ठुल्दाईको सम्बिधान

Author : दिपा एवाई राई
Published on : June 06, 2011


  
दिपा एवाई राई

हउ ! ठुल्ल दाई

तिम्ले तरेको रतुवा खोला

यस पाली त खडेरी परेर

सप्पै सुके छ भन्छन्

गाम घरमा काका-कुल परेछ रे

हिजै मात्र झुमाकी चिठ्ठी पाए

हैन हउ !

गाम जाने कुरै छैन

ठुल्दाईको सम्बिधान कहिले आउने रहेछ ?

 

कुसुण्डे डाँडाबाट

सिस्ने भञ्जेङ्ग हुँदै तेर्सै तेर्सो लागेर

मैले भाकल राखेको देउमाई खोलामा

यस पाली गाममा नै

ठुल्दाई जावस् भनी,

 

खै ! तिमी त पहिले जस्तो देखिन्दैनौ

पशुपतीनाथको बाग्मतीमा

टुकुचा मिसिए झै

कस्तो कस्तो पो भएछौ, भन्नु भएना

सुन्छु

सम्बिधान लिएरै मात्र जाने

पक्कै हो त ?

 

साँची हउ !

ठुल्दाई मन्त्री भएको

अच्चम्मै लाग्छ !

नरसिंह, नौमती बाजा बजाएर

कुर्लन्दै डाँडा-पाखा थर्काएको

खै ! एक कोरी बिती सक्यो

सम्बिधान घरमा भित्रयाउन सकेनौ

बरु बा भन्दा बुढो पो भएछौ

 

यहाँ सबैको गुनासो छ

अब के आशा गर्ने

फल बिनाको बोट भा छ रे ! हो ?

ठुल्दाईको सम्बिधान ।।।