यसरी पनि आत्मा आन्दोलन

Author : प्रकाश रोदुङ
Published on : November 19, 2008


  
प्रकाश रोदुङ
बाँच्नको लागि यहाँ सलाम ठोक्नु परेको छ
सलाम ठोक्नुको लागि यहाँ बाच्नु परेको छ
थोरै कामको लागि
धेरै दामको लागि
सबै सबै संधै संधै
यो प्रवासमा सलाम ठोकिरहेछ
कता कता कहिलेकाहीँ आफैभित्र कुतिकुति लाग्छ
तर उस्ले, तेस्ले सबै सबैले ठोक्दा
मैले किन नठोक्ने ?
आखिर बाँच्नुको लागि सलाम ठोक्नु परेकोछ,

अब कति ठोक्नु सलाम
उभिनु ठिङ्ग खम्बा झै पाले,मानव यन्त्र बनेर ?
टाईफन,हावाहुरि वर्षा घाम सहेर
कृत्रिम मानव बनेर ?
अब हे आमा सत बुध्दि देऊ
बाबुको बहादुरीले धेरै दु:ख पाइयो
नामको अगाडि जोडिएको वीर र गोर्खाले
धेरै ठक्कर खाइयो
अब अझ कति ठोक्नु सलाम ?
तेसैले आमा अब मलाई देऊ सत बुध्दि
पुर्खाको इमान्दारी र बहादुरीले म जस्तो लाछी निकाल्यो
सम्झ त तिम्रो यो लाछीको भावी सन्तति कस्तो होला ?
के उस्ले देश चिन्ला ? माटो चिन्ला ?
चोमोलोङमा उसको शिर हुन सक्ला ?
तेसैले अब हे आमा भन तिमीले
कानमा सुन हैन देशलाई तेरो खाँचो
गुन लगा, घरको छानो चुहेको छ, छानो लगा
खेतबारी बाँझिएको छ, बालि लगा
हे आमा सत बुध्दि देऊ, आशिर्वाद देऊ
अब तिम्रा सन्तानले स्वाभिमान बेच्न नपरोस्
सधै चोमोलोङमा जस्तो शिर ठाडो होस् ।