ओबामा ! तिम्रो जितमा मैले पनि एक झोँक ताली पड्काएँ

Author : नरेश ठूले
Published on : November 17, 2008


  
नरेश ठूले
ओबामा !
जब तिमी बिजय भयौ
र, देशवासीहरूलाई सम्बोधन गर्न
पहिलो पटक स्टेजमा उत्रियौ
मैले पनि हेरेँ टिभीका पर्दामा तिमीलाई
तिमी त्यहाँ उभिएका थियौ
एउटा सिङ्गो ईतिहास बोकेर,
 
बुझेको छौ तिमीले
बुझेको छ इतिहासले
जो तिमी जस्ता मान्छेलाई
त्यहाँ पुग्नको निम्ति
इन्कार गर्दथ्यो त्यो समाजले
घृणा र उपेक्षा गर्दथ्यो त्यो राज्यले
त्यो तेहि ठाउँ हो
जहाँ तिम्रो अपमानको निम्ति
प्रत्येक नियम कानुन बन्दथ्यो
र, त्यो तेहि कुर्सि हो
जहाँबाट तिम्रो विरुध्दमा आदेशहरू जारी गरिन्थ्यो
हो, आज तिमी तेही पुगेका छौ
एउटा शक्तिशाली ओबामा बनेर
हो, आज तिमी तेही पुगेका छौ कालो मान्छे !
सेताहरूको मात्र ठानिने त्यो सेतो घरमा !
त्यै खुसियालीमा
मैले पनि एक झोँक ताली पड्काएँ तिम्रो जितमा
किनकी म पनि तिमी जस्तै
एउटा उपेक्षित मान्छे हुँ
अपमानित मान्छे हुँ
मेरो देशमा
मेरो माटोमा
मेरो राज्यमा
त्यसैले मैले पनि एक झोँक ताली पड्काएँ त्यो तिम्रो जितमा,
  
ओबामा ! 
जब तिमी त्यहाँ उभिएका थियौ
खै ! तिमीले के सम्झिरहेका थियौ
तर, मैले ति तिम्रा पुर्खाहरूले बाँधिनु परेको
फलामे साङ्लालाई सम्झे
तिम्रा पुर्खाहरूको नाङ्गा शरिरमा बषिर्ने चाबुक र कार्रालाई सम्झे
तिम्रा पुर्खाहरूले खेप्नु परेका क्रुर अपमानलाई सम्झे
सम्झे- बबमार्लीको गीतका हरफहरूलाई
सम्झे- नेल्सन मण्डेला र उसको जेल यात्रालाई
सम्झे- महम्मद अलि उर्फ क्यासेस मार्सेलस क्लेलाई
सम्झे- मुक्के माईक टाईसनलाई
र, सम्झे- माईकल ज्याक्सनलाई
तेस्तै तेस्तै के के हो के के .......
हो ओबामा ! मैले धेरै धेरै सम्झे
र, मैले पनि एक झोँक ताली पड्काएँ तिम्रो त्यो जितमा
मैले पनि एक झोँक ताली पड्काएँ तिम्रो जितमा
किनकी म पनि तिमी जस्तै
एउटा उपेक्षित मान्छे हुँ
अपमानित मान्छे हुँ
मेरो देशमा
मेरो माटोमा
मेरो राज्यमा
त्यसैले मैले पनि एक झोँक ताली पड्काएँ त्यो तिम्रो जितमा,
  
जब तिमी स-परिवार उभिएका थियौ त्यहाँ
पालैपालो हेरे मैले तिमेरु सप्पैलाई
हेरे तिम्रा सानी छोरी मरिया र सासाहसालाई
हेरे तिमी र तिम्री पत्नि मिचेललाई
र हेरे मैदान भरी एकछत्र छरिएर
तिम्रो स्वागतको निम्ति उर्लेको जनसागरलाई
कोही चिच्याई रहेका थिए
कोही रोई रहेको थिए
कोही हाँस्दै नाची रहेको थिए
कोही उफ्रिदैँ नारा लगाई रहेको थिए
ओबामा ! तेतीबेला तिमीले खै के सम्झिदै थियौ
मैले त तिमीलाई भरपूर्ण आशिर्वाद दिएर दुई दिन अगाडिमात्र स्वर्गबास भएकी
तिम्री हजुरआमालाई सम्झे
तिम्रो हत्या गर्नको निम्ति
योजना बनाउने अभियुक्तहरूलाई सम्झे
तिम्रा प्रतिद्वन्दी र उनिहरूबाट प्रकटित कथनहरूलाई सम्झे
मैले पनि एक झोँक ताली पड्काएँ तिम्रो जितमा
किनकी म पनि तिमी जस्तै
एउटा उपेक्षित मान्छे हुँ
अपमानित मान्छे हुँ
मेरो देशमा
मेरो माटोमा
मेरो राज्यमा
त्यसैले मैले पनि एक झोँक ताली पड्काएँ त्यो तिम्रो जितमा ।