काव्यिक उचाईको अनन्त यात्राः काँचो मुद्दा

Author : गणेश राई
Published on : November 23, 2011


  
गणेश राई
Author

सरल शब्दसंयोजनले पनि मीठो, महान र शालिन कविता लेख्न सकिन्छ । अनावश्यक बेअर्थको शब्द थुपार्दा काव्यिक भावनाले थेग्न नसक्ने मात्र नभई त्यसले कविताको मूल अर्थ भद्दा बनाउछ । उसै पनि अनावश्यक शब्दहरूको ��"इरो थुपार्नु कविता होइन । त्यसो गरिदा पठनीय निरस र निकम्मा लाग्छ । मीठो कविताको सृजना काँचको गिलासमा कोपेर अक्षर निकाल्नुजस्तै विराट जोखिम उठाउनु हो । काव्यिकभाव हृदयंगम गर्नु र कविता जज्वल्यमान बलेको देख्नु  सजिलो छैन । काँचो मुद्दा कविताको कविता हो । जहा काव्यिकताको सौन्दर्यताले कविता बलेको छ ।

देखी-देखी तिमीले

आगोमा जलिरहेको म

प्रश्न गरेथ्यौं सन्चै छौं ?

सत्य होला त्यतिबेला

आगोलेभन्दा तिम्रो प्रश्नले

मलाई भत्भती पोलेथ्यो ।   ......(आगो प्रश्न)

यो कविताले मानवीयता बाँझो पल्टेको आसय व्यक्त गरेको छ । अति यान्त्रिक भएको छ मान्छे आज । उभित्रको करुणा, सद्भाव र सम्वेदना मरुभूमिको तातो बालुवाभित्र पुरिएको छ । हृदयविहीन जस्तो लाग्छ त्यसैले आज मान्छे । आँखाले मात्र देख्छ त्यस्को सम्बन्ध मुटुसित नभएजस्तो । चट्ट छिने जस्तो मान्छे मान्छे बीचको असिम सम्बन्धको मिहिन तार ।

यौटा प्रसङ्ग-जगतलाई मैले निकै पहिले पढेथेँ । सायद जरा उखेलिदै थिएँ क्यारे उनलाई पढ्दा म आर्मी जीवनको । उनको कविताले म निकै प्रभावित भएको थिएँ । तारिफ गर्दै स्यावास भनेथेँ मनमनै । उनको कविताको भावार्थ यो कविताको जस्तै हुबहु थियो ठ्याक्कै ।

त्यो कुन महापुरुष होला ?

जसले अमर कवितालाई जन्माएर

आफू भोकै मर्यो ।      ...... (कवि)   

एक बिहान वानचाईदेखि सेन्ट्रल काममा जादै गर्दा ट्राममा अघिल्लो रात किनेको कान्तिपुर पल्टाएँ । त्यहाँ उनै जगत भेटिए कविताको बीच पानामा । उनको कविता उत्सुकताले पढेँ सबैभन्दा पहिले । पढी नसक्दै म चिन्ताले भरिएँ । अवाक भएँ । कमजोड कविताका कारण थिएन म चिन्तित बन्न पर्ने । कान्तिपुरमा छापिएको कविता उसै पनि स्तरीय थियो । लगभग आधा दशक पनि बितेको थिएन उनीभित्र मैले राम्रा कविको सम्भावना देखेको । भ्रम हो कि वास्तविकता, उनले लेखेको कविता योद्धाले लेखेको कविता थियो इराकको युद्धभूमिबाट । यौटा भरोसाले भरिएको कविको पलायन मेरो भयानक चिन्ताको विषय थियो ।

देशको लागि लडेको

वीर योद्धा सिपाहीको

सम्मान भइरहेको थियो

कसैको मुखबाट निस्कियो

कुन मुटु लिएर लड्दा हुन् सिपाहीहरू

मार्दाहुन् आफूजस्तै मान्छेलाई ?

सिपाही पनि मान्छे हो र ?......   (सिपाही र सम्वेदना)

सिपाही अर्थात आर्मी मान्छे हो कि होइन ? त्यसको सबुद, त्यसको प्रमाण उनको कविता साक्षि छ । मान्छे हुनुको अपरिहार्यता, सिपाही बनिनुको बाध्यताः उनका कृतिहरू पर्याप्त छन् । काँचो मुद्दा आज पर्यन्त छिनोफानो नगरीएको गम्भीर प्रकृतिको मुद्दा हो । जसको न्याय सङ्गत अन्त्य समयको माग हो । काँचो मुद्दाभित्र समेटिएको उनका कविताका जोडदार माग त्यति हो ।

मध्यदिनको चर्को घामभन्दा

चर्को भाषण सुनेर-खुलामञ्चमा

सहिदको शालिक ब्यूँझियो

अपमान, अपशब्द र गाली बाहेक

थप केही थिएन भाषणमा

तर आवाजको गर्जन मेघलाई बिर्साउाने थियो......    (कुकुरहरू)

ब्यङ्ग्य, जगतको कविताको धारिलो हतियार हो । ब्यङ्ग्यले भरिएका उनका कविताहरू जीवनका यथार्थ हुन्, जसको भावनाले पाठकको चित्त माझिन्छ । पुङ न पुच्छरको भाषण र भावविहीन कविता रित्तो भाडाको ठूलो हल्लाजस्तै हुन् । ब्यङ्ग्य मिश्रति काव्य रचनाको शक्ति अजेय हुन्छ । जगत शालिन शब्दहरूले तुनी व्यङ्ग्यले भरिएको शक्तिशालि कविता बुन्छन् ।

मेरा दुई दाँत छन्

एउटा देखाउने र अर्को चपाउने

ढुक्क भए हुन्छ

मेरो आज्ञा मानेसम्म

तिमी आहारा बन्ने छैनौं ।     (अमेरिका)

यही होइन त साम्राज्यवादी अमेरिकाको साचो परिचय ? जसलाई विश्वले जटिल र महान ठानेको छ । त्यहाँ पुग्न र बुझ्न सबै आतुर छन् । यस्तो कि अमेरिका पुगिएन भने जीवन निरर्थक बन्छ । काँचो मुद्दा अलिखित सत्यको दस्तावेज पनि हो । यस्तो लेख्न भावना, शब्द र ज्ञानको त्रिकोणात्मक हिम्मत चाहिन्छ । जगतले नामजस्तै लेखनमा पनि नवोदित गरे ।

छत्तिस वटा कविता अटाएको काँचो मुद्दाभित्र मुद्दैमुद्दा छन् जीवनका अनन्य पाटाका । ती सिमानाभित्रका पनि छन् र बाहिरका पनि । जीवनप्रतिको प्रगाढ सम्मोहन छ उनका कवितामा । जीवनको निराशा पनि छ, यद्यपि ती भरोसाले उठेका छन् । कसै अर्थात् आत्मियद्वारा छाडिनु पर्दाको पीर र वेदना पनि छ । तिनमा तर, लाचारीपनको गुञ्जायस छैन । हिम्मत र अथाह भरोसा छ जीवनको । अधिकांश छोटा कविताहरूद्वारा सिर्जित छ जगतको काँचो मुद्दा । ती छोटा कवितामा यद्यपि कवित्व छ । काँचो मुद्दाको ज्यान अडिएको छ भन्दा पनि हुने तागत छ तिनमा । जुनसुकै प्रकृति र प्रवृतिको कविता चाहे त्यो नोस्टाल्जिक होस् या देशप्रेम, सिपाही र राइफलको होस् या कवि र कलमको । या ती ब्यङ्ग्यात्मक नै किन नहुन् ती सबैलाई जगत काव्यिक भाषाको प्रयोगले अनुपम बनाउछन् । यो पक्ष उनको रचनाको सबैभन्दा सुन्दर पक्ष हो । गालि काव्यिक भाषा हैन । त्यसैले भाषण कविता हुन सक्तैन, साहित्य हुन सक्तैन ।

वर्षौ वर्ष देखि अपमानित सीमान्तकृत जीवनले खेपिरहन परेको साचो जीवनको टिपोट हो काँचो कागजमा सूचिकृत काँचो मुद्दा । जो पाठकको न्यायालयमा हाजिर छ-सही र सत्य न्याय माग्न । सदियौंदेखि थाति राखिएको काँचो मुद्दाको मिसिल भित्र मान्छेको कुरुपताको बयान छ । सिपाहीका अनेक रुप छन् । विविध पक्ष छन्- शत्रुसितका, साथीसितका, सत्ता र सपनासितका । ती जीवनकै लागि हुन् । सपना देख्नु जीवनको भरोसाको निम्ति हो । सिपाही पनि मान्छे हुन सक्छ र ? भनी सिपाहीको सम्वेदनाप्रति शंका गर्नेलाई काफि छ काँचो मुद्दाभित्रका सिपाही मान्छेका साचो मानवीयता ।

सुन्दर ममत्वले पनि ओतप्रोत छ यो कृति । कविले यसलाई अझ् शील्पले पठ्नीय बनाएका छन । विम्व र शील्पले आमाको ममताजस्तै सुन्दर लाग्छन् उनका कविता । दुःखको हत्केलाबाट सुख बाड्न सक्ने क्षमता आमा बाहेक अरु कोसित हुन्छ ? जगत बिभोर भएका छन् मातृत्व प्रेमप्राप्त ।

राप राखेर आफू जसले शितलता दिन्छिन्

त्यो काख मेरी आमाको काख हो ......

दुःखको हत्केलाबाट जसले सुख बाड्छिन्

त्यो हात मेरी आमाको हात हो ।    ......(आमा)

विभिन्न छाँट् र बान्किका कविताको गहन सागालो काँचो मुद्दा प्रकाशनको जिम्मेवारि नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलाई दिई जगतले प्रतिष्ठानलाई ठूलो गुणले बोझिलो बनाएका छन् । यति सुन्दर पठ्नीय कृतिको निम्ति उनलाई अनेक बधाई ।

बुझेँ, बल्ल बुझेँ-त्यो दिन म ब्यर्थै चिन्ताले बाँधिएको थिएछु, जुन दिन मैले उनको राइफलसित जम्काभेट भएको कविता पढेको थिएँ कान्तिपुरमा । गहिरो शङ्का गरेथेँ-राइफलले मार्ने पर्यो अनायासै जगतको कवित्व । उनी त कविताको पल्टन हिँडाउनलाई पो राइफलसित नारिन आएका रहेछन् । कहाँ फ्याक्थे-कलम त उनको साथै रहेछ । बधाई ! अझ् हिँडाउ जगत कविताको अनन्त नवोदित पल्टन ।

 

जादाजादै टुङ्ग्याउनिमाः

 

अब अर्को बिहान नखस्दै तिमीले छोडी जानेछौं

र म पानी बिनाको माछाझैं छट्पटिनेछु

टेम्के मैयुँबाट गीत गाउँदै झर्ने यो साप्सुखोला

मेरो साथि रहनेछ

यो हिउँदे पूर्णेको रातमा

टेम्केको शिर हुँदै आउने ध्रुवतारा

मेरो सम्झना बन्नेछ....

र पनि म एक्लो हुने छैन .....     (काँचो मुद्दा, र पनि म एक्लो हुने छैन)

 

 

इस्टहाम, लन्डन ।