विकास

Author : बखतबहादुर थापा
Published on : March 22, 2011


  
बखतबहादुर थापा

प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ ।

नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक सौन्दर्यले परिपुण छ हाम्रो देश । नेपालको सुन्दरता नेपालीका निम्ति गर्भको कुरा मात्र होइन, विदेशीहरूका निम्ति आकर्षणको बिन्दु पनि हो ।

त्यही आकर्षणमा तानिएका अस्ट्रेलियाली दम्पती राजधानीसँगैको तर विकासको तुलनामा विकट ठाउँतिर सोझिए, त्यहाँको प्रकृतिको आनन्द लिन, मज्जा लुट्न । हेरेर अनुभव गरेर कहिल्यै नअघाइने प्रकृतिलाई आँखाभरि समेट्दै, भमराझैं त्यो सौन्दर्य मनले पान गर्दै उनीहरू एउटा डाँडामा पुगे ।

डाँडामा एउटा रिसोर्ट थियो । ती अस्ट्रेलियाली दम्पतीले स्थानीय भोजनको स्वाद लिए । एकातिर जंगल, अर्कोतर्फ गाउँ । उनीहरू कुनै बखत दूरबीनद्वारा टाढाटाढाका दृश्य हेरेर रमाउँथे त कुनै बखत तिनलाई क्यामरामा कैद गरेर ओल्टाइपल्टाई हेर्थे । तर, उनीहरूको यो खुसी लामो समयसम्म रहेन । उनीहरूले गाउँदेखि जंगल परास्त हुँदै गएको देखे । यसले उनीहरूको रमाइलोमा बज्रपात भयो । उनीहरू यसको यथार्थ खोज्दै गाउँतर्फ पस्नेबित्तिकै उल्टो भोगाइमा परे । गाउँले बालबालिकाले उनीहरूलाई घेरे, मानौं उनीहरू फूल हुन् र ती बालबालिका भमरा । उनीहरूले फोटो खिच्न अन्त भौतारिनै परेन । के के न भेटेझै उनीहरूले झुत्रेझाम्रे काती परेका लुगा पहिरिएका नानीहरूका फोटा खिच्नुसम्म खिचे । तर, ती बालबच्चाहरूको उज्ज्वल भविष्यलाई चरम गरिबीले ��"झेलमा पारेको र तिनका इच्छा-आकांक्षा अनि निर्दोषपनलाई भोकतिर्खाले अंकुराउन नदिएको थाहा पाएर दुःखी भए ।

उनीहरूको क्यामरा नजिकैको निकै ठूलो घरतर्फ सोझियो । त्यो घर भर्खरै आँधीले उधिनेर गएजस्तो बेवारिसे लाग्थ्यो । तर त्यो स्कुल रहेछ । गाउँलेहरूको साझा सम्पत्ति । बालबालिकाको भविष्य बनाउने थलो । उनीहरूसँग भमराझैँ झुम्मिएका केटाकेटी त्यहीँका विद्यार्थी रहेछन् ।

"ए भुरा हो," एक प्रौढ चिच्याउँदै आयो, "तिमीहरू पढ्न आएका कि कुइरेहरूको वरिपरि झुम्मिन ?" तर, विचरा ती बालबालिकाहरू ! शिक्षकहरू स्कुलमा भए न उनीहरू पनि कक्षामा हुन्छन् ! "तलब थापेकै दिन एक कौडी बच्दैन भने घाँटी सुकाउनुको औचित्य के ? समाज सेवा गर्ने बानी परिसक्यो, त्यो त्यसै छाड्न पनि मिलेन ।" अधिकांश शिक्षकहरूको यो साझा धारणा थियो । उनीहरू हाजिरी बहीमा उपस्थिति जनाउनासाथ 'समाजसेवा' मा लागिहाल्थे । हाम्रो देशमा इच्छा अनुसारको 'समाजसेवा' चल्छ, जसका थुप्रै शाखा-प्रशाखा छन्: नेताहरूको उछित्तो कढाइ, गुटबन्दी, कुख्यात मान्छेको अनुसरण, उद्दण्डता, जुवातास, आदि आदि .....

प्रायः शिक्षकहरू भन्थे, "समाज सेवाको नाममा मैले कसैको ज्यान मारेको छैन ! दुई-चार बात मार्छु, दुई-चार पैसा बाँड्छु के त्यो अपराध हो ?"

ती अस्ट्रेलियाली जोडीले स्कुल र बालबालिकाबारे सोधपुछ गर्न खोजे तर सबैजसो मानिसहरू कुरा गर्न हिचकिचाए । जे भए पनि, उनीहरूलाई त्यहाँको अवस्था देखेर टीठ लाग्यो । उनीहरूले त्यहाँको प्रकृति र सीधासादा गाउँलेसँग भेटघाट भइरहने बहाना खोजे । यसका लागि भताभुङ्ग भएको साझा सम्पत्ति स्कुलको नयाँ भवन बनाउने माध्यम रोजे ।

यो थाहा पाउनासाथ त्यहाँका टाठाबाठाहरू हात जोड्दै उनीहरूका अगाडि परे । निर्माण समिति बन्यो । समितिले अनुमानित दस लाखको बजेट बनायो । तत्काल निर्माण कार्यको थालनी भयो ।

अस्ट्रेलियाली दम्पतीले स्कुल भवनको शिलान्यास गर्ने क्रममा भने, "यस भवनको उद्घाटन गर्न आउँदा कम्प्युटर, इन्भर्टर, सोलार सिस्टम, खेलकुद आदी सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध हुनेछ ।"

जग खन्न सुरु भएपछि उनीहरू स्वदेश फर्के ।

छ महिना नबित्दै भवन बन्यो । त्यो जानकारी पाएर अस्ट्रेलियाली दम्पतीमध्ये पतिचाहिँ आए । भवन देख्दा उनीहरूले दिएको रकमको ५० प्रतिशत खर्च मात्र निर्माणमा लगाएको अनुमान लगाए । जान्न खोज्दा समितिले सोझो जवाफ दियो, "लेबर खर्चजस्ता थुप्रै कुरा जोड्न छुटेको रहेछ ।" दाताका लागि स्कुल भवन खेलौनाजस्तो लागे पनि त्यसैले निमुखा तथा गरिब गाउँलेका बालबालिकाका अनुहार चम्किलो बनाएको थियो । उनले यसमा चित्त बुझाए ।

उद्घाटन धूमधामसँग भयो । गाउँलेहरूले बाजागाजाको जोहो गरेका थिए । मज्जाले खानपिन, नाचगान गरे ।

त्यसपछि दाताको नजिकै देखिने डाँडा घुम्ने योजना थियो । एक गाइड र पाँच-छ जना गाउँलेहरू लिएर उनी त्यतातिर लागे । उनीहरू जंगलको किनारैकिनार हिँड्दै थिए । एउटा खोल्सोछेउमा टपरीमा केही मन्साइएको रहेछ । एउटा गाउँलेले मन्साइएको सामानतर्फ सबैको ध्यान आकृष्ट गर्दै भन्यो, "पाल्तो फालेका रहेछन् हगि ?"

"पाल्टो ?" अस्टेलियाली उत्सुक देखिए ।

टपरीमा एकताले रोटी, काला ध्वजा, काला अक्षता, कुखुराको टाउको, दुई-तीनटा पैसा र बाँसको छडी थिए । यो देखेर दाता छक्क परे, "यो के हो ?"

एउटा गाउँले अग्रसर भयो, "पाल्तो ।"

"पाल्टो भनेको के नि ?" दाता जिज्ञासु बने ।

"पाल्टो हैन पाल्तो, पाल्तो भनेको भूतप्रेत मन्साएको के ?" गाउँलेले झन् भ्रममा पार्ने काम गर्यो ।

दाताको अनुहार गम्भीर भयो । उनको शब्दकोशमा यस्तो शब्द नभेटिएकाले उनी गाइडतर्फ फर्के, "तिमीलाई थाहा छ पाल्तो भनेको के हो ?"

गाइडले स्वीकृतिसूचक टाउको हल्लाउँदै भन्यो, "तिमीलाई घोस्ट थाहा छ, त्यही भनेको ?"

दाता घोस्टको नाम सुनेर पनि सोचमग्न देखिए । गाइडले अझ सम्झायो"ग्रह-दशा बिग्रेका बखत प्रेतात्माले छोप्ने सम्भावना हुन्छ । आत्माले छोपेको मान्छेमा आश्चर्यलाग्दो हाउभाउ देखिन्छ, कहिले जीउ तात्ने त कहिले चिस्सिने, कहिले गाँसै नहाल्ने त कहिले दुई-तीन माना एक्लै हसुर्ने हुन्छ ।"

अरू सहयात्री पनि त्यो कुइरेलाई आफुले जानेबुझेको सम्झाउने-बुझाउने प्रयत्नमा जुटे । दाता झन् गम्भीर देखिए ओठतालु सुक्दै आइरहेका थिए । रिंगटा लागजस्तो भयो । उनले आफुलाई चुस्त पार्न 'हाउ...' गरेर सबैलाई तर्साइदिए । गाउँलेहरू एकअर्कालाई हेरेर हाँसे र सोचे, भूत-प्रेतको मामिलामा कुइरे हामीभन्दा जानकार रहेछ । तर, गाउँलेले भनेजस्तै दाताको टाउको भारी हुँदै थियो ! ओठमुख सुकिरहेका थिए ! जे देख्यो खाइदिऊ जस्तो भोकतिर्खा लाग्न थाल्यो । ब्लड प्रेसर घटेझैं मुटु हल्लिने र कसैले पछाडिबाट धकेलेजस्तो पनि हुनाले उनी बेलाबखत झसङ्ग-झसङ्ग हुन थाले । चाही-नचाही उनको सम्झनामा त्यही पाल्तो आइपुग्थ्यो । टपरी, एकताले रोटी, बाँसमा बाँधिएका काला ध्वजा, छरिएका चामल, सिस्नु र रगतका थोपा... । उनी गम्भीर हुँदै बर्बराउँथे, "पा... पाल्तो !"

कुइरेलाई यस्ता कुरा ठट्टाजस्तो लागेकाले जिस्किरहेको छ भन्दै गाउँलेहरू आ-आफ्नै अड्कल लगाएर हाँस्दै थिए । सबै हाँसेको देखी दाता पनि अमिलो मुख बनाउँदै हाँसिदिन्थे । तर उनमा आलस्य बढ्दै गएको थियो र उनी बेलाबखत गनगनाउँथे- "मलाई बिसन्चो हुँदै गइरहेको छ ।"

खानपिनमा निकै सावधानी अपनाउने र जहाँतहीँ खान हिचकिचाउने उनको बानी थियो । परन्तु आज जे देख्यो किनेर खाइहाल्थे । त्यो देखेर गाइडले सोध्यो, "किन सर, आज कुनै पनि खानेकुरा छोड्नुभएको छैन ?"

"तिमी प... पत्याऊ न, आज मलाई सन्चो छैन," दाता बोल्दा पनि लरबराउन थाले ।

"घुमफिरको काम टुङ्ग्याऊँ?" गाइडले नेपालीपन देखायो ।

"नो नो, बस्ने हैन ।"

दाताको रुटिन अनुसार त्यस दिन डाँडाको टुप्पामा पुगेर वरिपरिका दृश्य हेर्ने तथा त्यहीँका भोकानाङ्गा नानीहरू खोजेर फोटो खिच्ने योजना थियो । अनि पारि देखिने झरनामा पुगेर फोटो खिचाउने, नुहाउने र वरपर भेटिने गोठालाहरूलाई दुईचार पैसा दिएर माछा मार्न लगाई पोलेर खाने पनि त्यस दिनको कार्यक्रम तालिकामा थियो ।

झरनामा पुगेर नुहाएपछि उनी ज्वरोले काम्न थाले । उनले सानो झोलाबाट औषधि निकालेर खाए । र सबै जना माछा मार्ने काम छाडेर होटलमा पुगे । त्यहाँ पकाइराखेका माछासँग दाताले तीन थाल भात खाए । अनि त्यस दिनको कामलाई पूर्णता दिए ।

होटलबाट हिँड्दा छ बज्यो । जसरी अँधेरो बढ्दै गयो त्यसै गरी दाताको ज्वरो पनि उक्लिँदै गयो । उनको झोलाको गोलीले छुनै छोड्यो ।

"कहीँ पाल्तो फाल्नु पर्ने अवस्था त आइलागेन ?" गाउँलेमध्ये एउटाले ठट्टयौली गरेर दाताको मुटुमा गडेको शङ्का ब्यूँझायो ।

'पाल्तो !' दाता सोचाइमा डुबे । उनको मगजमा नाच्न आइपुगे तिनै दुना, टपरी, एकताले रोटी । केही बेर टोलाएर उनी बोले- "कहाँबाट ल्याउनु मैले पाल्तो ?" आखिर उनलाई पनि केही मन्साउनुपर्ने नै हो कि भन्ने भान परेछ ।

साँझ दाताको जीउ ज्वरोले रन्कियो । यो खबर फैलिनासाथ गाउँलेहरू जम्मा भए । तिनमा माइलो थापा पनि थियो । जीउमा देवता चढ्ने भएकाले गाउँलेहरू उसलाई माइलो धामी पनि भन्थे । सबैले उसलाई अघि बढाए । माइलोले आसन जमाएर दाताको जीउ नियाल्दै दुवै हातले नाडी पक्रियो । आँखा चिम्लेर ध्यानमग्न हुनेबित्तिकै काम्न थाल्यो । दातालाई आश्चर्य लागेछ, आँखा च्यातेर भने, "के भयो ? तिमी के गर्दैछौ ?"

"ओ... ... ...," माइलो चर्को स्वरमा कराउँदै जोड-जोडले काम्न थाल्यो । उसमा देवता चढेपछि सबैले सल्लाह गरेजस्तो उचित समयमा सामान आइपुग्यो । तुरुन्तै एक थाली चामल आयो । उसले चामललाई मुठ्याउँदै चारैतर्फ छर्न थाल्यो । घरीघरी मुठीभरि चामल लिएर "गुनमुन गुनमुन... भाग !" भन्दै  दाताको जीउमा हिर्काउन थाल्यो । दाता उठ्न खोज्थे, तर सबैले झ्यापझुपै अँठ्याइहाल्थे । उनले बोलेको सुन्ने कोही भएन । यत्तिकैमा एउटा मकलमा रापिलो आगो, एक कचौरा तेल, पन्यूँ र एक झुप्पा कलिलो सिस्नु आइपुग्यो ।

कोठा खचाखच थियो । गर्मी, गन्ध र अस्वस्थताको त्रिवेणीमा परेर दाता छटपटाइरहेका थिए । धामीले आगोले रातो भएको पन्यूाले तेल घसेको आफ्नो हत्केलामा प्याट्टप्याट्ट हिर्काएर झ्याइँ-झ्याइँ पार्यो र धूवाँको मुस्लो उडायो । अनि "हाँऽहाँऽहाँऽहाँऽहाँऽ" गरेर दातालाई जिस्क्यायो धामीले ।

अन्ततः धामीले थालीको पानीमा सिस्नु चोपेर आफ्नै जीउमा लतार्यो र दातातर्फ आँखा तर्दै सोध्यो- "बोल्, यो विदेशीसँग के चाहन्छस् ता ?"

दाता छक्क परे, "म आफैँसँग के चाहन्छु ? वाउ, भेरी स्मार्ट डाइलग ।" यस पटक दातालाई चित्त बुझेछ, धामीतर्फ हेरेर आँखा सन्क्याउँदै भने, "यू आर, रियल्ली अ गुड एक्टर ।"

धामीले कान थाप्यो । दाताको कुरा बुझ्न सकेको थिएन या ऊ आफ्नो बढाइचढाइ भएकोमा गर्व गर्न चाहन्थ्यो, कुरो नबुझ्ने थुप्रै थिए ।

"या... या... या... या...," यहाँनेर धामीको भाषा पनि फेरियो, बुझेर हो वा नबुझेर । देवता भएको नाताले कुइरेकै भाषा बोल्न चाहन्थ्यो कि ? उसले काम्दै उठेर दातालाई एक चक्कर लगायो अनि लामो सुस्केरा हाल्दै भन्यो, "म योजति सक्दिना ।" गाउँलेहरू छक्क परे । आजसम्म यो गाउँठाउँको भूतप्रेतलाई यही धामीले तह लगाएको थियो । के यो कुइरेमा जाइ लागेपछि भूतको पनि शक्ति बढेछ ? अन्ततः बिरामीको साइज र उसको दौलत देखेर धामीले ठूलै बोकाको आवश्यकता देखायो ।

"हुन्छ महाराज, हामी कालो बोको आजै दिन तयार छौं । यो विदेशीलाई तुरुन्तै छोड्दे भन," एकैसाथ दुईतीनटा स्वर आए । 

धामीले चावल मुठ्याएर "गुनमुन गुनमुन....फु... ल यसलाई सालको पातमा बेरेर गोजीमा राखिराख्नु ।' भनेर दाताको हातमा राखेपछि काम्न छोड्यो ।

दाताले चावल गाइडलाई दिएर चारैतर्फ आँखा चाल्दै भने, "सकियो तपाईंहरूको नाटक ?"

"हो पाल्तो फाल्नुपर्छ र बोका ल्याएर काट्नुपर्छ तब ठीक हुन्छ," ठालुले भने ।

"ठीक छ, त्यो सब गर्दै राख्नुहोला । सबै मिलेर मलाई तल बजारसम्म पुर्याइदिनुहोस् । भोलि बिहानैको बस पक्रेर काठमाडौं जान्छु ।"

दाताले भनेझैं आठ-दस जना गाउँले मिलेर तल बजारमा आए । रात त्यहीँ बिताएपछि बिहान पहिलो बसमा चढाएर दातालाई बिदा गरे ।

***

 

काठमाडौंमा डाक्टरले चेक गरेर भने, "बढी मात्रामा अफिम र गाँजा खाएकाले यस्तो अवस्था भएको हो ।"

अस्ट्रेलियाली छक्क परे, "गाउँलेहरूलाई सोझा ठान्नु मेरो मूर्खता रहेछ । अहा, अब म त्यो गाउँमा जाँदिनँ ।" उनले आफ्नो देश अस्ट्रेलियाको टिकट काटे । र, नेपाली विकासलाई सम्झे । 

उता गाउँका ठालुहरूले आ-आफ्नो छानामा सोलार र कोठामा कम्प्युटर जोडे । जस्तापाताहरू निकालेर आफ्ना घरका छाना टाले । सोझाहरूका गोजीमा हजार/पाँच सयका नोट छिरे । जाँड र रक्सी खानेहरूलाई दसैं आयो । भूतको नाममा उनैको पैसाले गाउँलेहरूले कालो बोको काटेर भोजभतेर गरे । रक्सीका बोतल हातमा लिएर जुलुस निकाले, "पाल्तु भूतप्रेत जिन्दावाद, सिस्नु, भाङ, धतुरो उमार्नैपर्छ । कुइरे दाता जिन्दावाद !" भोलिपल्ट त्यो स्कुल फेरि खण्डहरमा परिणत भयो ।