अनुबन्धनमा झुण्डिएको जिन्दगी

Author : दाजु गुरूङ
Published on : January 03, 2012


  
दाजु गुरूङ

लामा लामा बाटाहरूका पट्यारलाग्दो डोरीहरूमा

समयको कहाली लाग्दो लिङ्गेपिङ मच्याएर

जिन्दगी मच्चिमच्चि पिङ खेलिरहेछ

अलिकति रहरमा

अलिकति अभरमा

अलिकति कहरमा

लड्दैउठ्दै लड्दैउठ्दै पिङ खेलिरहेछ

जिन्दगीका खेलहरू स्वचालितछन

खेलाडीको दौडने पाईलाहरू पनि स्वचालित छन्

र त जिन्दगी यसै चालिरहेछ,उसै चलिरहेछ

यो अनुबन्धनको जिन्दगी,

 

डाँडा पाखाहरूमा दौडने जिन्दगी

रोदीमा दोहरी गाँउदै नाँच्दै हिडने जिन्दगी

बैंसलाई धरौटी राखेर

अनुबन्धनको डोरीमा पिङ खेलिरहेछ

धरौटीमा कैद पाईलाहरू

अध्याराहरूमा पनि चिप्लिरहेछ

उज्यालाहरूमा पनि चिप्लिरहेछ

र चिप्लिरहेछ

दृष्य अदृष्य ईशाराहरूमा आज्ञाहरूमा र रिमोटको तालहरूमा,

 

खुल्ला आकाशमा बेगमारी उड्ने जिन्दगी

आफन्तहरूका न्यानो काखमा फक्रेको जिन्दगी

सगरमाथा चुम्ने पाईतलाहरू लिलामीमा परेपछि

जिन्दगी कतै बाद्यतामा साटिएका छन्

पाईलाहरू कतै बन्दकीमा वसेकाछन्

आस्थाहरू कतै जमानीमा थाँती राखिएका छन्

सपनाका फूलाउने भिषाका टाँचाहरू सँग

र केही बचेको

केही साँचेको

अलिकति कहिकतै टाँसिएको

जिन्दगी कतै मान अपमानको धारले

कतै म हुनको काणले

कतै समयको वाणले

ढल्दै ढल्दै गईरहेछन्

नदीको बेगले किनारलाई ढाले जस्तै ,

अनि खिईदै खिईदै गईरहेछन्

कहिले रवरका जँगलहरूमा

कहिले वालुवाको महासागरहरूमा

कहिले मानवता हराउने सपनाका छालहरूमा

यो अनुवन्धनमा झुण्डिएको जिन्दगी,

 

बोझिला लम्पट बाटाहरूका डोरीहरूमा

समयको काहाली लाग्दो लिङ्गेपिङ मच्चाएर

जिन्दगी पिङ खेलिरहेछ

एउटै तालमा यन्त्रिक मुटु बोकेर

र त उज्यालाका घामहरू

अध्याराका रातहरू

कहिले अगस्ति बाटाहरूले चपाईदिन्छन्, निलिदिन्छन्

कहिले कंक्रिटका जंगलहरूमा वल्छन् निभ्छन्

कहिले नुनिलो सागरहरूमा उदाउछन् अस्ताउछन्

जिन्दगीको थैली रित्याउदै रित्याउदै

के भन्ने र रित्तो जिन्दगीको

कुनै निजि दिनहरू छैनन्, रातहरू छैनन्

दिनहरू रातहरू वन्दकीमा छन्,

लिलामको बोलकबोलमा उभिएकाछन्

र त पाईलाहरू मनहरू

समयको लिङ्गेपिङ खेल्दैखेल्दै

खिईदै खिईदै गईरहेछन्

तेल सकिएको धिप्री जस्तै

संजालका कृतिम बाटाहरूका डोरीमा झुण्डिएर

यो अनुवन्धनको जिन्दगी ।