पुरानो कुवा

Author : पवित्रा राई
Published on : May 24, 2011


  
पवित्रा राई

जंगलै जंगलको बिच बाटोमा

बाटो हिड्ने बाटुवादेखि घरगाउँले

सबैको बिसाउने ठाँटी चौताराहरू थियो

तिर्खाएको बेला पानी पिउनको लागि

त्यहाँ सफा एउटा कुवा थियो

गाउँलेहरू भेला भएर कुवाको वरिपरि

सधै सफा बनाई रहन्थ्यो

कुवाको छेउछाउको ठाँटी चौताराहरू

गोडमेल गरेर बसौं बसौं जस्तो हुन्थ्यो,

 

जुन बेला गाउँघरमा धाराहरू थिएन

त्यही कुवाको सबैलाई खाँचो थियो

त्यहाँ बटुवाहरूले पानी पिउँनको लागि

बाँसको एउटा टोक्ले राखेको थियो

बिहान भरी घरगाउँको छोरी चेलीहरू पानी भर्नु

लहरै लस्कर लागेको हुन्थ्यो

दिउँसो बाटो हिड्ने बटुवाहरू र

गाउँको दाउरे घाँसेहरू पानी पिउँन लाईनमा हुन्थ्यो

पात्लेको फेदमा उम्रेको त्यो स्वच्छ पानी

सारै मिठो भन्दै बटुवाहरू गुनगुनाउँदै हिड्थ्यो

रहर लाग्दो पात्ले घारी चौतारा ठाँटीछेउमा

सबैले ठूलो कुवा भनेर चिन्दथ्यो,

 

चैत बैशाखको बेला पनि कहिले नसुक्ने

गाउँले र बाटो हिड्ने बटुवा सबैको साझा कुवा

अहिले त घरघरमै सबैको धारा भयो

त्यसैले पहिलाको साझा कुवा सबैको हेला छ

पहिला जस्तो बाँसको टोक्री पनि राखिएको छैन

कुवाको वरपर सरसफाई छैन

त्यो ठाटी चौताराहरू पनि गोडमेल गरेको छैन

 

बाटो हिड्ने बाटुवादेखि घरगाउँको दाउरे घाँसे

कसैले त्यो कुवाको पानी पिउँनै छाडेकोछ

कुवाको पानी वरीपरी हरियो लेउ पलाउँदै

अहिले त पानी फोहोर मैला सरी देखिएको छ,

 

त्यो उकाली ओराली बाटोहरू पनि बाढी पहिरोले

ठूलो ठूलो पहरा जस्तै बनाई दिएकोछ

कुवाको छेउछाउतिर सबै बोट बिरुवाहरू मासेर

पानीको मुहान सुकाउनु लागेकोछ

कुवा भित्रको पर्खाल भरी भरी

नाना थरीको फोहोर मैलाहरू पलाएकोछ

झार पात लहरा लुहुरी जराहरू

पलाएर घिन लाग्दो भएकोछ,

 

अब त कसैले पनि कुवाको पानी पिउनै छाडेको छ

त्यो ठूलो कुवालाई हेर्नै छाडेकोछ

त्यो ठाँटी चौताराहरूमा

बटुवाहरू बिसाउनै छाडेकोछ

सयद त्यो ठाँटी चौताराहरू पनि

प्रदेशी जस्तै बिरानो भएर होला

पुरानो भएर होला

थोत्रे भएर होला

कि मानिस जस्तै बुढो भएर होला

अब त सबैले भन्न थालेको होला

लेउ पलाएको कुवा

सफा नभएको कुवा

झार पात पलाएको कुवा

छि छि कति पुरानो कुवा ।