यो जात्रै जात्राको शहर

Author : दाजु गुरूङ
Published on : January 17, 2011


  
दाजु गुरूङ

कसैलाई हार्नमा मज्जा

कसैलाई हराउनमा मज्जा

अनि कसैलाई हार्ने र हराउनेको

गाली र तालीको खेल हेर्ने मज्जा,

विडम्वना, नत हार्नेको अनुहारमा विष्मात

नत जित्ने अनुहारमा उल्लास

खोइ यो कस्तो कस्तो ?

मदारीको खेल जस्तो, शकुनीको झेल जस्तो

हेर्नुपरेकोछ, निर्लज्ज लोभी-पापीहरूको यो नाटकीय खेल हेर्ने

न तिम्रो रहर, न मेरो रहर

यो जात्रै जात्राको शहर,

 

भत्काउन वानी परेकाहरूलाई भत्काउनमा नै मज्जा

हप्काएर खान पल्केकाहरू हप्काउनमा नै मज्जा

अनि थर्काएर दिउँसै जङ्ग वहादुरको सपना देख्नेहरूलाई

थर्काउनैमा मज्जा

विडाम्वना ! नत भत्काइएकेामा विष्मात

नत दिउँसै सपना देख्न लाज

खोइ यो कस्तो कस्तो ?

फेरि जंगल पस्ने घुर्की जस्तो, वाँदरको हातमा नरिवल सस्तो ।

पशुपतिनाथको कृपामा कहिलेसम्म चल्ने यो खेल

नत कसैलाई छ डर, नत कसैको छ भर  

यो जात्रै जात्राको शहर,

 

कसैलाई मुलुकको भविष्य-पथ नलेखिएको डर

कसैलाई मुलुकको ससाना कित्ताकाटको रहर

अनि कसैलाई अंश-वण्डको मुद्दामा मल्ल-युद्धको रहर

विडम्वना, नत गर्न दिन्छ नत गर्न सक्छ,

सवै सवै वाहिरै वाहिरमा भर पर्छ

खोइ यो कस्तो कस्तो ?

वाइसे चौविसे रजौटाहरूको प्रेतात्मा जागे जस्तो

वालकन प्रदेशमा आएको भ्इचालोको संकेत जस्तो

जन्मजात पोलियो लागे जस्तो वर्तमानमा

घर पोलेर आगो ताप्नेहरूलाई

अर्काको टाउँकोमा गिर खेल्ल पाएकैछ

इतिहासको अपमानमा नत खेद छ नत भविष्य प्रति डर

यो जात्रै जात्राको शहर,

 

धेरै भयो मेची दुखेको काली दुखेको, उत्तर दुखेको दखिन दुखेको

उज्यालो घामको आशामा वस्नेहरूको मन दुखेको

अनि धेरै भयो सिङ्गो मुलुकबाट वुद्घ हराएको,

विडम्वना ! हस्तिनापुरका धृतराष्ट्र र दुश्शासनहरूलाई-

नत यो दुखाइले मन रोएको छ

नत त्यो जल्लाद मनलाई वुद्धहराएको पिडाले छोएको छ

खेाइ यो कस्तो कस्तो ?

घर खनेर वन पुर्ने वानी जस्तो,

 

विभिषणको लंका-दाहृ राम-भक्तिजस्तो

देश दुखेर के भो र ? वुद्ध हराए र के भो र ?

के जान्छ र जल्लादहरूको गोठको वहर

यो जात्रै जात्राको शहर ।