स्वप्न तिर्खा

Author : रिता गुरूङ
Published on : November 18, 2008


  
रिता गुरूङ

जहाँ चारैतिर समुद्र छन्

मान्छे निल्न आतुर

जिजीविषाका लागि

लडिरहेछु, म तिम्रो काख छोडेर

पग्लिरहेछु म पल, पल

आफैभित्रको स्वप्न क्यानभासमा

आमा ! म तिम्रो तिर्खाहरु हुन चाहन्छु

आमा ! म तिम्रो काखमा नदी भएर रुन चाहन्छु,

 

भोकका लागि हामी धेरै लड्यौं

शोखका लागि पनि हामी धेरै सड्यौं

जीवनलाई सपनाहरुले सजाउने उत्कण्ठामा

कहिले थोरै माथि चढ्यौं, कहिले तल झर्‍यौं

माटो बिनाको मानिस र

आकाश बिनाको धर्ती

उस्तै, उस्तै रहेछ

पसिना बिनाको निधार र

पौरख बिनाको हत्केला

उस्तै, उस्तै रहेछ

अब म अठोट गर्छु

मान्छे-मान्छे हुनुको अस्तित्वले ठूलो हुँदो रहेछ,

 

बाँच्नका निम्ति सम्पन्नता भन्दा

सपनाहरु प्रिय हुँदा रहेछन्

आफ्नो हुनुको दुःखले भन्दा

आफ्नो नहुनुको सुखले टोक्दो रहेछ,

यो व्यस्तताले रेटिएको सम्पन्नताको नगरीमा

शिरमा हिमाल, रगतमा गुराँस र

आँखामा नेपाल बोकेर

आमा ! म तिम्रो गरिमा हुन चाहन्छु

आमा ! म तिम्रो काखमा नदी भएर रून चाहन्छु,

 

जहाँ चारैतिर समुन्द्रहरु छन्

मान्छे निल्न आतुर

जिजीविषाका लागि

लडिरहेछु, म तिम्रो काख छोडेर !!!
 
नोटः प्रथम "पोखरेली झ्याल" कविता वाचन प्रतियोगितामा प्रथम भएको कविता
 
"पोखरेली झ्याल कविता वाचन प्रतियोगितामा प्रथम हुनु भएकोमा कवयित्री रीता गुरूङलाई बधाई तथा उत्तर उत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछ" ।
सृजनशील साहित्य समाज, हङकङ