हराएको मान्छे

Author : देश सुब्बा
Published on : August 23, 2011


  
देश सुब्बा

रेखा कविता

 

धेरै वर्ष अगाडि

मैले पढेको इतिहासमा

एकजना मान्छे हराएको थियो

 

सुन्छु पृथ्वीमा फैलिएको भाषा उसको रे

पृथ्वीमा लेखिन्दै गरेको लिपि पनि उसको रे

 

उसको संस्कृति फैलिएर

पृथ्वी ढाकिएछ

 

उसको धर्म धेरै देशमा

मानिने भएछ

 

तर उसको इतिहास कुनै

प्रलयमा परेर पुरियो रे

 

शक्तिको आक्रमणमा परेर

नाश भयो पनि भन्छन्

 

उसको इतिहाससँगै

माटो मेटियो रे

 

माटोसँगै जाति

 

जाति मेटिएपछि

ऊ पनि हरायो भन्छन्

 

खोइ कता के भयो

अहिले यस्तै किमदन्ती मात्र सुनिन्छ