आँसु चुहेको कार्यक्रम

Author : निर्भिक राई
Published on : May 24, 2011


  
निर्भिक राई

         गैर वामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, "पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ 'शिरीषको फूल' च्यातिदिए हुन्छ भनिन् । तर कुनै पनि कृति छापिएर सार्वजनिक भएपछि त्यसलाई राख्ने वा मास्ने भन्ने अधिकार स्वतः पाठकमा रहने रहेछ अर्थात न 'मुनामदन' बाहेक देवकोटाको अन्य कृति जलाइए न पारिजातको 'शिरीषको फूल' नै च्यातिए ।"

पारिजातको 'शिरीषको फूल' को शून्यवाद वा निराशामा पाठकले आशा पाए भन्दै उनले भनिरहँदा केही थप्पडी पड्कियो । मेरो घैँटोमा घाम लागेकोले स्वस्फूर्त रुपमा मैले पनि रमाउँदै ताली ठोकेँ ।

पारिजात स्मृतिप्रतिष्ठानको अध्यक्ष सुकन्याले बोलिन्, "तिनी जिद्धीवाल, कुनै बेला अराजक पाराकी । एक चोटि अर्काको घरमा अरुलाई भरेको तोङ्बा तनतनी पिएर लम्पसार सुतिन् । मलाई तनावले सताउँदा तिनको फोटो हेर्दा मात्र पनि तनाव कम भएको महसुस हुन्छ, शक्ति मिलेको अनुभव हुन्छ । तिनले अन्तिम क्षणहरूमा भनेकी थिइन् कि जस्तै सङ्कटमा पनि तैाले हरेस चैँ नखानु ।"            

यी भनाइहरूको अन्तिमतिर मेरो आँखा निरन्तर रसाएर रुमालले सोस्नुपर्ने भइसकेको थियो । अनावश्यक भावुकता ठान्दै सम्हाल्ने मेरो प्रयास विफल हुँदै थियो । म एकलै भए निसङ्कोच, धीतमर्दो म आँसु बगाउँथेँ । पातलो अँध्यारोमा भए पनि आँसु चुहुँदा लाजले सताउँछ । तिनीले त्यसरी संस्मरण कहिरहँदा श्रोतादीर्घबाट चुकचुकाएको आवाजले झन् मेरो आँसु चुहाउन सघाइरहेको थियो ।

तिनले बोल्ने क्रममा अझै भन्दै थिइन्, "पारिजात कल्पनाशील थिइन् । अनेक योजना बनाउँथिन् ।" यी भनाइले साहित्यकार कल्पनाशील हुनुपर्छ वा आफू पनि त्यस्तै छु भन्ने लागेर मेरो खुब चित्त बुझ्दा आँसु उमार्न थप मद्दत गर्दै थियो । तिनले पारिजातसँगको संस्मरण भनिरहँदा पारिजातको संस्मरण पढ्दाको घतलाग्दो कुराहरू बल्झिएकोले ममा भावुकताको बाढी उर्लिरहेको थियो ।

पारिजातको 'शिरीषको फूल' को कला पक्षको मूल्याङ्कन गर्न नसकी पूर्वाग्रही ढङ्गले त्यसलाई लिने र त्यसको शून्यवादी दर्शनसँग असहमत हुने कथित प्रगतिवादी समालोचकले जे सुकै भने पनि म आफू भने तिनको उपमा नै उपमाले भरिएको र सूक्ष्म ढङ्गको विश्लेषणात्मक शैलीसँग अति लोभिएको र आफू निराशामा भासिएको बेला उक्सिन त्यसको शून्यवादी दर्शनलाई प्रयोग गर्दै आएको मान्छे परेँ । मैले सबभन्दा बढी दोहोर्याएर पढेको र किनेको पुस्तक 'शरीषको फूल' हो ।

कार्यक्रम सिद्धिएर मञ्च खाली हुँदै गरेकोमा मञ्जुल नरहरितिर लम्कँदै बोले, "राम्रो बोल्नुभयो ।" मैले पनि थपेँ, "पाठकले निराशामा नै आशा पाए भन्ने तपाईको भनाई मलाई साह्रै चित्त बुझ्दो लाग्यो । मैले उनको राम्रो लागेको भनाइ उद्घृत गरी सर्क्याएँ न कि मञ्जुलले जस्तो राम्रो त राम्रो कुन राम्रो । उनले हाँस्दै मतिर हात बढाए ।

गोविन्द भट्ट, भद्रकुमारी घले, निनु चापागाईा र रुद्र खरेललाई पनि त्यहाा मैले देखें ।

 

पारिजात पुरस्कार वितरण २०६४