रुख

Author : हाङयुग अज्ञात
Published on : June 06, 2011


  
हाङयुग अज्ञात
Author

उभ्दा-उभ्दै

चौकीदारको जिन्दगी

१२-१२ घण्टा कंक्रिटको जंगलमा

पैतलाबाट जराहरू पलाएर

हातबाट पातहरू पलाएर

जीउबाट हाँगाहरू पलाएर

म त रुख भइसकेछु !

चराहरू खेल्छन् मनको हाँगाहाँगा

घरि यो हाँगा, घरि त्यो हाँगा

गीत गाउँछन् चिरिबिरी च्याट.. च्या ट्...

च्याट..च्या ट्... चिरिबिरी...!

र उडिजान्छन् स्वतन्त्रताको नीलो आकाश,

 

म जड

बुटभरि दबाएर आकांक्षाको बतास

खस्दै निरिह वर्तमान

स्खलित समयको पहेंलो पात

म त रुख भइसकेछु !

 

अब रुख भैसकेपछि

फेरि नहुन नपाइने रहेछ

बाँचिसकेको जीवन पनि

फिर्ता नपाइने रहेछ !

अब रुख भैसकेपछि

मान्छे जस्तो यता उता हुलमुलमा

षडयन्त्र रच्दै राजनीतिको

ठुटे नेता हुन पनि नसकिने रहेछ

अब रुख भैसकेपछि

एकै ठाउँ उभिएर निस्सारताले

बिस्तार बिस्तारको मृत्यु कुर्नु सिवाय

कुनै क्रान्तिकारीले जस्तो

उफ्रिदै भाषण ठोक्न नसकिने रहेछ !

बोसोको आलस्यता थप्दै बुद्धिमा

कल्पनाले घुमेर देशविदेश

एकै ठाउँ साइकिक् उभिरहनु

म चौकीदार ...... !

! गुर्का.. ठिंगरिंग पसल पसलमा ..

बैंकमा.. ढोका ढोकामा... लवी लवीमा

रहरका सुकेका हाँगाहरू

मनले पिटिक् पिटिक् भाँच्दै

मुटुमा यथास्थितिको झ्याउ पलाएर

म त रुख भइसकेछु !

 

रुख भैसकेपछि

रुख नै हुनु पर्दो रहेछ

र यो सहरको प्रदुषित भीडबाट भाग्नु

रुखले पनि कविले जस्तो सोच्नु पर्दो रहेछ

नत्र कुरेर बस्नु पर्ने रहेछ

कुनै आँधिबेहरी.... कि

जरैसित उडाएर लैजावोस् जडता

उभ्दा-उभ्दै

चौकीदारको जिन्दगी

यसरी नै हामी रुख हुन्छौं

र मान्छेहरूको बगालबाट अलग हुन्छौं !

 

उभ्दा-उभ्दै

चौकीदारको जिन्दगी

१२-१२ घण्टा कंक्रिटको जंगलमा

पैतलाबाट जराहरू पलाएर

हातबाट पातहरू पलाएर

जीउबाट हाँगाहरू पलाएर

म त रुख भइसकेछु !