जाडोको साम्राज्य र इङ्लीस हिप्पीहरू

Author : देबेन्द्र खेरेस
Published on : July 24, 2011


  
देबेन्द्र खेरेस

हिउँदको याम

जाडोको आगमन

हिउँका दानाहरू बर्सिन्छन्

सुनसान फुटपाथमा

दिउँषसै अधेरोले ढाकेपछि

आँखाबाट दृश्यहरू

क्रमश हराउँदै जान्छ

धिप् धिप् बत्ति निभेजस्तै,

 

रात जति छिप्पिँदै जान्छ

चिसो पनि दौड्दै जान्छ

चिसोमा कक्रिएको

सहरका वस्तीहरूमा

बन्दि जीवन बाँचेका

इङ्लीस हिप्पिहरू

रमाउँछन्: क्याफेमा

रमाउँछन्: पबमा

रमाउँछन्: बारमा

, रात्री क्लबहरूमा

एक ग्लास वाइन

एक पेग विस्की

एक बोतल वीयर

, एक झोँक संगीतको नशामा

जीवनको मुल्याङकन्

बिङ्गो

कोरल

फुटबल

घोडा दौड

, यस्तै ग्याम्लिङहरूमा

भविष्य अल्झिएको

इङ्गलीस हिप्पिहरू

जो घाम देख्न नपाई

हिउँद बित्दछ

जो ताप सेक्न नपाई

जीवन बित्दछ

जाडोको डाम सहेर.....,

 

बे-रोक्टोक

बिना छेकबार

मानिसको शिरदेखि

पैतालासम्म डाम्छ चिसोले

चिसोले व्याक्तिलाई मात्र डाम्दैन

समाजलाई डाम्छ

विचारलाई  डाम्छ

र सिङ्गगो जीवनलाई पनि डाम्दो रहेछ

 

यो चिसो इङ्गलीस च्यानलदेखि

डाउनीङ स्ट्रिटसम्म फैलिएको छ

यो चिसो कहाँबाट आउँछ ?

यो चिसो किन आउँछ ?

यसको उत्तर कसैसँग छैन

र कसैले सोध्ने आँट गर्न पनि सक्दैन

यसको बिरोधमा कोहि बोल्न सक्दैन

नारा-जुलुस गर्न सक्दैन

सभा-समारोह गर्न सक्दैन

अनशन

हड्ताल

र बहिस्कार गर्न पनि सक्दैन

डाउनिङ स्ट्रीट

हिटरको वरिपरि घोत्लिएरै

समय पचाइरहेछ

बिगवेन टाउकोभरि हिउँ जमाएर

मौनसँग घडीको काँटा घुमाइरहेछ

टुलुटुलु वर्तमानलाई हेरेर ,

 

यो सहरको भूगोल फरक छ

यहाँका मानिसहरूले हेर्ने दृश्य फरक छन्

बुझ्ने अर्थ फरक छ

जीवन भोगाई फरक छ

र सप्पै फरक छ

यहाँ न दिनमा

न घाम देख्न पाइन्छ

न ज्यान् सेक्न पाइन्छ

यो माटो

जति सुम्सुम्याए पनि

चिसो को चिसै हुन्छ

घडिको काँटाहरूमा

बन्दि समय

दिन गनेर

रात गनेर

बितेको छ समय यायावर.....

समरको कल्पनामा/सम्झनामा

छुट्याउँन गाह्रो छ

यो माटो मात्र चिसो कि ?

यो मान्छेको मन पनि चिसो ?

 

हुनसक्छ:

यै चिसोबाट भागेर

कोलम्बस अमेरिका पुगेर

रेड इण्डियनहरूको गाँस खोस्यो

मार्कोपोलो एशिया घुमेर

अफिम युद्ध लड्यो

र अहिले इङ्गलीस हिप्पीहरू

कहाँ-कहाँ पुगिरहेका छन्

जाडो छल्न

अथवा

जाडोको साम्राज्य विस्तार गर्न ?