आदिवासी आन्दोलनमा सांगितिक आयाम

Author : प्रदिप कन्दङ्वा
Published on : November 15, 2008


  
प्रदिप कन्दङ्वा
Author

          युगौं देखी धर्म र जातीवादको माखेसाङ्लोमा बेरिएका तमाम अस्तित्व प्रेमी नेपालीहरूको एउटै र अकाट्य अभिष्ट रहेको छ, उल्लेखित उत्पिडनबाट "मुक्ति" । एक धर्म, एक जात, एक भाषा र एक भेष भन्ने सामन्ति केन्द्रीय सत्ताको बिभेदकारी मुलमन्त्रबाट देशमा उत्पन्न भएको चरम जातीय र धार्मिक दमनबाट "छुटकारा" । आफ्नो पहिचान, आफ्नो अस्तित्व र आफ्नै स्वशासन सहितको अखन्ड नेपाल । त्यस्तो एउटा सुन्दर र समृद्ध नेपालको लागि पुर्व मेची देखी पश्चिम महाकालीसम्मका तमाम न्यायप्रमी आदिवासी जनजातीहरूले चलाईरहेको परिवर्तनकामी आन्दोलमा आज अनेक आयामहरू उदाई सकेका छन् । हामीहरूको महानिद्रा भंग भइसकेको छ । हरेक जाती समुदाय र वर्गले आफ्नो अस्तित्व स्थापनार्थ आवाजहरू बुलन्द गरिरहेका छन् । शासकका ढुगें मुटुहरू हल्लाईरहेकाछन् । जव-जव कुनै देशमा कुनै समाजमा ठूल-ठूला परिवर्तनहरू हुन्छन् ठूल-ठूला उथल-पुथल ल्याउने प्रलयकारी राजनितिक घटनाहरू घट्छन् तव-तव लेखक साहित्यकारहरू, चिन्तकहरू, पत्रकारहरू आफ्नो वैचारिक अस्त्र, सृजना र कला लिएर मैदानमा उत्रन्छन् र उनिहरू परिबर्तकामी आन्दोलनका सहयात्री बन्दछन् । हाम्रो देशको सवालमा पनि परिवर्तनका हरेक ऐतिहासिक घटनाक्रमहरूमा लेखक साहित्यकार, चिन्तक, बुद्धिजीवी र पत्रकारहरूले अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । कविता मार्फत, कथा उपन्यास मार्फत, लेख रचना मार्फत, बौद्धिक विश्लेषण मार्फत, समाचार सम्प्रेषण मार्फत । आदिवासी जनजातीहरूको आन्दोलनले साहित्य र सृजनाबाट जुन उर्जा प्राप्त गरिरहेको छ त्यसको मुल्याङ्कन हुनु वास्तवमै आजको टड्कारो आवश्कता हो । र यो कुराको मुल्याङ्कन् होला भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

          आज हामीले हाम्रा जीवनका सहस्र गतिबिधिहरू अन्यायको बिरूद्धमा लगाईरहेका छौं । तर एउटा अनि आन्दोलनको अत्यन्तै सशक्त माध्यम हामीले छुटाएका छौं र त्यो हो आदिवासी आन्दोलनमा "सांगितिक आयाम" । एउटा लोकप्रिय नेताको भाषणमा जुन दम हुन्छ प्रकारान्तरले त्यो भन्दा कयौं गुणा धेरै दम एउटा लोकप्रिय गीतमा हुनसक्दछ । एउटा लोकप्रिय कविको कविताभन्दा पनि धेरै एउटा लोकप्रिय गीतको प्रभाव भारी हुन सक्दछ । संगितको सम्प्रेषणीय र मनोरन्जनात्मक बिशेषतानै यसको एकमात्र कारक तत्व हुनसक्दछ । तसर्थ मात्रै देउरालीमा राजा भेटियो देउरालीमा रानी भेटियो जस्ता गीतहरूको जन्म भएको हुनुपर्दछ । संगितको यही गुणलाई चिनेर आदिवासी आन्दोलनमा समेत सांगितिक आन्दोलनको अर्को तर ससक्त आयाम थप्न जरूरी छ । श्रवणले माथी माथी सैलुङ्गेमा भन्ने गीत लेखेर कुन्ति मोक्तानलाई चर्चाको चुलीमा पुर्र्याए । यो गीत नसुन्ने नेपाली पाउन कठिन छ तर इतिहासकै सर्बाधिक चर्चित कविता विशे नगर्चिको बयान कति नेपालीहरूले सुनेका होलान् । अनुमान लगाउन गाह्रो परोईन । यही भावना र बिचार भएको गीत श्रवणले त्यो बेला लेखेको भए र त्यो गीत माथी माथी शैलुङगेमा जस्तो चर्चित भईदिएको भए आजको जस्तो आदिवासी आन्दोलन दसवर्ष अगाडिनै सम्पन्न भइसकेको हुन्थ्यो भनेर कल्पना गर्दा अर्घेलो नहुने देखिन्छ । गोरा जातीले काला जातीमाथी गरेको जातीय दमनको बिरुद्धमा बब मार्लिहरूले गरेको सांगितिक आन्दोलन हाम्रो निम्ति उदाहरण बन्न सक्दछ । हाम्रै देशमा वामपन्थिहरूको राजनितिक आन्दोलनको उभार धेरैहदसम्म सांगितिक आन्दोलनले ल्याएको कुरा पनि कसैको नजरमा छिपेको छैन । पन्चायत टिकाउन पन्चेहरूले पन्चै हो यो देश बनाईदेउ भन्ने गीत बनाए । चिनमा मा��"ले साँस्कृतिक आन्दोलन चलाउँदा संगीतको प्रयोग गरेनन् होला भनेर कसैगरी भन्न सकिदैन । लिम्बुवानमा लाजेसा भगतले उरालेको सांगितिक आन्दोलन साँचो अर्थमा बब मार्लिहरूलाईलाई बिर्साउने कोटिको थियो र रहेको छ । लिम्बूहरूलाई बिउँझाउने र चेतनशिल बनाउने क्रममा लाजेसा भगतले सँगितमार्फत जुन योगदान दिए त्यो वास्तवमै तमाम लिम्बुहरू र लिम्बुवानी जनताको निम्ति गर्व गर्न लायकको छ । तर नेपालमा संगीतले आदिवासी आन्दोलनको समग्र रूप धारण गर्न सकेन । कसैले व्यक्तिगत रूपमा यस्ता किसिमका छिटफुट प्रयास गरेको देखिए तापनि यसलाई संस्थागत रूपमा अगाडी बढाउने प्रयास कतैबाट भएको देखीँदैन । आदिवासी जनजाती आन्दोलनको प्रभावलाई तिव्र बनाउन सांगितिक आन्दोलन अवश्य रामवाण सावित हुनेछ । आदिवासी जनजाती समुदायबाट आएका सम्पूर्ण संगीतकर्मीहरूले आफ्नो समाज र देशमा भइरहेको जातीय उत्पिडनको अन्त्यको निम्ति आफ्नो सृजना र कलाको केही अंश छुट्याउनैपर्ने भएको छ । यो प्रवासी भूमीमा टेकेर म तमाम संगीतकर्मीहरू र स्रष्टाहरूलाई आह्वान गर्दछु, हाम्रो सृजना र कलालाई हाम्रो अधिकार र अस्तित्व प्राप्तिको लडाईमा प्रयोग गरौं । आफ्नो समाज र आफ्नो जातीय पहिचानप्रति जिम्मेवारी बोध गरौं । पप स्टार सविन राई, निमा रुम्बा, धिरज राई, मिङमा शेर्पा, अभय सुब्बा, राजेस पायल राई, अमृत गुरुङ लगायतका तमाम संगीतकर्मीहरू, अब ब्लकहिल सुज होईन, गुराँसको फेदमुनी होईन, मिस क्याटवक होईन, मरिलानु के छ र जस्ता गीतहरूमात्र होईन समाज परिबर्तनको निम्ति, आफ्नो जातीय हक अधिकरको निम्ति, जातीय उत्पिडनको अन्त्यको निम्ति पनि गीतहरू गाउँनुहोस् । हामी संगीतलाई पनि समाज परिवर्तनको संवाहक बनाउँ । हाम्रो आन्दोलन आज प्रसव बेदनामा छटपटाई रहेको छ, त्यसको सुरक्षित अवतरणको निम्ति हरेकले आ-आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्न जरुरी छ ।

          हामीले सँधै हाम्रो सृजनाको केन्द्र हाम्रो हृदयलाई मान्यौ । हृदय त सँधै भावनामै बग्दो छ । अब हृदय र मस्तिष्कको मिलनकेन्द्रबाट स्रष्टाहरू निर्देशित हुनुपर्दछ । कला साहित्य र सृजनाको अभिष्ट केवल मनोरन्जन मात्र हुनुहुँदैन । अन्याय र अत्याचारको विरूद्धमा पनि हाम्रा स्वरहरू उरालीनुपर्दछ भन्ने परम अभिष्ट सहित जनजाती आदिवासी आन्दोलनमा सांगितिक आयामलाई भित्र्याउन आदिवासी गीतकार समाज हङकङको स्थापना भईसकेको छ । समाजको पहलमा आदिवासी नामक एक गीती एल्बम छिट्टै बजारमा आउँदैछ प्रतिक्षा गर्नुहोस् ।