मृत्युको प्रतिक्षा

Author : देश सुब्बा
Published on : July 18, 2011


  
देश सुब्बा

रेखा कविता

 

 

मसित गुलाबको बिरुवा छ

म त्यो प्रेमको इमान्दार माली

मैले गुलाबमा सुवास थप्नु छ

अलिकति सौन्दर्य राख्नुछ

 

संसारलाई यो गुलाब देखाउनुछ

यो गुलाब हिजो फुलेको थियो

लैला मजनुको लाशमाथि

यसैको समाधि हो ताजमहल

रानी महलको अमर प्रेम कथा

यस्ता धेरै-धेरै गुलाबको खेती गर्दै

सबैको रक्षा गर्नुछ

कसैले फूल टिप्न सक्छ

कसैले बोट उखेल्न सक्छ

ती गुलाबको जरा काट्ने

निरङ्कुश हात रोक्नु छ

 

म एउटा हृदयवाला मान्छे

मैले गुलाब बचाउन सकिना भने

यो संसारमा प्रेम कसरी हुर्किन सक्छ

प्रेम खाइरहने कीराहरूलाई

ढकमक्क फुलेको गुलाब देखाउन

गुलाबको माली गरिरहेको छु

ढकमक्क गुलाब फुलेको दिन

मेरो मृत्यु हुन्छ

म त्यही सुन्दर

मृत्युको प्रतिक्षामा ।