मुग्लानेको चिठी

Author : मोहन गुरूङ
Published on : May 24, 2011


  
मोहन गुरूङ

तिम्रो सानु रिमाइ जाली रुमाल फाटेपछि

भाले बास्यो सुन्या छैन मैयुँडाँडा काटेपछि

रावाखोला भँगालोलाई दुवालीमा तर्काएर

माछीको ताल सुकाएको

पापले भन्दा धेरै पोल्यो

आफ्नै मनको रापले आज

एक मुरी त होला सिम्मा तिम्रो भुमे पाथी

भेडीचोकलाई पैंचो दिनु जाँड पकाई उब्रे जति

घुमेको त्यो दुधकोशी र पुच्छर उसकै पानी

एक टोकरी पठाई दिनु दुधकुण्डलाई सापट मागी,

 

दारको ठेकी दही साँच्ने मोही पार्ने टोलङ्ग

साप्सु मेवा तिम्रै पेवा सावा खोला तिम्रै

नपुगेमा परदेशीको अल्झो मुटु तिम्रै

चाँप चिमल फुल्ने टेम्के चुली घुम्न जानु

त्यहीबाट पूर्वतिर देशियाको मुग्लान हेर्नु

'रावाको माछा, सावाको भात

आम्चोकको दही, मझुवाको पात'

 

सम्झी बस्छु सँधै सँधै

राम राम हौ ङाम्मा दुईकोरीको उमेर भयो

हलेसी र साप्सुधापको कसम होला

मुग्लानेको चिठीभरि छरिएको प्रीतिहरु

चारमाना गाउँको नाममा

बाँकी तिम्रै भर्ती खण्ड

एउटा बोट बारा बरीलाई

छुट्टै रोप्नु मेरो नाममा

छुट्टै रोप्नु मेरो नाममा ।

 

(यो कविता नेपाली महासंघद्वारा आयोजित कविता प्रतियोगितामा तेस्रो भएको थियो)