मुकुण्डोको संरचना

Author : प्रगति राई
Published on : July 19, 2011


  
प्रगति राई

आदिम युगमा

तरवारजस्ता दाँत

गुफाजस्ता आँखा

अनकन्टार र झोरजङ्गलजस्तो अनुहार भएका आकृतिहरू देखेर

कोशौँ टाढा भाग्थे रे मान्छेहरू !

समय बित्दैजाँदा

आकृतिहरूले रूप फेरेर मान्छेजस्तै देखिन थाले रे

त्यसपछि

मान्छे र आकृति बीचमा भिन्नता नदेखेर

मान्छेहरू भकाभक भोग चढाइन थाले रे !

दुःखसँग लड्दै-भिड्दै जाँदा

मान्छेहरूले शंकाको ओखति पत्ता लगाए रे

आकृतिहरूले झन् आत्माको रूप फेरेर

मान्छेभित्रै पस्न थाले रे

अब, कि त आत्मा फाल्न पर्यो

कि त रोग पाल्न पर्यो

मान्छेहरू

जताततै भौतारिन थाले रे

भौतारिँदाभौतारिँदै

सिदार्थ गौतम पनि बुद्ध बने रे !

जमानासँगै मान्छेको दिमाग खारिँदै गयो

त्यसपछि

आधुनिक आकृतिहरू

मान्छेको सपना बनेर आउन थाले

अहिले

तिनै सपनाहरूले

मान्छेको आँखा चिमोट्छन्

मान्छेको दिमाग डस्छन्

र हृदयमा कोपर्छन् बारम्बार,

 

जब सपनाहरूले छोप्दछन्

मान्छेहरू आधारातमै छट्पटाउन थाल्दछन्

ओछ्यानले पोल्न थाल्छ

प्यारो मान्छेको साथले चहराउन थाल्छ

र निंद्रालाई बिथोल्छ सपनाले,

 

मान्छे अचानक ब्युँझन्छ

बलेसीमा उज्यालो खस्दा

उसले आफू दौडेको आँगन साँगुरो देख्छ

ऊ आफू हुर्केको घरसँग दिक्दार मान्न थाल्छ

अझ,

हिजोसम्म बाँचिरहेको रोमाञ्चक जिन्दगी

अचानक छ्या लाग्छ,

 

त्यसपछि मान्छेहरू

आदीम कथाकी सुम्निमाले आगेनामा ढुङ्गा पोलेझैँ

छोराछोरी अनाथालयमा छाडेर

घर छाड्न तयार हुन्छन्

दृष्टि गुमाइसकेका आमाबुबालाई

आफ्नो स्वर टेपरेकर्डरमा भरिराखेर

घर छाड्न तयार हुन्छन्

मायाको त के कुरा

टुट्नफुट्न नयाँ समाचार भएन

जन्मने बच्चाहरू बाबुको सुक्रकीटमै सीमित रहेर

विवाह तोड्न तयार हुन्छन् मान्छेहरू,

 

त्यसपछि मान्छेहरू-

यो दुनियाँमा

कसैले जित्न नसकेको भयानक रोगको अगाडि

लुथरकिङले पखालेको जातीय विभेद

अब्राहम लिङ्कनले सिध्याएको दास प्रथा

मार्क्सले अन्त्य गरेको वर्गीय शासन

अथवा,

भर्खरै उन्मुलन भएको हलिया प्रथा

सबलाई नकाम पारेर

आफै दास बन्न तयार हुन्छन् मान्छेहरू,

 

सपनाजडित रोगबाट ग्रस्त मान्छेहरू

हत्केलाको पसिना सुकिञ्जेल टेपरेकर्डर छामेर

रोइरहेकी आमाको समचार आउँदा पनि

आफ्नै लालाबाला आफ्नै सामुन्ने टुहुरा भएको सुन्दा पनि

या, घरबार पहिरोले बगाएको टेलिफोन पाउँदा पनि

पटक्कै रुँदैनन्

बरु हाँस्छन् पो बेस्सरी

उसको लागि दुःख

केवल झरीवर्षा हो, जो भइरहन्छ नियमित

बिनाअर्थ

फिस्स फिस्स हाँसिरहन्छन् मान्छेहरू

भलै,

एक थोपा आँसु बाँकी होला ऊसँग

दुःखलाई जित्ने झिनो आशाको लागि साँचेको हुनसक्छ

पोल्टाभरि मायाले

उही जिन्दगीको प्रेमले,

 

कस्तो ठूलो सङ्कट !

यिनै आकृतिहरूको परिवर्तित रूपबाट

बाँकी मान्छेहरूलाई कसरी बचाउने होला ?

कतै मेरो वंशानु गुणमा पनि

त्यही सपना घोलिएर

बगिरहेको पो छ कि ?

एकदम निरुत्तरित छु म

एकदम प्रश्नहरूमा मात्रै छु म

कतै म पनि

उही मुकुण्डोभित्र पो निर्मित छु कि ?