के दिन सक्छौ नयाँ कुरा ?

Author : दयाकृष्ण राई
Published on : January 17, 2011


  
दयाकृष्ण राई

रामायणको कथामा हनुमानले फल जस्तै देखेर

कपलक्क निलेको सूर्यलाई

तिम्रो देशमा सुर्योस्त हुन नदिने साहस लिएर

हनुमानले पनि पचाउँन नसकेको

सुर्यलाई हत्केलामा लिएर खेलायौ,

 

अहिले तिम्रो मुठ्ठीबाट अचानक फुस्किएर

प्रत्येक साँझ सुर्यले

पश्चिमी क्षितिजबाट बिदाई गर्छ 

गरिब गाउँलेहरू आफ्नो भाग्यको दियालो बाल्छन्

सुर्यास्त पछिको कालो रात चिर्दै

जुनकिरीहरू रमाउँछन् अन्धकार छाएको गाउँमा,

 

जव पूर्व क्षितिजबाट सुर्योदय हुन्छ

छरपस्ट छरिएका उज्याला किरणहरू टेक्दै

वन पाखाहरूमा घाँस, दाउरा र गोठाला जान्छन् गाउँलेहरू

मध्ये दिनको चर्किएको सुर्यले पसिनाको धारा छुट्न थालेपछि

उहिले तिमीले हत्केलामा खेलाएको सुर्यलाई

घाँसे, दाउरे र गोठालाहरूले हत्केलाले छेकि दिन्छन्

हत्केलाको छायाँले तनमा सितल नभए पनि

मनमा सितल छाउँछ उनीहरूको !

 

एक्काइसौं शताब्दीको सुर्य

अब तिम्रो बसमा छैन

सोह्रौं, सत्रौं शताब्दी तिर

सुर्य हत्केलामा खेलाउँदै

हनुमानले सुर्य निलेझैं विश्वनै खर्लप्प निल्ने

तिम्रो दुस्साहसको दुर्लङ्ग्य पहाडबाट लडेर

विश्व सामु उभिएको

साम्राज्यको मेरूदण्ड खुस्किएर पनि,

बिना बैसाखी ठमठम हिाडने उत्कट चाहनाहरू

सर्पझैं घिसि्रएको हेर्न बाध्य छन्

तिम्रा आफनै असफल औपनिवेशिक चिसा आँखाहरू,

 

तिम्रो हत्केलाको सुर्यले शेक्सपियरलाई

न्यानो दिन सकेन, उज्यालो दिन सकेन

त्यसैले उनले मैनबत्ती बालेर

प्वाँखको सहरामा लेखेको

रोमियो-जुलियटको प्रेमकथा

अजर-अमर भयो,

 

अब त तिम्रो सम्झनामा केवल

सुर्यका पाईलाहरू मात्रै छन्

हिमश्रृङ्खलाहरू टेक्दै हिँडीरहेको

सुर्यका पाईलाहरू पछाउँन छाडी देऊ अब,

जहाँ तिमीले रहस्यमय यतिको पाइला जस्तै

घामका पाइलाहरू विपरीत दिशामा हिँडीरहेको पाउँने छौ,

 

हिमश्रृङ्खलाका आदिवासी हिममानव हामी

हिमालमै बस्ने गर्दछौं  

हामी हिमाली आदिवासीलाई

हिमाली गणराज्य विचरण गर्ने

स्वतन्त्र अधिकार छ

नपठाउ अब हाम्रो स्वायत्त गणराज्यमा

ती पापाराजी पत्रकार र फोटो ग्राफरहरूलाई

जसले हाम्रो तस्वीर खिचेर

करौडौं डलर कमाउने गर्छन्

हाम्रो गरिबी उत्पीडनको बारेमा लेखेर

खरबौं डलर कमाउने गर्छन्,

 

हिमाली भियग्रा फुलेको बेला हाम्रो गणराज्यमा

तिम्रो नपुङ्सक विचारको बास्ना लिएर नआउ

एउटै रूखमा फलेको बिखुमा र ओखती

तिम्रो तुहि सकेको साम्राज्यवादी सिद्धान्त जस्तो होइन

तिमीलाई चाहिएमा त्यहीँ बोटबाट बिखुमा टिपेर पनि दिन सक्छौं

त्यहीँ बोटबाट ओखती पनि टिपेर दिन सक्छौं 

अब भन तिमीले हामीलाई 

साम्राज्यवादको भगनावशेष बाहेक

के दिन सक्छौ अरू नयाँ कुरा ? 

 

पेन्सन विहीन बुढो लाहुरे

नुनको भारी बोकेर मधेसबाट दुर्गम पहाड गाउँतिर उक्लिएझैं

गरिब मजदुरको पसिनाले तिरेको करको चाङ बोकेर

थोत्रो पानीजहाज आई पुगेपछि

ग्राहक आउँदा नगरवधुले कोठीको ढोका खोलेझैं

घर्याक्क ढोका खोलिने टावर ब्रिज ?

हाँसको बथानमा बकुला उभिएझैं

मौन भएर एक्लै उभिइ रहेको बिगबेन ?

 

चाहिँदैन अरू केही पनि

सुर्यास्त भईसकेको तिम्रो देशमा

फेरी नयाँ बिहानीसँगै नयाँ विचार लिएर आऊ

हामी त्यसलाई नै सहर्ष स्वीकार्नेछौं ।

 

 

शब्दार्थ

बिखुमाः- हिमाली भेकमा पाइने बिषको बोट

बिखुमाको साथी जो बिखुमाको बोट छेउमै उम्रिन्छ त्यसमा कुनै भिन्नता हुँदैन जसलाई हिमाली भेकका आदिवासीहरूले मात्र छुट्टाउँन सक्छन् । अचानक बिखुमा सेवन गरेर अन्तिम घडीमा पुगेको मानिसलाई बिखुमाको साथी सेवन गराएपछि ��"खतीको काम गर्दछ भन्ने भनाई छ ।