म बिर्सन सक्दिनँ

Author : हाङयुग अज्ञात
Published on : August 13, 2011


  
हाङयुग अज्ञात
Author

मलाई थाहा

मेरा दुर्वचनहरूले तिमीलाई

कत्ति पोलेको ?

 

त्यो आगो एसिडको पोलाई

खै ! के हो ?

मेरा अपशब्दहरूले तिमीलाई

यत्ति पोलेछ

कि मैले मेरो फेसबुकको स्टाटस्-बाट

तिमीलाई पिरोल्ने थोकहरू डिलिट गर्दा पनि

तिम्रो मन-मष्तिस्कबाट डिलिट भएन

मेरा सस्ता अलोकप्रिय शब्द-सञ्जाल !

 

हो-

तेसरी नै

तिम्रो इतिहासले

विक्रम सम्वत् १८३१ डिलिट गर्दैमा

कहाँ बिर्सिन्छु

मेरो मन-मष्तिस्कमा लागेको छाप ?

 

कहाँ बिर्सिन्छु

देउमाईको किनार ?

कहाँ बिर्सिन्छु

छिन्ताङको रातो माटो ?

 

कहाँ बिर्सिन्छु

रामप्रसाद राई ?

कहाँ बिर्सिन्छु

खारा ?

 

कहाँ बिर्सिन्छु

पब्लिक बस ?

कहाँ बिर्सिन्छु

राजकुमार आङदेम्बे ?

 

हो, साथी

कहिले बिर्सिन सक्दिनँ

यो देशका शासकहरूले

मेरो मन-मष्तिस्कमा

ल्याम्-ल्याम् हानेको तिलंगा छाप

बिर्सिन सक्दिनँ

तिम्रो इतिहासले डिलिट गरेको मेरो इतिहास !

 

जसरी यो बेला

तिम्रो नैतिक, सु-सभ्य शालीन मनले

बिर्सिन सकेको छैन

मेरो 'जाँठा मुजी'लाई !