समुच्च विचार र अर्धवृत्त सानो समिक्षा

Author : अशोक राई
Published on : January 03, 2011


  
अशोक राई

जगतलाई हेर्दा जताततै र जुनसुकै क्षेत्रमा कोही या केही हावी भइरहेको पाईन्छ । ग्लोबल लेभलमा हेर्ने हो भने क्षेत्रमा पश्चिमा, जातिमा युरोपियन, धर्ममा क्रिस्चीयनीटी, भाषामा अंग्रेजी, जेन्डरमा मेल र कल्चरमा वेष्टर्न आदि हावी छ । नेपालमा हेर्ने हो भने क्षेत्रमा काठ्माडौं, जातिमा ब्राम्हण र क्षेत्री, भाषामा खस, धर्म र संस्कारमा हिन्दू र लिङ्गमा पुरुष हावी छ । हावी भएका र ओझेलमा परेका बीच प्रत्यक्ष अप्रत्यक्ष द्वन्द छ । अल्पसंख्यक या उपेक्षितहरूले अस्तित्व र उपस्थितीको आग्रह अनि विचार प्रकट गरिआएको कुरा सर्वत्र अवगत नै छ । राजनितीमा मात्र हैन साहित्यमा पनि बहुल केन्द्र, बहुल नेतृत्व, बहुल विचार, बहुल जाति, बहुल धर्म, बहुल सास्कृति, बहुल नायकत्व या समग्रमा बहुल अस्तित्वको माग गरिआइएको पहिल्यैदेखि हो । नेपाली साहित्यमा चाँहि खासगरि तेश्रो आयाम यतादेखि बहुलता र सम्पूर्णताको कुरा उठाइँदै आइएकोछ । तेश्रो आयाम पछि लीला, सृजनशील अराजक, रंगवादी, उत्तरवर्ती सोचदेखि  भयवाद सम्मलाई हेर्दा प्रकारान्तरले विद्रोह, विनीर्माण, अस्तित्व र बहुलता कै कुराहरू हामी पाउँछौं । यी सबै वाद, विचार र लेखनहरूले एकल परम्परा, एकल नायकत्व, एकल केन्द्रीयता, एकल जातीय, एकल लिङ्गीय, एकल धार्मिक, एकल भाषिक, एकल सम्प्रदाय, एकल साँस्कृतिक हावीताको विरोध गर्दै बहुलता र सम्पूर्णताको आग्रह गरेको छ । साथै उपेक्षित र सिमान्तीकृतहरूको विचारको नेतृत्व गरेको छ ।

पछिल्लो पटक हङकङमा उदाएकी छिन कवियत्री दिपा एवाई राई समुच्चवाद विचार र आफ्नो कविता कृति अर्धवृत्त लिएर । प्रथमतः समुच्च शब्दले बोकेको अर्थ सम्पूर्णता र बहुलतासित समन्धित छ । यसलाई अझ फराकिलो गरि बुझ्ने हो भने यसको अर्थ सहअस्तित्व, सबैको उच्चता र सबै विशेष हो भन्ने हुन आउँछ । यसलाई यसरी वृहत हिसाबले बुझे राम्रो होला । तथापी यस विचारमा निहित अभिप्राय भने महिला समुच्चता या लिङ्गीय समानता हो भन्ने देखिन्छ । दोश्रोः कविता कृति अर्धवृत्तको अर्थलाई हेर्दा समाज र जगतमा पुरुष पक्षमात्र हावी भएकाले पुर्णताको लागि वृत्त पूरा हुन जरुरी छ भन्ने विचार निहित छ । यस कृतिभित्रका कविताहरूको आग्रहपनि त्यस्तै छ । अतः यसलाई काब्यीक आन्दोलनमा थप अर्को वैचारिक आन्दोलन हो भन्नु पर्ने हुन्छ ।

साहित्यमा नारी पक्षीय लेखन र बिचारहरू पहिला नआएका भने होइनन् । साहित्यकार पुस्पलता आचार्चले स्वर्गीय पतिको नाममा परम्पराले नेपाली महिलालाई भिराइ आएको श्वेत बस्त्रधारण नियमलाई लत्याउँदै आफ्ना स्वर्गीय पतिको सम्झनामा सिदुर पोते र साबिक बस्त्र नै धारण गरिन् र समाजलाई ब्यबहार मै चुनौती दिइन् । यो उनको समाजप्रतिको बिद्रोह थियो । कवियत्री सुमीत्रा बाङदेलले आफ्ना लेखनमा नारी उत्पीडनका कुरालाई सालिन भाषामा राख्दै आएकी छिन् । त्यसैगरि चर्चित साहित्यकार कृष्ण धराबासीले पनि नारी उत्थानलाई नयाँ ढंगले लेख्दै आएकाछन् । उनको मदन पुरस्कार प्राप्त उपन्यास राधाले त आधुनीक राधाको पक्षमा वकालत र पुनरब्याख्या नै गरेकोछ । त्यस्तै उनको टुँढाल उपन्यासले त नेपाली  समाजमा महिलाको बहुयौन समन्धको पक्षमा जिकीर समेत गरेकोछ ।

अहिले भर्खरै उदाएको समुच्चवाद विचारलाई हेर्दा तिनै पुराना आन्दोलनको एक रुप जस्तो पनि लाग्छ । तर यसमा खास गरिकन पुरातनदेखि विद्यमान लिङ्गभेदको विरोध र नेपाली समाजको भेदभावपूर्ण परिपाटी, रितीरिवाज र संस्कारको संरचनाप्रति बिमती राख्दै सम्पूर्ण धर्म संस्कार, परम्परा र सोचमा पुनरसंरचनाको आग्रह राखिएको कुरा यसमा प्रष्ट देखिन्छ । लेखिका महिला भएकीले स्वभाविक रुपमा यो विषयलाई उठान गरेको हुनु पर्दछ । नेपाली समाज बहुधार्मीक, बहुसाँस्कृतिक र बहुजातीय भएपनि हिन्दू धर्म र परम्पराले समाजलाई ग्रस्त बनाएकोले नारीलाई हेर्ने र व्यवहार गर्ने परम्परा सामन्ती संस्कारमा आधारित छ । यो परिप्रेक्षमा लेखिकाले खासगरि हिन्दू धर्म ग्रन्थहरू पुराण, मनुस्मृति,रामायण र महाभारतका मिथक र विम्बहरू प्रयोग गर्दै काब्य रचना गरेकी छिन् । ती कविताहरू पढ्दा र त्यसको भावना विचार गर्दा समुच्चवाद भन्नु नारीवाद जस्तो देखिन्छ । तथापी उनले घोषणा गरेको पत्रमा भने समुच्चबादलाई केही वृहत् ब्याख्या गरिएकोछ । उनले त्यहाँ भनेकी छिन्"कसैको निषेध नगर्नु सबैको उच्च स्थिति या उत्थान गर्नु आजको आवश्यकता हो ।"

 

समुच्चवादमा पाँचवटा बुँदाहरूको ब्याख्या यसरी गरिएकोछ:

. अस्तित्वः नारीहरूको अस्तित्वलाई समाजले स्विकार्नु पर्दछ । नारीप्रति राखिएका पुर्वाग्रह, नारीप्रति गरिएको असमानता र भेदभावमा पुनरविचार गरिनु पर्छ । समाजमा विध्यमान त्यस्ता सबै धर्मसंस्कार तथा चालचलनमा परिमार्जन हुनु पर्दछ ।

. भिन्नताः नारीहरूप्रति राखिएका पुरातन विचार र नजर अन्दाजलाई फेर्नका लागि समाजको सोचमा भिन्नता आउनु पर्छ या उनीहरूको अस्तित्वलाई स्विकारीनु पर्दछ ।

. शून्यताः नारीको सून्य उपस्थिती या नगन्य उपस्थिति जो विश्वव्यापी रुपमा नै देखिएकोछ यो सून्यताको अन्त्य हुनुपर्दछ । पुरुषमात्र प्रकृतीको पूर्णता होइन । त्यसैले यो सून्यतामा नारीको उपस्थिती हुनु पर्दछ ।

 . प्रकटः विश्व, ब्रम्हाण्ड, जीवन र जगत सबै विभाजित छ, खण्ड खण्ड छ र एउटा खण्डबाट अर्को खण्डको मिलन विन्दु प्रकट हो । नारीगत  दृष्टिकोणले समाज, परिवार, विश्व एउटा खण्डबाट अर्को खण्डमा जाने कुरालाई समुच्च विचार मान्दछ ।

 . सौन्दर्यः समाज, देश र परिवारमा नारीको भूमीकालाई अस्वीकार गरेमा त्यो असुन्दर देखिन्छ । अतः नारी पुरुषको बराबरीमा नै समाजको सौन्दर्य निहीत छ ।

 

अर्धवृत्तभित्रका कविताहरू:

कृतिभित्रका सबैजसो कविताहरूले चेतनाका कुरा गर्छन् । उत्पीडन र भेदभावमा पिल्सीनु परेका पीडा पोख्छन् । अस्तित्वका लागि जिकीर गर्नु, पुरातन विचारप्रति विद्रोह गर्नु, नयाँ समयमा नयाँ युगको कल्पना गर्नु जहाँ नारीहरूको समान सहभागिता र उपस्थिति होस् जस्ता आधुनिक विचार कृतिमा उल्लेख छ ।

कविता "नांगी द्रौपदी" हिन्दू ग्रन्थ महाभारतलाई मिथक बनाई लेखिएकोछ । त्यसमा भएका खलपात्रहरूको चर्चा गर्दै अहिले पनि नेपाली राजनिती, कुटनिती, व्यवहारिक नितीहरूले नारीलाई पछि पारिनै रहेको तथ्य उजागर गर्न खोजिएको छ । कवियत्रीले आधुनिक नारीहरूलाई सम्बोधन गर्दै भन्छिन् ।

ओ गान्धारीहरू !

आँखा खोलेर हेर

म कसरी जलीरहेकोछु

आँखामा कहिले सम्म

धृतराष्ट्र बोकेर हिड्छौ ?

कहिले सम्म विवेकमा

ठेडी कोचेर बस्छौ ?

"अन्तराष्ट्रिय अदालतमा रामको अग्नि परिक्षामा कथित रामले सिताको अग्नि परिक्षा लिइएकोमा त्यस्को विरोध गर्दै हिन्दू समाजले आजपनि प्रत्यक्ष अप्रत्यक्ष नारीको अग्नि परीक्षा लिदै आएको तथ्यलाई प्रहार गर्दै अन्तराष्ट्रिय अदालतमा रामलाई खडा गरि न्याय मागिएको दृश्यलाई काब्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । काब्य शिर्षकले नै समाजको रामपात्रलाई उल्टै अग्नि परीक्षा लिन खोजेको देखाउँछ । यो आधुनिक नारीको विद्रोही स्वर हो ।

हे राम !

तिम्रा अहम् र आडम्बरी ढोंगले

आजसम्म गरिएका सम्पूर्ण

अमानवीय क्रियाकलापहरूको

सजायस्वरुप

अग्नि परीक्षा दिन आदेश दिइन्छ ।

त्यसै गरेर"अर्धवृत्त परिधीबाट तिमीलाई आव्हान छ" मा समानन्तर अस्तित्वको आग्रह गरिएको छ । नारी छ र नै पुरुष छ पुरुष छ र नै नारी छ भन्ने भावनालाई विचार गरि जगत पूर्ण हुन नारीलाई पनि उतिनै महत्व दिनु पर्छ भन्ने विचार पोखिएको छ । आऊ यो अर्धवृत्त परिधीलाई पूर्ण गरौं भन्ने आव्हान यस कवितामा छ ।

पुनः तिमीलाई आव्हान छ

आऊ म सँगै हिँड

त्यो सुनौलो बिहानी ल्याउँन

तब मात्र एउटा

अर्धवृत्त परिधी पूरा हुनेछ ।

त्यसैगरि विद्रोही अन्य कविताहरूमा "कंशहरूको विरुद्धमा", "सिकारीएका वादीहरू" "एउटी कुमारी आमा", "एक जिवित लोग्नेको विधुवा हुँ" र "चिहानभित्रको मान्छे", आदि छन् । समग्रमा सबै कविताहरूमा नारी विद्रोह, असन्तुष्टी, विरोध, समानताको आग्रह, नारी पक्षीय विचार र चेतनाका कुराहरू नै छन् । कृतिभित्र जम्मा सोह्र थान कविताहरू अटाएका छन् । जे होस् एउटा महिला लेखिकाले स्वभाभिक रुपले उठाउँनु लाएका विचारलाई समुच्च विचारमा कवियत्री दिपा एवाईले उठाएकी छिन् । उनको वैचारीक प्रस्तावनाले नारी मात्रलाई उठाँऊ,नारीको हकहित नै सर्वोपरि भनेको छैन । आफ्नो अस्तित्वको खोजी गर्दा अरुको अस्तित्वको निषेध गरेको छैन । केवल समानताको वकालत गरेको छ । नेपाली समाजले नारीलाई हेर्ने र व्यवहार गर्ने संकुचित एवं अन्यायपूर्ण परम्पराको विरोध गर्दै नारी जागरण र मूक्तीका खातिर यो विचारले प्रसस्त बोलेको छ ।

केही वर्ष अघि अदृश्य (भुमीगत) रुपमा "चरित्रहीन चेलीहरू" नामको एक समूह देखा परेको थियो जसका एक दूई लेखहरूमात्र पढ्न पाइयो पछि त्यो जमात त्यतिकै बिलाएर गयो या अहिलेपनि अस्तित्वमा छ थाहा भएन । जहाँ नारीको उपल्लो तहको विद्रोह स्वर देख्न पाइन्थ्यो । दिपाको कविताहरूमा झण्डै त्यो विशेषता देख्न पाइन्छ ।

सृजनशील अराजक कवि हाङयुग अज्ञात नयाँ लेखकको कुरा गर्नु हुन्छ । त्यो नयाँ लेखक जसले चेतनाको कुरा गर्छ, सहअस्तित्वको विमर्श गर्दछ र बहुलताको पक्षमा वकालत गर्छ । दिपा एवाई पनि त्यो नयाँ लेखक (लेखिका)भित्र पर्दछिन् । यस सन्दर्भमा दिपा एवाईको कविताहरूपनि चेतनाको दृष्टिले उत्कृष्ट छन् । दिपा एवाईको उपस्थितीलाई हङकङमा तीन महत्वकासाथ हेरिनु पर्दछ । पहिलो महत्व हङकङेली डायस्पोरीक नेपाली साहित्यमा एउटा लेखक (त्यसमा पनि महिल) को जन्म भयो । दोश्रो महत्व उनको कृतिमात्र हैन साथमा समुच्च विचारको पनि जन्म भयो । तेश्रो महत्व के भने लेखिका किराती नारी भएकाले उनको प्रयासलाई किराती चेतनाको एक नारी हस्ताक्षर भनी गर्व गर्नु पर्दछ । भलै किरात सौन्दर्यका खासै व्याख्या र पुनरव्याख्या भने उनको कृतिमा समेटीएका छैनन् एउटा कविता "सुम्निमा" बाहेक । न त नस्लीय (जातिय) चेतनाका विषयमा केही उल्लेख छ ।

 

अन्तमा,

माथि नै भनियो लेखिका किराती चेली भएरपनि किरात जातिय सौन्दर्यप्रति उदासिन देखिएकी छिन् । उनले हिन्दू धार्मीक नेपाली परम्परामा विध्यमान कुचलन र महिला उत्पीडनको विरोध गर्दै नारी पक्षीय हक हितप्रति मात्र बोलेकी छिन् । तर त्यही समाजभित्र गैर हिन्दू संस्कारका किरात समाज र सम्प्रदायहरूपनि छन् जहाँ नारीलाई हेर्ने दृष्टीकोण र महिला स्वतन्त्रताप्रति उदारभाव राखिन्छ भन्ने कुरालाई कतै उल्लेख गरिएको छैन । यो लेखिकाको भूल नै भने होइन राज्यले लादेको एकल धार्मीक र संस्कारगत नियमको उपज मात्रै हो ।

कविताहरूलाई हेर्दा केही महत्वाकांक्षी विचारले प्रेरित भएको हो की जस्तो पनि भान भएकोछ । र विरोधाभास अर्थपनि कवितामा पाइन्छ । जस्तो कविता नांगी द्रौपदीमा आधुनिक द्रौपदी (नारी) ले नांगीन पाउँ भन्छ । मिथकमा भएको अर्थचाहिँ नारीलाई अपहेलना गरि बेइज्जती भएकोले यसो नहोस भन्ने छ । कर्ण र दुसाशनको विरोध गरिनु ठीक भएपनि कृष्णको विरोध गरिनु विरोधाभाष जस्तो देखिन्छ किनभने उनले त द्रौपदीलाई वस्त्रहरण हुनबाट जोगाएका छन् । जेहोस कविताको भावलाई आधुनीक नारीले परम्पराप्रति गरेको विद्रोह भनी बुझ्नु मनासिब होला ।