समयवृत्त

Author : नरेश ठूले
Published on : March 02, 2011


  
नरेश ठूले

पुकार्दापुकार्दै दिनहरूलाई

पुकार्दापुकार्दै रातहरूलाई

न खस्यो साँझ

न झर्यो विहानी

भएर ह्याङ्ओभर

अड्कीरह्यो एउटा समय असमान्जस्य

सटकको पेटी, गल्ली र अलिसान महलका छप्परहरूमा,

 

यि आँखाहरूको अघिल्तीर

निर्मिमेष ठडिएका भिडहरू- महलको

कालो तुल ओछ्याएर लम्पसार सुतिरहेका भिडहरू- सडकको

बाजी (मार्न/हार्न) कुदिरहेका भिडहरू- सवारीको

यत्रतत्र निरन्तर हिडिरहेका भिडहरू- मान्छेको

सम्राज्य भिडैभिडको

जो किचिएका छन् मान्छे प्रत्येक टाउँकोहरूमा

तर किन ढाकीरहेको लछेप्रै एकलास जालोले

मान्छेको मष्तिष्क र गिदी ?

, भिडबाट चिप्लेर बाँचि रहन्छ मात्र एक्लोपन ?

यो सम्पन्नताको उदाहरण हुन सक्छ ?

बस !  पृथक लागि रहन्छ यि क्षणहरू,

 

देखिन्छन् यहाँ-

तन्कीरहेका सटकहरू

फैलीरहेका सटकहरू

उम्रीरहेका महलहरू

अग्लिरहेका महलहरू

खै किन साँगुरीएका सटकहरू- एक खुट्टा पाईला टेक्नको निम्ति

खै किन साँगुरीएका महलहरू- एक शरीर बस्नको निम्ति

महल-सटक, सटक-महल

मान्छे-सटक, मान्छे-महल

साँगुरीएका आँखाहरू- देख्नको निम्ति

साँगुरिएका मष्तिष्कहरू- भाव र विचार फुर्नको निम्ति

के आयतन साँगुरिएको हो- आकाशको ?

बस ! अनौठो लागि रहन्छ यि वातावरणहरू,

 

यो एउटा छदम रंगमन्च जस्तो

यहाँ न कुनै दर्शकहरू छन्

न त कुनै श्रोतागणहरू

केवल पात्रहरू मात्रै चारैतिर

जो आत्म रतिको निम्ति

अभिनय गरिहनु पर्ने आफै

ताली पडकाउनु पर्ने आफै

आफैलाई महान पात्र घोषणा गरेर

गर्वले बेलुन फुले जस्तै फूल्नु पर्ने आफै

आह ! जमनाले मान्छेलाई क्या उडायो ?

बस, ताज्जुव लाग्छ आफैलाई यि दिग्भ्रमित क्षणहरू,

 

भंगीहरूमा यि असमान्जस्यतालाई बुझेर

स्टेरीङ निमोठेर सवारी घगाडि घिसार्दै

सभ्य हुनको नौलो भाकामा

म भाषा र लय बदली रहेछु- आवाजहरूमा

जीब्रो बदली रहेछु- स्वर र स्वादहरूमा

आँखा बदली रहेछु- हेराईहरूमा

भाव बदली रहेछु- बुझाईहरूमा

भुत्लाहरू पोतेर रङहरूले

जतिसक्दो ढाकछोप गरीहरेछु आफैलाई

निर्माण गरीरहेछु की सभ्य समाज

तिरस्कार गर्दै अस्तित्वलाई,

 

आधुनिक्ताले हल्लाई सकेछ जो मेरा रौंहरू

यसरी फेरी रहेछु की स्वाभिमानको श्वास

आवरणहरूमा क्रमशः रुपहरू बदल्दै बदल्दै ।