भरिया दाइ

Author : हरि कुमार श्रेष्ठ
Published on : May 05, 2011


  
हरि कुमार श्रेष्ठ

 

 

भरिया दाइ परिश्रम कति, जीवनभर उस्तै छ त्यो गति

 

उकाली र ओराली त तिम्रो नित्य काम

झरि बादल छन् तापनि छैन राम्रो दाम

तर पनि चुमी हिड्छौ गाउंदेखि शहर

हुन्थे होलान् तिम्रा पनि आराम गर्ने रहर

भरिया दाइ ...

 

हिउंद वर्ष एकै तिम्लाई छैन जाडो गर्मी

बसे घरमा गाह्रो हुने दुई छाक टार्न पनि

अन्नपात उब्जदैन हुन्नन् कौडि घरमा

केटाकेटी परिवार बांच्छन् तिम्रै भरमा

भरिया दाइ ...

 

उमेरको बल र औकात अन्तै चाहरने

बुढेशकालको जीन्दगीमा कसलाई गुहारने

न त तिम्लाई उपदान छ न त छ है पेन्सन

जीवन यस्तै बिताइ राछौ लिई सधैं टेन्सन

भरिया दाइ ...

 

आशा तिम्रो सुखी जिउने आन्दोलनमा लाग्यौ

अहिले पनि उस्तै जिउंछौ फरक के नै पायौ

बिन्ति गर्थ्यौ सरकारलाई राहतको लागि

सुन्नेवाला छैनन् तिम्लाई न त च्यापे काखी

भरिया दाइ ...

 

सरकार भयो परिवर्तन उद्देश्य त एकै

अरबौंको घोटालामा मतो सबको एकै

असहयोग गर्यौ भन्दै कर्मचारी थर्काई

सरुवाको लिष्ट तयार छलफल गर्ने चर्काई

भरिया दाइ ...

 

बिरोध गर्छन् इमान्दारले खपि चर्को यातना

जति ब्याख्या गरे पनि सकिन्न त्यो बेदना

अत्याचारले डांडा काटे राजिनामा दिन्छन्

पदलोलुप्त नभैकन स्वाभिमानले जिउंछन्

भरिया दाइ ...

 

आशा गरौं निस्कन्छने कि तिम्रा हितकारी

अस्ताउंछन् कि यो देशबाट भ्रष्ट अत्याचारी

अनि होलान् पूरा तिम्रा जीवनको आश

सुध्रन्थ्यो कि पीडादायी झुपडिको बास

 

भरिया दाइ परिश्रम कति, जीवनभर उस्तै छ त्यो गति ।