तिमी चैं !'

तलिफलाई हेर्दै भन्थ्यो ऊ ।

घोर चकमन्न थियो स्टोर । सुनसान पसलमा ग्राहक नआएकोमा गीत रन्केर गाउँदै भन्थ्यो सिंह-'कस्तो चकमन्न !'

दिनभरिमा एकसय डलर पनि हुँदैन्थ्यो आम्दानी । मलाई चालीस डलर, तलिफलाई चालीस डलर दिन धौधौ परेको थियो जसवन्तलाई ।

ग्याँस, बत्तीको खर्च टाढाकै कुरा परे !

'कसको सराप पर्यो हा, मेरो स्टोरमा !'

ऊ घरीघरी सुनाउँथ्यो हामीलाई ।

जनवरीको सत्ताइस तारिख ।

छुट्टीको दिन पारी हामी एकाबिहानै गयौं फ्रान्कोनिया ।

'तिमीले मेट्रोको मस्ती कति गरेका छौ, डिसीको ?'

'थोरै गरेको छु । एकदमै थोरै !'

'जनवरीको अन्तिम हप्ता घुम्ने है त !'

'कान्छी नानी धेरै चाहिएला नि त ?'

'यस्तै पचास डलर बोके पुग्छ !'

', म जाने भएँ !'

परिवारका साथ हार्डफोर्ड नजिकै बस्थ्यो तलिफ । बमले खाएका हातखुट्टा गुमाएर अपाङ्ग भएकी अत्यन्तै सुन्दरी बहिनी र बूढौली उमेरकी आमा साथमै थिए तलिफका ।

गृहयुद्धका अत्यन्त जिउँदा अनुहार थिए तलिफका आमा र बहिनी ।

ऊ आाफै पनि पीडित थियो तालिवानीको दण्डबाट । कुहिनो देखाएर भनेथ्यो-'करेन्ट लाएथे धेरै पटक । कसरी-कसरी बाँचे म !'

तीन हप्ताका बीचमा पाँच-छ पटक भेट भइसकेथ्यो तीसँग मेरो । छोड्न र लिन जाने काम तलिफ नै गर्थ्यो मलाई ।

राति एघार बजेतिर ड्रमक्यासलमा छोड्दा भनेथ्यो-'ठीक चार बजे लिन आउँछु म । तयार भइरहनु नि !'

पासपोर्ट खल्तीमा हालेँ अनि सय डलर कोचेँ तीन खल्तीमा बाँडेर ।

मासु र भात एकै ठाउँमा हाली मज्जाले भुटेर प्लास्टिकको बट्टामा राखेँ बिहानको बाटो सामल । भोलिपल्टको झन्झट सम्झेर पाइन्ट-ज्याकेट लाएरै सुतेँ म ।

नभन्दै बिहानको चारबजे लिन ऊ आयो र घन्टी दियो फोनको । खुरुर्र तल झरेर म चढेको थिएँ कार । अनि हुँइकेथ्यौं हामी वेगले । झण्डै दुई घन्टाको हुँइक्याइपछि हामी पुगेका थियौं भर्जिनियाको फ्रान्कोनिया ।

यहीँबाट सुरु भएथ्यो-नीलो रेल चढ्ने काम ।

वासिङ्टन डिसी, भर्जिनिया र मेरील्याण्ड वरिपरि रातो, नीलो, हरियो, सुन्तले र पहेालो गरी पाँच रङ्गे रेल कुद्छन् । प्रविधि र सुविधाले अत्यन्त सम्पन्न यी मेट्रोले बोक्छन् करौडौं मान्छे ।

'रस आवर' भनिने बिहान बढी पैसा काटिँदो रहेछ टिकटबाट । दिउँसो र मध्यरातमा चाप कम हुन्थ्यो निकै कम । अरु बेला चैँ टनाटन हुँदा रहेछन् मान्छेहरू ।

'तिमी बीस डलर मलाई देऊ । मेरो मेट्रो कार्ड काम लाग्छ तिमीलाई । मेरो लागि त बेग्लै छ !'

मैले खुरुक्क बीस डलर थमाएँ ।

'पैसा नपुग्ने भए पछि उतै मिलाउँला नि !'

भनिटोपल्यो तलिफले ।

अनि स्टेशनतिर लाग्यौँ हामी । आठ बजेको छ बिहानको । भीड निकै बढेको छ । केटाकेटी र अधबैँसे आइमाईंको चाप छ बढी नै । तिनको घन्चमन्च बेस्सरी देखिरहेको छु म ।

भित्तामा टाँसिएको सूचनापाटी पढेर तलिफले भन्यो-'अरु दस डलर थप्नु पर्ने भो तिमीले !'

'ठीक छ, म थप्छु !'

मैले नयाँ पाँच-पाँचका दुईवटा कट्कटाउँदा नोट थमाएँ ।

मेरो मनमा कुरा छड्किए-'मुसल्टे, हिजोको टिप्स सबै थुत्ने भइस् तैँले !'

अघिल्लो दिन एकाएक मौसम बिग्रेथ्यो दिउँसोदेखि । स्टोरमै थिएँ म । तलिफसँग गफिएर घन्टा हानिरहेथेँ । हिउँ पर्ने सूचना बिहानै टेलिभिजनमा आएथ्यो ।

एउटी अश्वेत रुपसीले पाँच-पाँच डलर हाम्रा हातमा दिएर भनी-'जिजस महान छन् । तिनले मेरी आमाको मृत्यु सहज पारिदिए !'

आज बेलुका भोज रहेछ उसका घरमा । धेरै किसिमका समुद्री परिकार अर्थात् सी फुड लिन आएकी रहिछ भव्य ज्यानकी अफ्रिकी रुपसी । 'छिरिम्' भनिने माछाको परिकार ऊ खुब खान्थी । पच्चीस-तीस परिकारका सी फुड लिएर ऊ जाने बेलामा टुप्लुकिएका रहेछौँ हामी ।

अनि उसले पाँच-पाँच डलर दिएर मातृऋणबाट मुक्त भएकी थिई कि !

'ए ठोसे तरुनी, तैँले एउटा बाहुन र अर्को मुसल्टेलाई पाँच-पाँच डलर दिई आमाको दूधको भारा तिरेँ भन्ठानिस् कि क्या हो ?'

मैले मनमनै सोधेको थिएँ ।

फ्रान्कोनीया स्टेशनको कल्याङमल्याङमा छु म । हिस्पानिक र अश्वेत आइमाईको लर्को छ बढी नै । तिनको मोटाइ चैँ खाइलाग्दो ! शरीर छरिएको देख्छु चारैदिशा !!

मेट्र्र्रो कार्ड घोटेर हामी चढ्यौं रेलमा । छिनभरमै टिङ्लिङ्ङ बज्दै ढोका लाग्यो । मान्छे थिए टनाटन ।

हामी धेरै हिन्दी र थोरै अङ्ग्रेजीमा बातचित गर्थ्यौं ।

केही छाडा शब्द उसले मलाई सुनाएर अर्थ जान्न खोजेथ्यो ।

'कसरी सिक्यौ यी शब्दहरू ?'

मैले प्रश्न गरेँ ।

'केही नेपाली साथी छन् नि कलेजमा । घोकाए तिनले !'

उत्तर सुनें ।

��"हो एउटा घिनलाग्दो शब्दका पछाडि पत्रु स्वभाव, निकृष्ट चालचलन, विकृत संस्कृति, असङ्गत जाति र नालायक देशको अनुहार सँगसँगै आउँदो रहेछ ।

त्यस घडी खिन्न भएर मन घुम्यो मेरो !

केही वर्ष अघि अमेरिका छिरेको तलिफ कान्दाहारबाट सोझै आएको रहेछ । धेरै आफन्त उतै छुटेकामा बेलाबखत एक्लो ठान्दथ्यो । अफगानीहरू ग्रहणमुक्त नहुने ठान्थ्यो ऊ । हावामा वेगिएको जहाजजस्तो आनन्दीपूर्ण लागिरहेछ मेट्र्रो । टिलिक्क सफा, सुकिलो र सुग्घर छ त्यत्तिकै । सूचना र सुरक्षाका जानकारी छन् मेट्र्रोका भित्ताभरि ।

'मैले स्कुलमै हुँदा नेपालबारे केही जानें !'

'कसरी ?'

'इन्डियन एअरलाइन्स ओरालिएको थियो नि कान्दाहारमा ! त्यो नेपालबाटै कब्जामा पारेछन् अपहरणकारीले !'

'हो त नि !'

सही थाप्दै झ्यालबाहिर हेर्छु ।

नेपालको नाम कस्तो-कस्तो दुर्नियतमा गाँसिएको देखेर भित्तैदेखि खिन्न भएँ म ।

भ्यान ड्रोन स्ट्रीटमा रोकियो रेल । एउटी पुड्की गोरी चढी ठूलो गजधुम्मे ब्याग बोकेर । ब्यागबाट केही पत्रिका खसे । खसेका पत्रिकामा हिलारी क्लिन्टनका ठूलठूला फोटा छापिएका थिए विभिन्न रङरुप र आकारका ।

त्यो थियो अमेरिकाली चुनावको एउटा तस्बीर ।

हामी अहिले अलिक सोझिएर पूर्व लागेका छौं । किङ स्ट्रीटमा पुगेपछि पहेँलो रङको मेट्रोले छुँदो रहेछ । त्यहाँबाट आएका मान्छेहरू हुनसम्म थपिए रेलमा । अलिक धेरै बूढाबूढीको हुल थियो यहाँ ।

ब्रेडडोक रोडमा रेल रोकियो थोरैबेर ।

'तिमीले राति झोल खाएनौ होला ?'

'मलाई फुर्सदै भएन !'

'हेर, मलाई त चोक्टै खान अवसर मिलेन ! आमाले पकाउनु भएको खान नखाएको पनि महिना दिन भो !'

अगाडिको सिटमा एउटी भारतीय अनुहारकी आइमाईले उसको कम्मर-कम्मर बराबरको झोला बोकेकी थिई । त्यहाँ विभिन्न भारतीय परिकारका चित्र थिए अत्यन्त मनचोर्दा र कलात्मक । त्यही देखेर भोजन सम्झेको हुनुपर्छ तलिफले ।

कारमै छँदा मैले राति भुटभाट पारेको कुखुराको मासु र भात खाएको थिएँ । उसले यस्तै छसात चम्चा खाएथ्यो भात मात्र ।

'हलाल नगरेको मासु म खान्न !'

'त्यो पाइन्छ त यहाँ ?'

'पाउनु पर्छ । सकेसम्म आफ्नो धर्म बचाउनु पर्छ !'

'हो नि !'

'अमेरिकाले संसारका मान्छेलाई आफूकहाँ बोलाउँछ । अनि म पनि आएँ । अब उसले मेरो धर्म जोगाउने परिपाटी नबसालेर भो त ?'

'त्यसमा मेरो विमति छैन !'

म मेट्रोका अगाडि कुदिरहेका बिजुलीका अक्षर पढ्छुर नबुझेका कुरा तलिफलाई सोध्छु ।

आफूलाई पफ्र्युमको सौखिन रहेको बताउँथ्यो ऊ ।

पटक-पटक तीनचार डलर सापटी मागेको थियो मसँग । एक साँझ हामी डुल्दै-डुल्दै रजिस्टार टाउन पुगेका थियौं ।

तलिफले मसँग पाँच डलर मागेर भनेको थियो-'तिमीसागै ऋण लिन्छु, तिमीसँगै सामान किन्छु !'

'कुरो बुझिएन नि !'

'बिस्तारै बुझ्छौ !'

मबाट पाँच डलर लिएपछि हामी सरासर गयौं एउटा पसलमा । त्यहाँ हेटौडातिरकी एउटी नेपाली महिलाको पसल रहेछ ।

महिलाबाट पाएँ नमस्ते । नयाँ ठाउँमा सम्मान पाउँदा म अचम्मित, चकित र पुलकित नभएको होइन । तलिफले मेरा बारेमा भनिसकेको रहेछ ती आइमाईलाई ।

 पफ्र्युम किनेर फर्कंदा बाटामा अर्थ खुलायो-'नेपालीसँग ऋण र नेपालीसागै सामान खरिद गर्दा अघिको कुरो मिल्यो, हैन ?'

'हो, मिल्यो नि !'

'त्यसो भएपछि ब्याजको कुरै खत्तम !'

यति भनेर हासेथ्यो ऊ, मुस्काएा मै पनि ।

तलिफ गिज्याएर मलाई भन्थ्यो-'पढ्ने, लेख्ने दिमागी जन्तुहरू युवराज होइन महाराज हुन्छन् । तिमी महाराज हौ । त्यै भन्छु म तिमीलाई । बोलाउन सजिलो हुन्छ, महाराज !'

उसको चालामाला देखेर मलाई गजब लाग्थ्यो । अमेरिकामा बसेर दुःखको दौडमा सहभागी छ । दुईदुई ठाउँमा काम गर्छदिनरात नभनी । आमा र बहिनीको बोझ नि उसकै थाप्लामा । तैपनि ठाँटबाँट निकै चर्को !

मैले उसको नामलाई बिगारेर भनें-'तिमी मसँग पटकपटक डलर मागेर हैरानै गर्छौ । तिम्रो नाम जिमार होइन-जिमदार तकलिफ हुनुपर्ने !'

'किन नि ?'

'अमेरिकामा बसेर यस्तो महङ्गो अत्तर लाउँछौ-तिमी हाम्रो गाउँका जिमदार जस्तै शान देखाउने खालका छौ !'

'अनि तलिफको अर्थ पनि अर्कै लगाएको ?'

'मलाई तकलिफ दिइरहन्छौ, पटकपटक डलर मागेर !'

यसरी ऊ जिमार तलिफबाट 'जिमदार तलिफ' भएथ्यो । उसका आाखामा म भएथेँ 'महाराज' !

रोनाल्ड रेगन वासिङ्टन नेशनल एअरपोर्ट पुगिएछ । निकै भए यहाँ ओर्लनेहरू । चढ्नेहरू पनि उत्तिकै । डिब्बामा पस्नेका अनुहारमा उत्फुल्ल थिएन । लामो, हतास, र थकानको यात्राबाट आएका हुँदा हुन् ती ।

क्रिष्टल सिटी पुगेपछि तलिफले भन्यो-'घरका कुरा चैा नगर्ने है !'

 'हुन्छ । तर मनले त सबभन्दा बढी त्यही खोजिरहेको हादोरहेछ !'

'होइन । हामी मात्र त्यस्ता । यी अम्रिकाने त्यस्ता हुँदै हुँदैनन् !'

'तिनीहरू व्यक्तिगत स्वतन्त्रताका पक्षपाती !'

'आफूलाई भए, पुगिगो !'

'हाम्लाई मात्र बाबुआमा, स्वास्नी, छोराछोरी सबले घेरिरहने !'

तन्नेरी तलिफले कुरा गर्यो एकदमै बुझ्झकी ।

'स्वास्नीलाईलोग्ने फेर्न छुट्टी नचाहिने । लोग्नेलाई स्वास्नी फेर्न पर्खिरहनु नपर्ने महाराज !'

'हो नि, जिमदार !'

हाँस्यौँ हामी ।

मेट्रोमा अश्वेतहरूको हुल छ अलिक बढी । अझ विद्यार्थी जस्ता लाग्नेहरू बढ्ता छन् मेरा वरिपरि । दक्षिण अमेरिकी मूलका अनुहार निकै छन् मेरा अगाडिपट्टी ।

पेन्टागन सिटीमा पुगेपछि माइकिङ भयो-'सुरक्षाकर्मीहरू तपाईं बसे ठाउँमा आएर जाँच्ने छन् । कृपया यथास्थानमा बस्नुहोला !'

मैले खसखस पोखेँ-'के यो नियमित जाँच हो कि ?'

'जे पनि हुन सक्छ !'

', !'

नभन्दै केही छिनमा डरलाग्दा कुकुर लिएर गौराङ्गे अग्ला सिपाहीको भीड भरियो मेट्रोमा । मैले पासपोर्ट छामें । मेरो परिचय सबै त्यही थियो । कसैले मागिहाले देखाउने कागजपत्र थियो त्यही नै ।

निकै हुँइकियो मेट्रो ।

अर्लिङ्टन सिमेट्रीमा केही छिन मेट्रो रोकियो ।

'मेरा मामा यहीं मारिएथे !'

'कसरी ?'

'एउटा कालेले ब्याग लुटेछ । मेरा मामा पनि लर्तरा थिएनन् । लुटेरासँग एकछिन लडेछन् । कालेले टाउकैमा गन हानेछ । सहयोगको क्षतिपूर्ति त पाइयो । पाइएको डलरले उपचार गर्दागर्दै मान्छे नि गए, डलर नि सिद्धियो !'

'बढो नराम्रो भएछ !'

'यै त हो अमेरिकी उपहार !'

तलिफको मन छुने कुराले आङै सिरिङ्ङ पार्छ ।

रोजलिन पुग्दा देखापरे केही नेपाली अनुहार ।

मैले बिस्तारै उसलाई भने-'यतातिर निकै नेपाली छन् रे नि जिमदार ?'

'हो, महाराज ! मेरो कलेजमा यताका निकै नेपाली भेटेथेँ । अहिले त ती धेरै जसो बोस्टन, टेक्सस र नर्थ क्यारोलाइनातिर गइसके । म मात्र मेरील्याण्डमै जकडिएको छु, छु !'

परिवारको बोझमा थिचिएको अनुभव पोख्यो उसले ।

रोजलिनमा सुन्तले रङको रेल भेटिने दोभान रहेछ । झन्डै एक घन्टा अब नीलो र सुन्तले मेट्रो सँगसँगै दगुर्ने सूचना तलिफले दियो मलाई ।

'वासिङ्टन डिसी कत्तिको घुमेका छौ ?'

'घुमेको छु तर चित्त बुझेको छैन !'

'अब डिसीको खास माहौल देखापर्छ !'

हतारिएर मैले सोधेँ-'डिसी आइसक्यो र ?'

'डिस्ट्रिक अफ कोलम्बियामै छौँ हामी । तर वासिङ्टन डिसी भन्ने मुख्य ठाउँतिर जाँदैछौँ !'

तलिफले ठाउँ निहाल्दै भन्यो ।

हामी प्रसिद्घ पोटोम्याक नदी तरेर पुगिसकेछौँ पारि । फगी बटममा पुग्दा थाहा भो-यहीँ रहेछ, भियतनाम भेट्रान्स मेमोरियल्स ।

कुनै समय भियतनामको युद्घमा होक्काँ साँडे भएर गएको अमेरिका कालान्तरमा भिजेको बिरालो भएर लुरुक्क फर्केथ्यो रातो मुख लाएर । आजभोलि तिनै जोधाहाहरूको सम्झना सागालेर बनाइएको रहेछ, स्मृतिस्थल ।

कुनै बेलाको सनक पछि बन्न पुग्छ सम्झनाको पाटो !

पुगिएछ फारागट वेस्टमा ।

'तिमीलाई देखाउने कुरा छुटेछ !'

'के जिमदार ?'

'जर्ज वासिङ्टन युनिभर्सिटी जाने ठाउँ हो फगी बटम । देखाउनै बिर्सेंछु महाराज !'

सामान्य रुपमा लिएँ उसका कुरा मैले । हो, सदासयता चैँ प्रीय थियो उसको ।

फारागट वेस्टमा मान्छे फेरि ओइरिए । ठूलै पारिवारिक जत्था छिर्यो मेट्रोमा । केटाकेटीको कल्याङमल्याङले स्नेही बनायो वातावरण । मेरा छेउमा चारजना ससाना बच्चालाई वरपर राखेर मन एकातिर अनि ज्यान अर्कातिर भएकी आइमाई थिई । त्यो बसोस् भनेर ठाउँ नि छा्ड्न मन थियो । फेरि अरुले के भन्लान् भन्ने अप्रत्याशित भय पनि छँदैछ छातीभरि । नेपाली मायालु मन कठोर बनाएँ अमेरिकामा ।

'अब रमाइलो हुन्छ !'

'किन नि ?'

'अब मेट्रो सेन्टरमा पुग्दा रातो, नीलो र पहेालो रेल तलमाथि भेटिन्छन् क्या । यो निकै ठूलो स्टेशन हो । त्यहाँको भीड निकै मूल्यवान् लाग्छ मलाई । ठम्याउन सकियो भने आˆनो देशबाट गायब हुने मान्छे मेट्रो सेन्टरमा भेटिन्छन् !'

'त्यसो हो भने खोज्छु नि मेरा देशका मान्छे !'

हाम्रा गफ हुन्छन् मज्जाले ।

थुतुनो चलाए पनि आँखा झन् टड्कारा पारिरहेको छु म । दृश्य छुट्लान्, परिवेश उम्केलान् र चरित्र फुत्केलान् भन्ने पिरलो छ मलाई । यो वातावरण फेरि जुट्ला कहाँ ! घुम्नै भनेर हिँडेको मौका फेरि जुर्ला कसरी !

'एशियाली-एशियाली एक हौँ !'

चिनाजानी भएकै साँझ तलिफले भनेथ्यो । भेटेकै साँझ उसले मलाई आˆनी आमासँगचिनाएर भनेथ्यो-'आमा, यो दिमागी मान्छे रै'!'

युद्घग्रस्त देशको अत्यन्त हार्दिक मान्छेले अमेरिकामा सम्मान गरेथ्यो मलाई । अफगानी मोटा र बाक्ला रोटीमा नेपाली तिलको अचार राखेर हामी दुबैले निकै पटक खाएथ्यौँ दिउँसोको खाजा ।

निकै कल्याङमल्याङ भयो मेट्रो सेन्टरमा । मनग्गे थपिए मान्छेहरू । केही अघि पनि यहाँ आएथेा म । एकदमै ठाडो बिजुली भर्याङ चढेर बाहिरिएको थिएँ त्यो बेला । त्यतिखेरको मुटु कमाउने जाडो सम्झादा अहिले नि दाँत बज्छन् किटिट्ट ।

मनै अत्याउने ठिही !!

त्यसो त घटेको छैन जाडो । रोकिएको छैन हिउँ पर्न । जिउ लाछलुछ पार्न छोडेको छैन चिसो स्याँठले । के अमेरिकाको हावामा ठिहीको कीटाणु छरिएको छ कि क्या हो !

एउटी अफ्रीकी घ्याम्पे सुन्दरीले माथि टाउको समेत छोपेकी छ तर बटारिएका बज्राँठ पिँडुला समेत हृवाङ्ग पारेर तलिफसामु उभिएकी थिई ठिङ्ग । उसको ज्यान देखेर 'अनुलोम-बिलोम' गर्न थाल्यो मभित्रको लोग्नेमान्छेले !'

'प्रेम गर्यौ कसैसँग ?'

'त्यो गरिनँ । तर सुत्न चैँ सुतेँ !'

'प्रेम गर्दा महँगो पर्छ । सुत्दा थोरै डलर भए पुग्छ । डाउनटाउनतिर गएर हस्लर क्लब पसेको छु । अनि तीँ मिलाएर सुतेको छु-जमैकन आइमाईसँग, महाराज !'

मलाई निहाल्यो र सोध्यो-'तिमीले के गर्यौ नि अमेरिकी अनुभव ?'

'म त बालबच्चाको बाबु हुँ । श्रीमतीसँग साताको चार रात फोन गरी औडाहा मेट्छु, जिमदार !'

हासायो उसलाई मेरो कुराले ।

'वासिङ्टन डिसीमा ल्याप डान्स हेर्न नबिर्सनु फर्कनु अघि, महाराज !'

'तिमीले भनेजस्तै हुन्छ । आज्ञा शिरोपर छ, जिमदार !'

सवालजवाफले हासायो मस्तसँग ।

फ्रेडल ट्र्रयाङ्गल पुगिएछ । रोकिएको थिएन हाँसो । एउटा परिवारको तन्नेरी केटो र अर्को परिवारको अभिभावकका जिम्मेवारी थिए दुई खाले । तर समय एउटै थियो, कमाई उस्तै थियो । सबभन्दा अन्तिम सत्य एउटै थियो-पूर्वीय सभ्यताको जीवन बोकेर दुबै अमेरिकी स्वतन्त्रताको भासमा कुदिरहेका थिए बेस्सरी ।

स्मीथोनियन पुग्दा मेट्रो खाली भयो निकै-निकै ।

'यहाँ ओर्लेर मास्तिर गए क्यापिटल हिल, हृवाइट हाउस र थुप्रै सङ्ग्रहालयहरू हेर्न सकिन्छ । कि यहीँ झर्ने हो ?'

'होइन त्यसो नगरौँ ! गएको काम फत्ते गरौँ । पछि आएर डुलौँला नि !'

'लौ त लौ !'

यसरी ऊ फकियो र टुङ्गिएन हाम्रो रेलयात्रा ।

लेफेन्ट प्लाजामा पुगिएछ ।

थाहा भो- हरियो, पहेँलो, नीलो र सुन्तले गरी चार लाइनका मेट्रोको भेटघाट हुने मुख्य ठाउँ रहेछ यहीँ नै । फेरि निकै ठूलो भीड देखियो यहाँ । एक त आइतवारको छु्रट्टी ! फेरि बिहानैको उज्यालो समय !! अनेक हिसाबले मन दङ्ग थियो मेरो ।

'अब साधै यतै हो ?'

'अमेरिकाले जा नभनुन्जेल यतै !'

मैले उत्तर पाएँ तलिफ ।

'तपाईं नि ?'

'अमेरिकाले जा भन्नै पर्दैन । मन लागेको दिन उड्छु म !'

मेरो उत्तर थियो ।

उज्यालो अनुहारमा अँध्यारो हाँसो थियो उसको ।

क्यापिटल साउथपछि आयो इस्टर्न मार्केट । यहीँका थिए उषा, मालतीरविनाहरू । काम खोज्दै अहिले ती शेरहुडमा अल्लारिादै थिए । ती नेपाली रुपसी चेलीका भान्सामा अचार चाख्न निकै पटक पुगेको थिएँ म ।

कहाँको मनले कस-कसलाई भेट्यो !

अघिदेखि सागै हिँडेको सुन्तले रङको मेट्र्रो अर्को दिशातिर जाने सङ्केत देखियो अब । नभन्दै पोटोम्याक एभेन्युपछि आएको थियो स्टेडियम आरमोरी । यसै गौँडोदेखि दक्षिण लाग्दै थियो नीलो मेट्रो ।

बेनिङ रोडमा पुग्दा एउटा केटोले अर्को केटाका ओठ चुस्दै पस्यो मेट्रोभित्र । दुबैका लुगा थिए हलुका गुलाफी । जोडीको चालामालाबाट थाहा भो, ती रहेछन् समलिङ्गी । तिनको आगमन त्यति रुचिकर भएन हाम्रो कक्षमा । एउटा दुम्सीकाँडे कपालको मङ्गोलियनले छोडिदियो बसिरहेको सिट ।

शायद अपमान ठाने हुँदा हुन् तिनले । समलिङ्गीको जोडी बस्दै बसेन त्यो आसनमा । वरपरकाहरू नि चुपचाप भए ।

स्वतन्त्रताले सम्पन्न अमेरिकामा समेत अप्राकृतिक सम्बन्धलाई प्रश्नका आाखाले हेर्नेहरू पनि भेटेँ मैले । प्रकृतिका विरुद्घ सहने संसार कहाँ बन्ला र ?

अगाडिपट्टी उभिएकी एउटी बल्ड्याङ्ग्रे गोरीले चस्मा खोल्दै-लाउँदै एउटा उसकै ज्यानजत्रो पुस्तकका पानामा लगाइरहिथी दृष्टि । घरी-घरी ऊ हामीतिर आँखा लगाउँथी । नीला आँखामा युरोपको आभा देख्थेा म । असाध्यै उज्यालो उसको अनुहारमा पुस्तकका पङ्क्ति उत्रिएको भान देखिन्थ्यो सहजै ।

क्यापिटल हाइट्स, एडिसन रोडपछि मोर्गान बोउलबर्ड पुग्यौँ हामी । यस बीचमा रेलले धर्तीका अनेक फग्लेटा नाघिरहेथ्यो । साटिरहेथे अनुहारका अनेक रुप । हजारौँले मेट्रो चढ्ने र ओर्लने गरिसकेथे यतिन्जेलमा । युरोप, दक्षिण अमेरिका र एशियाका सयौं हृदयले अनेक भावनासँग पार गरिसकेथे सयौं किलोमिटर ।

म एउटा नेपाली थिएँ यो बिरानो ठाउँमा । कहिल्यै नभेटिएको अफगानीसँग चिनाजानीको सङ्गतले तानिएर यो सम्पन्न अमेरिकामा विपन्न हालतमा कुदिरहेथेँ म । हृदय थियो बेपत्तैसँग भावुक ।

तरल थिएँ म, पगिलरहेको थिएँ म !

'लोगो टाउन आयो !'

औल्याएर देखायो तलिफले ।

मैले अगाडि हेरँ-हरियो प्लेटको सेतो किनारमा लेखिएको थियो-लोगो टाउन सेन्टर ।

हाम्रो पनि अन्तिम गन्तव्य थियो यो । मेट्रोको पनि अन्तिम बिसौनी यै विशाल शहर । दुबै अर्थमा अन्तिम बिन्दु । एक घन्टाको काम सकेर हामीले फेरि त्यही बाटो र्फकनु थियो वासिङ्टन डिसी । हतार थिएन फर्किहाल्ने । फुक्काफाल भएर घुम्नु थियो अब ।

मेट्रोबाट र्झन लाग्दा हामी पछाडिको डिब्बाबाट पुलिसले एउटा लाम्घारे कुइरेलाई चौखु्रर्याउँदै हत्कडी लाएर घिच्चाएको देखियो ।

'त्यो मोस्ट वान्टेड क्रिमिनल हो । त्यसले पोहोर रोज आइल्याण्डमा तीन वटी गोरीलाई बलात्कार गरी बाथटबमा डुबाएर मारेको थियो । त्यो रस्सियन हो ! डाउन टाउनमा त्यसका फोटा जताततै टाँसिएका थिए !'

'हो, महाराज ! जहाँकै होस्, पुरस्कार पाउने उसले काम गरेको छैनन् नि । दण्ड नभए त, उनीहरूलाई खुदाले फेरि जीवन समेत दिइहाल्दैनन् !'

तलिफको ओठमा बोलीको खहरे छ अटुट ।

हामी स्टेशन बाहिर निस्क्यौँ कार्ड घोडेर । ठूलो पानी परेर रोकिएको देखियो । स्वागतमा परियो बिर्बिरे पानीको । अघि सम्मको तातो स्वात्तै हरायो बाहिरको चिसो स्याँठले । मध्य दिनको सुन्दरता मुस्काइरहेको थियो लोगो टाउनमा ।

न्युपोर्ट चुरोट सल्काएर तलिफ हिँड्यो । उसको पुच्छर थिएँ म, दर्गदिशा आँखा लाउँदै । थाहा छैन, कति प्रतिशत मेरो मन शान्त हुन सक्छ । छटपटी पो हुन थाल्यो ।

लट्ठिएँ म लोगो टाउनको भव्यतामा !