मेरील्याण्डका उडुस

Author : युवराज नयाँघरे
Published on : October 24, 2011


  
युवराज नयाँघरे

     उडुसका खानिमा परिएछ !

     हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान ।

     उडुस आतङ्कले म भएँ महा दिक्क !

     वाल्कर बस्न थालेको धेरै भएकै छन् । सुरुकै दिनदेखि एक खालको डाबर देखियो शरीरमा ।

     एक जना बूढा रातभरि ग्यासमा काम गर्थे र उज्यालो खसिनसक्तै अपार्टमेन्टमा आइसक्थे । म लगभग कामविहीन थिएँ । वरपरका चिनारुहरुका जान्थें र इमेल चेक गर्थें ।

     ६१२ नम्बरको अपार्टमेन्ट ।

     मैले त्यहाँ प्रवेश गरेको दुई दिनपछि नै यो ठाउँ नबिर्सने वरिपरिका बाटा, आागन, पूर्वपश्चिमका दृश्य र उत्तरदक्षिणका कुइनेटा राखेा मनमा । त्यति भएपछि हत्तपत्त भुलिहालिदैंन ।

     हो, काम नभएपछि घर कुरुवा हुने नै भइयो !

     मूल कोठाको दक्षिणी भित्तोमा लामो कालो सोफा थियो । एक मध्यान्ह त्यसमै ढल्केको थिएँ निदाएँछु । ब्युँझदा त कुइनामा डाबरैडाबर !

     'निदाएको मौका पारी केले चिलेछ !'

     कुरा खेले मनमा ।

     चिलाउन रोकिएन । हातले माडमुड पारें, ठ्याम्मै रोकिएन चिलाउन । यसो यताउता हेरें, डाबर त देखिए झन् बडेमानका ।

     नुहाइधुवाइले ठीक होला कि भनेर खल्ल पखालेँ, तातो पानीले । अँहँ त्यसले टेर पुच्छरै लाएन । जिउमा अन्त पनि सरेजस्तो भयो चिलचिलाइ ।

     म बसेको अपार्टमेन्टलाई हेडक्वाटर भन्थे मेरील्याण्डका नेपालीहरु । कारण, जो आए पनि सुरुताका उसको थातथलो र खानपिन त्यहीँ हुँदो रैछ । एक-दुई जना गफाष्टकहरुले बूढालाई एकदुई बोरा चामल, आठदस किलो प्याजआलु र पाँचसात किलो कुखुराका फोक्से मासु पठाइदिँदा रैछन् । अनि त्यसलाई सितन भनेर दुई लिटर जतिको एउटा बोतल नि भित्रिँदो रै छ । अब भइगो नि हेडक्वाटरको मेजमानी !

     नेपालबाट पुगेका नेता, विद्यार्थी, समाजसेवी र कलाकारको सुरुताकाको अड्डै त्यै ।

     त्यो उडुसे गुँडमा म पुग्दा एक जना सरल मनुवा थिए, चिकित्सक । अनि त्यहाँ फुच्चे नेता, भगुवा खेलाडी र पुङमाङे कलाकारको धुइरो लागिरहन्थ्यो एकोहोरो ।

     ती मन लागी भान्सामा पसेर बोतल घुट्क्याउँथे, फ्रिजका अन्नपात खान्थे र लापत्ता हुन्थे ।

     लगभग धर्मशालै थियो अपार्टमेन्ट नम्बर ६१२ ।

     अनि सबै हिँड्ने बेलामा भन्थे-'उडुस त सल्केछ यहाँ पनि !'

     तिनले भनेको 'यहाँ पनि' बाट लाग्थ्यो-अमेरिकाका अरु राज्यमा पनि छ उडुसको बिगबिगी । त्यो सलह यो राज्य हुँदै यस घरमा समेत आएको ज्ञात सहजै आएको तिनका बोलीको अर्थ हुन्थ्यो ।

     खुबै भयो उडुस आतङ्क ।

     म त दिनभरि उडुस मार्दै बस्न थालेँ लगभग ।

     एक जना साथी म गए लगत्तै अन्यत्रै सर्नुपर्ने भयो । उनी सर्नुपर्ने कारण उडुस पनि हो भन्ने चर्चा त्यहाँ चल्यो ।

     बूढाको कोठा अरुका निम्ति निषेध थियो ।

     उनी रातिको निन्द्रा दिउँसो पुर्याउँथे घुरी-घुरी । एक गिलास हृविस्की, एक कचौरा मकै र गेडागुडीको परिकार, एक डबका भुटेको मासु र एक कप कडा कफी बुत्याएर बूढा निदाइहाल्थे भसभसी ।

     साँझ गएर बिहान आउने नित्य क्रमै थियो उनको ।

     एक दिन तिनी घुँडा मुसार्दै बसेका थिए दिउँसो । म एक्कासि पुग्दा उनलाई त सोधखोज गर्न सजिलो भएछ । बास्तबमा टाउसन प्लाजामा भेटिएको काम सिकेर त्यो दिन रमाएर फर्केको थिएँ म ।

     'रक लेभनतिरका कीरा सरे कि क्या हो य़ाँ नि ?'

     'कस्ता कीरा ?'

     'टोक्ने कीरा नि !'

     'उडुस भन्नुभा को ?'

     बूढा किन हो उडुसलाई कीरा मात्र भन्थे ।

     उनी जिउमा समेत डाबर उठेको देखाउन थाले । रातभरिको निन्द्रा नपुगेको रिस र हैरानी उनको अनुहार र बोलीमा ��"र्लिन थाल्यो ।

     बास्तबमा खुब परेका थिए उडुस ।

     उनले त आज मात्र थाहा पाए, तर उडुस आतङ्कले म निकै हैरान भइसकेको थिएँ । मलाई उडुसले साह्रै सताएका थिए ।

     बैठक कोठा बाहेक भान्सा, शौचालय, दुई सुत्ने कोठा थिए । ढोकाको पश्चिमी चेपमा जुत्ता र अरु खिचि्रङमिचि्रङ थन्काउन मिल्ने सानो खण्डे आलमारीजस्तो कोठा नि थियो ।

     बूढाको कोठा साह्रै सुग्घर, सफा र तनक्क तन्ना कसिएको हुन्थ्यो । म दक्षिणपट्टकिो कोठामा घरी, घरी बैठक कोठामा पसारिन्थेँ । यी दुबै कोठामा उडुसको सलह लगभग फैलिइसकेको थियो ।

     एक साँझ बूढा र म सिनेमा हेरिरहेका थियौं ।

     डिसेम्बरको जाडोले हिउँ ल्याउन बाँकी नै थियो । वरपरका रुख नाङ्गै थिए । अझै भयानक चिसो खेप्नै बाँकी रहेको सूचना टेलिभिजनको वेदर ब्रोडकास्टबाट थाहा हुन्थ्यो ।

     'म सब सहन्छु तर कीराको टोकाइ सहन सक्तिनँ । कति पटक कीरा ल्याउने विद्यार्थीलाई मैले य़ाँबाट धपाएको छु । बरु अपार्टमेन्टको महँगो भाडा आँफै तिर्छु । कीरा ल्याउनेसँग चैं बस्न सकिन्न !'

     बूढा बम्किए ।

     यो कुराले मेरो मन हल्लियो थरर्र । एकातिर काम नहुनु, अर्कातिर पराश्रति । अब मैले कसरी भन्नु, उडुस लागिरहेको कुरा ! म चुपचाप दिउँसो सोफाका चेप, सिरानीमुनिका उडुसका ढिल र खाटमुनिका उडुसका सेता फुल कपडाले पुछ्दै बस्थें ।

     उडुस मारेका ठाउँमा बस्थ्यो रातो टाटा ।

     सिरानीमुनि छपक्कै हुन्थे उडुसका बगाल । तिनलाई हातैले माडमुड पार्थें म । अनि देखिन्थ्यो रगतको गाढा टाटो ।  

     तै त्यो कोठामा त्यत्तिको आउँदैनथे बूढा ।

     'यो विद्यार्थीको कोठा !'

     उनले मलाई सुरुमै भनेथे ।

     'विद्यार्थी भनेका लापर्वाही हुन्छन् र ?'

     बूढाले नै सोधे ।

     'किन र ?'

     उल्टै सोधेँ मैले ।

     'हेर्नुस् न सबथोक छ, सबथोक छैन पनि !'

     उनी आफ्नै कोठा पुगेर बोले ।

     मोजाको रास, कपाल काट्ने मेसिन, रित्ता हृयाङ्गर, कोट हाल्ने धुलाम्मे खोल, फोहोरले भरिएको प्लास्टिकको भाँडो र असरल्ल बिजुलीको तार छ कोठामा ।

     मैला खोल र तन्ना छन् गद्दे ओछ्यानमा । टेबुलमा छ पुरानो कम्प्युटर । तुर्लुङ्ग झुण्डिएका फलामे पाताका झयाल । त्यसमाथि घुर्मैलो रङको पर्दा ।

     मलाई के थाहा, यी सबै रै छन् उडुसका दरबार !

     डरलाग्दो थियो उडुसको आतङ्क । भर्जिनियाबाट आएका साथीहरु नि उडुस-पीडा सुनाउँथे । रातभरिको काम, दिउँसो उडुसले निन्द्रा खल्बलाइदिएपछि पाएको सास्ती सुनाउँथे भाका फेरी-फेरी ।

     एक साँझ बडवाइजर खाएर भावुक थिएँ म । काम भएन कि दक्ष भइएन ! हृदय रमाएन कि डलरको मोहमा परिएन ! सहज भइएन कि लगाव दिन सकिएन ! छड्किरहेको थिएँ यस्तै कुरामा ।

     बूढा आए ।

     केही अघि मात्र काममा गएका उनी एक्कासि घर फिर्दा चकित भएँ म । उनी सिनेमा लगाएर फेरि बसिहाले झमझमे झोलका साथ ।

     'दाइ, चाँडै फिर्नु भो त ?'

     'भोलि सिनेटर ल्याउने कि भनेको । य़ाँ कीरा पसेजस्तो छ । कीरा भएको घरमा सिनेटर कसरी ल्याउनु ? साथीहरु भन्छन्, यहाँ आएर बस्यो कि घर नपुग्दै जीउ चिलाउँछ रे ! तपाईंलाई चिलेको छैन ?'

     मेरो प्रश्नलाई उनले दिएको उत्तर थियो यो ।

     अब उडुस आतङ्कबारे मैले के र कति मात्रै भन्ने ?

     मेरो रातभरिको निन्द्रा सारा चौपट भएको थियो । मलाई उडुसले पारेको आपत कसलाई भन्ने ? मेरो जिउमा उडुसले टोकेर पारेको राता-राता चिलचिलाउँदा डाबर कसले हेर्ने ?

     वास्तबमै ओछ्यान फेरी-फेरी सुत्थेँ म ।

     सोफामा सुतिनसक्दै सेता उडुस छिनभरमै रगत चुसेर राताम्मे भई कुनाकाप्चातिर लापत्ता हुन्थे । साना बच्चा उडुस नि पुटुस्स भएर मेरो रगत पिएर चेपतिर पस्थे ।

     अनि हुन्थ्यो औडाहा ।

     चिलाएर जीउमा काउछो दलेको पीडा हुन्थ्यो । चिलाएको ठाउँमा कन्याउँदा-कन्याउँदा टट्याउँथ्यो । अनि बिस्तारै पोल्थ्यो । छँदाखाँदाको जिउ घाइते हुन्थ्यो ।

     'हत्तेरिका, उडुसलाई रगत चुसाउन अमेरिका आइएछ !'

     निन्द्रा खल्बलिएको झोँकमा भन्थेा म ।

     सोफापछि म दक्षिणपट्टकिो गद्दे ओछ्यानमा पस्थेँ । सुरुको एकैछिन त झकाउँथेँ म । तर मेरो निन्द्रा कुरेर बसेका उडुसका सलह जब मेरो शरीर डस्न थाल्थे अनि भङग हुन्थ्यो निन्द्रा !

     अब के हुन्थ्यो मध्य रातमा ?

     उही तकियाका चेपमा बसेका उडुस मार्यो । तिनका फुल किचिपिची पार्यो । भित्तामा दगुरिरहेका ढिल उडुस स्वात्तै दल्यो । खाटका कुनामा कुँडुलिएर थुप्रेका उडुसका बथान थिचथाच पार्यो ।

     त्यसपछि भुत्भुतायो-'हत्तेरिका, उडुसलाई रगत चुसाउन अमेरिका आइएछ !'

     अनि म आफ्नै रातो च्यादर बोकेर बैठक कोठाको मध्य भुँइमा गएर सुत्थेँ मज्जाले । कुनाकानी कम भएको हुनाले त्यहाँ उत्तिको उडुस लाग्दैनथे । उसलाई समेत लुक्ने ठाउँको अभाव हुँदो हो नि त !

     एक रातमा तीन ठाउँ हुन्थ्यो मेरो ओछ्यान !

     उडुसले गर्दा अपार्टमेन्ट नष्ट गरिएका कथा निकै सुनेथेँ मैले । उडुस आतङ्कले अपार्टमेन्ट खाली-खाली रहेर कम्पनी घाटामा गएका थुप्रै चर्चा मैले अरुहरुका मुखबाट नि सुनेथेँ ।

     एक रात बिर्सेर मध्य बैठक कोठाको भुवादार गद्दामा सुतिरहेको थिएँ, ढोकाको सिक्री बज्यो खिर्लिङ्खिर्लिङ् । उठेर ढोका खोलेँ, बूढा रहेछन् ।

     बैठक कोठामा पातलो तन्ना र तकिया देखेर उनले सोधिहाले-'आफ्नो ओछ्यानमा नसुती किन नि भुँइमा ? कीरा सल्के कि क्या हो ?'

     'जस्तै-जस्तै छ !'

     म बोल्दै शौचालय पसेँ ।

     अब के होला ? बूढासँग बस्नुपर्ने यत्ति हो कि ? भरेदेखि काँ होला डेराडन्डा ? बूढा कति झ्वाँक्किएलान् ? म पाकिना थालेँ ।

     'आज सिनेटर नआउने भए । हिलारीलाई श्रद्घाञ्जली दिन मकहाँ कार्यक्रम नराखी भएन । नेपाल चिनाउने एडमण्ड हिलारीबारे अब अरुले बोलेनन्, म मेरै कोठामा भए नि श्रद्घाञ्जली समारोहको आयोजना गर्छु । अब भ्याकुम लगाउँ, ओखती छरौं हामी दाजुभाइ !'

     मैले शौचालयको ढोका खोल्दा सुनें यो कुरा ।

     अनि सुरु भएथ्यो त्यो दिनको उडुस सफाया अभियान । सफासुग्घर र बढारकुाढार अनि पुछपाछ गर्दागर्दा लोथ भइयो । पासुँला बटारुन्जेल भ्याकुम चलाइयो । कुनाकाप्चा कपडाले झारझुर पारियो । सोफा उल्ट्याएर छरियो ओखती । अनेक बास्नादार औषधीले सारा अपार्टमेन्ट सुवासित पारियो । अनि हामी गयौँ ढोका लगाई, अल्मेडातिर ।

     'धेरै ओखती छरेको ठाउँमा खान, बस्न र सुत्न हुंदैन । आज तीनै काम बाहिरै गर्नु !'

     विजय दाइले भनेपछि हामी गएथ्यौं ।

     रातको बाह्रबजेतिर सुत्नका लागि मात्रै आएथ्यौं । खानेपिउने सबै काम एउटा परिवारको जन्मदिनमा सामेल भई सम्पन्न भएथ्यो ।

     'नबोलाएको ठाउँमा म कसरी जानु ?'

     मैले भनेथेँ ।

     'होइन बोलाएका छन् । तपाईंलाई नबोलाएका हैनन्, मलाई भनेका छन् नि । कुरो सोझो छ, मकहाँ भएपछि मैले तपाईंलाई लान नमिल्ने कुरै होइन !'

     बूढाले अनेक कुतर्क गरी लगेथे मलाई ।

     त्यहाँ नि कुरो चल्दै थियो-'उडुसले हैरान गर्यो !'

     सोलोडोलो मोटाएकी एउटी आइमाईले भनी-'भुटानी शरणार्थीले उुडुस ल्याएका हुन् रे !'

     गिलास समात्नेहरु प्रतिवाद र समर्थन गर्दै थिए ।

     वास्तबमा उडुसको चर्चा र बखान आआफ्नै ढङगले त्यो भोजमा भइरहेथ्यो । त्यसबेला सारा मेरील्याण्डमा त्यसको प्रकोप भएको धेरैका मुखबाट व्यक्तिन्थ्यो ।

     अब उडुस आतङ्कबाट मुक्त भइयो र ढुक्कले सुत्न पाइयो भन्ने उल्लासमा थिएँ म । त्यो कुरा धरै पटक भनें पनि ।

     ओच्छ्यान सार्ने झन्झटबाट मुक्त हुने आशामा अपार्टमेन्ट पसें म ।