अस्तित्ववादी साहित्य (कार्यपत्र)

Author : दिल पालुङ्वा "नेपाल कुश्शा
Published on : April 27, 2011


  
दिल पालुङ्वा "नेपाल कुश्शा
(समयाभावका कारण कार्यपत्र पेश हुन पाएन)
 
अस्तित्ववादी साहित्य
 
        प्रस्तोता-दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"

       कार्यक्रम-हङकङ नेपाली महासंघको साहित्यिक

       कार्यक्रम तथा संयोजक-नेपाली साहित्य प्रतिष्ठान हङकङ

 

विषय प्रवेश

 

यो व्रहमाण्डमा सबै वस्तुहरू अस्तित्वमा रहनुको लागि क्रियाशिल हुन्छन् । यस क्रममा कतियप अस्तित्वमा रहन सफल हुन्छन् त कतिपयको अीस्तत्व समाप्त भएर जान्छ । यद्दपी कतिपय कुराहरू प्राकृतिक नभएर मानिसको कारण हुने गर्दछन् । अर्थात मानिसले चाहेमा अस्तित्व राख्न पनि सक्छन् नराख्न पनि सक्छन् । अस्तित्वको लडाई  विभिन्न क्षेत्रमा हुने गर्दछ । यो विषेश गरेर विश्वको आदिवासी समुहहरूको लागि प्यारो छ । किनकी आप्रवासीहरूले आदिवासीहरूको भूमि अतिक्रमण गरेर उनीहरू अनुकूल राज्य व्यवस्था सञ्चालन गरी उनै आदिवासीहरूको भूमि, भाषा, लिपी, धर्म, संस्कार संस्कृति समाप्त पारीदिए भने उक्त क्रम निरन्तरनै छ । तर सम्बन्धित आदिवासी पक्षको लागि आफ्नोपन प्यारो छ,हुन्छ । त्यति मात्र होईन यो संसारमा सबैखालको फुलबारी हुन पनि आवशयक छ । तर स्वार्थी मानव स्वभावको कारण यो क्रम टुटिरहेको छैन ।

अस्तित्वको विभिन्न क्षेत्र मध्ये एक प्रमुख साहित्य पनि हो । यही रुप नेपाली साहित्यमा पनि छ । जुन अस्तित्व संकटको कुरा नेपालको आदिवासी जनजाति र पिडित उपेक्षित वर्गले भोगिरहेका छन् । यसैलाई कायम गर्न हङकङमा गठित अस्तित्ववादी समुहले काम गरिरहेका छन् । यो समुहको मूख्य उद्देश्य आदिवासी जनजातिहरू जो हर क्षेत्रमा पछाडि पारिएका छन् उनीहरूको उत्थान तथा विकास र अस्तित्वको लागि काम गर्ने हो । यसले साहित्य, राजनितीक, सामाजिक आदि क्षेत्रबाट काम गर्नेछ । यहाँ बुझनुपर्ने अर्को मूख्य पक्ष के हो भने यसले आदिवासी जनजातिहरूको मात्र पक्षमा लड्ने अरुको लागि नलड्ने भने होईन यसले अस्तित्व संकटमा पर्ने सबैको पक्षमा लड्ने फराकिलो स्थान पनि लिएको छ । वर्तमान अवस्थामा आदिवासी जनजातिहरूको समस्या टड्कारो भएकोले मात्र यतापट्टि प्राथमिकता दिएको हो । यो अस्तित्ववाद एउटा "वाद" हो, "सिद्धान्त" हो । यसलाई आत्मासात गरेर जो पनि अगाडि जान सक्नेछन् ।

अस्तित्ववादीहरूको अर्को मूख्य काम उपरोक्त विषय बाहेक आजको ग्लोवलाईजेसनको समस्या तथा विकिरणयुक्त युगमा व्रहमाण्डको जोगावटको लागि पनि हो । पृथ्वीको समाप्त भएमा सबै कुराहरू निरर्थक हुने हुँदा पृथ्वीको अस्तित्व कायम गर्नुनै अस्तित्ववादीहरूको चुनौति हो । यसमा विश्वभरबाट सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ । यसको लागि अस्तित्ववादीहरू सबैलाई आव्हान गर्दछ । जय अस्तित्ववाद ।

(अस्तित्ववादी समुह-संयोजक दिल पालुङवा लिम्वु, नेपाल कुश्शा, सचिव-विष्णु पाख्रिन तामाङ, सदस्यहरू अविचन्द्र ईङनाम, सुरेश सुव्वा, डि.वी पालुङवा, हस्त वरुहाङ, गीता पालुङवा आदि ।)

यस परिप्रेक्षमा साहित्य सम्बन्धि विषय भएकोले उक्त विषयलाई महत्व प्रदान गर्दै एउटा अस्तित्ववादी कविताँ यहा प्रस्तुत गरिएको छ:

       

अस्तित्व

 

हिजोको कुमारी भूमीलाई

हामीले विजन बिछ्याउनयोग्य बनाएका थियौं

त्यो बेला, हामीले हिंस्रक जन्तुहरूसँग

मूठभेट गरेका थियौं

हाम्रा आमा बाबु दाजुभाई दिदी बहिनीहरू

हिंस्रक जन्तुहरूको आक्रमणको शिकार पनि भएका थिए

यद्दपी हामीले उनीहरूसँग कठोर मुकाबिला गरेर

हाम्रो उद्देश्य प्राप्ति गरेको थियौं

हाम्रो उद्देश्य थियो सृष्टीको बचावट गर्ने

तब हामी लुङवोङवा खाम्वोङवा भयौं

आदिवासी भयौं-मूलवासी भयौं

हाम्रो ढुंगा माटो, जंगल, खोला नाला, भीरपहरासँग

प्रगाढ सम्बन्ध रह्यो मानौं नङ्ग र मासुझैं

यो हुनेनै भो, किनकी हामी त्यहीँ जन्मियौं

त्यहीँ हुर्कियौ, त्यही माटोमा मृत्युपछि माटो भएर थपियौं

हामीले धर्तीलाई जोगाउने कार्य गर्र्यौं

पृथ्वीको आयु बढाउँन हाम्रो शरिर नै

मुन्धुम वाचन गर्दै धर्तीलाई सुम्पियौं

यो क्रम हाम्रो पुस्तौं पुस्ता

युगौं युग चल्दै आएको छ

अर्थात पोरक्मी यम्फामीमाङ

मुजिना खोयोङना, सुसुङ्गे लालाङगे हुँदै

आजसम्म निरन्तर आईपुगेकोछ

उ नभए हामी नहुने, हामी नभए उ नहुने भयौं

त्यसैले यो भूमिसँग हाम्रो प्रगाढ माया छ

हाम्रो विषेश सम्बन्ध छ

यो भूमि हाम्रो प्राण हो

हाम्रो आफ्नै परिवेशमा बेलाबेलाको विस्मयकारी तत्वले

हाम्रो घर भत्काएको छ, हाम्रो बाटो बिगारेको छ

हाम्रो स्वामित्वलाई तहसनहस बनाएकोछ

मानौं हुण्डरीले अर्को ठाँउको

विविध सामानहरू ल्याई मिसाएर गोलमाल पारेको छ

अझ आयतित मिश्रीत सामानहरूकै पहुँच बढी भएको छ

हामी गोलमाल भएपछि समालिन खोज्छौं

पुन: कहिले भूकम्प, कहिले पहिरो, कहिले असिना

त कहिले हुरी हुण्डरी, बाढी आएर पुन: तहसनहस पार्दछ

तसर्थ हामीले पनि समय र परिस्थितीको पहिचान गरेर चल्न सिक्नु पर्दछ

तबमात्र हाम्रो पूर्खाको क्रमवद्धतालाई हामीले निरन्तरता दिन सक्छौं

सृष्टीको निरन्तरता दिन सक्छौं

त्यही निरन्तरता दिन नसक्दा हामीबाट डाईनोसोर हराएर गयो

भोलिको त्यो डाईनोसोर हामी पनि हुन के बेर ?

त्यसको लागि प्रकृतिको नियमलाई पालना गर्दै

अस्तित्वको लागि समयसँगै चल्दै जाओ

जब हामी प्रकृतिसँग साक्षात्कार गर्दै जान्छौं

समय र परिस्थिती अनुसार चल्छौं

तब, हामीमा अस्तित्वको संकट टाढै भाग्नेछ

हामी प्रकृतिको छत्रछाँयामा सदासदा रहनेछौं

हामी र प्रकृति मित्र भएर रहनेछौं

हाम्रो अस्तित्व सदा सदा रहनेछ ।