प्रशासनिक काम, स्रष्टाको पहिचान

Author : उमेश राई 'अकिञ्चन'
Published on : December 28, 2010


  
उमेश राई 'अकिञ्चन'

केही महिना पहिले राम्रा कवि/गीतकार तथा प्रशासक रमेश क्षितिजलाई मैले सोधेको थिए "पहिलेको अनुपातमा लोक सेवा आयोग परीक्षा सफल हुने कवि, साहित्यकारहरू कम छन् नि ? किन होला दाइ ?" दाइले मुस्कुराउदै भन्नु भएको थियो "पहिले त सय अङ्कको नेपाली निबन्ध नै परीक्षा दिनुपर्ने थियो र पो पास हुन्थे, अब त कहाँ त्यस्तो हुनु र ? फेरि युवा साहित्यकारहरू बढि पत्रकारीतातिर आर्कषित भएका कारण पनि साहित्यकारहरू निजामति सेवामा कम देखिएका हुन् ।"

रमेश दाइको उत्तरबाट म सन्तुष्ट नै भएँ । यद्यपि, म आफै पनि त्यो पल प्रशासनिक वृत्तभन्दा बाहिर नै थिएँ । 'अर्को साँझ पर्खेर साँझमा' जस्तो मास्टरपिस कविता कृति लेख्नुहुने रमेश दाइका धेरै-धेरै गुणहरू अनुकरणिय छन् । दाइको एउटा गुणको अनुकरण गर्दै म पनि सरकारी सेवामा प्रवेश गरे, अन्य धेरै गुणहरू पछयाउन बाँकि छन् ।

आज, प्रशासन सेवाको अधिकृतको रूपमा नियुक्ति लिएको पनि झन्डै दुइ महिना बितेछ । हामी प्रशासनका अधिकृतहरूले गर्नुपर्ने आधारभूत प्रशासनिक प्रशिक्षण (BAT) को विभिन्न चार भागमध्ये केही साथीहरू प्रहरी तालिममा ब्यस्त हुनुहुन्छ । म लगायत केही साथीहरू मन्त्रालयमा बसेर काम सिक्नुपर्ने जस्लाई office attachment भनिन्छ, सोही गर्दैछौं । केही समय पश्चात हाम्रो समूहले पनि प्रहरी तालिम लिने नै छ । प्रहरी तालिम हामी प्रशासनिक व्यक्तिहरूलाई सबैभन्दा रोचक र अविष्मरणिय हुने कुरा अग्रज र साथीहरूबाट अवगत भएको छ । जस अन्तर्गत, परेड खेल्ने देखि पिस्तोल पडकाउने सम्म तालिम गर्नुपर्दोरहेछ । लामो लाहुरे सास्कृती भएको परिवारबाट आएपनि, मलाई शारीरिक अभ्यास गर्न गाह्रो लाग्छ । तर पनि यस्लाई, समयले दिएको अवसर मानेर उपयोग गर्ने सोचमा छु । यसै सिलसिलामा, अन्य कुराहरू सोच्दा म हाम्रा अग्रज साहित्यकारहरूले प्रशासनमा दिएको योगदानको बारेमा गम्दैछु ।

नेपाली प्रशासनको प्रणेताकै रूपमा लिदा फरक नपर्ने विशिष्ट प्रतिभा यदुनाथ खनाल पनि साहित्यकार हुनुहुन्थ्यो । प्रशासनिक स्थिरताका लागि डटेर लडने भूतपूर्व मुख्य सचिव डा. विमल कोइराला पनि राम्रा कवि हुन् भन्न पाउदा गर्व लाग्छ । साहित्यका विशिष्ट प्रतिभाहरू धनुषचन्द्र गौतम, काली प्रसाद रीजाल, परशु प्रधानले पनि प्रशासककै छविमा आफूलाइ खरो उतारेका थिए । वर्तमान समयमा पनि दिनेशहरी अधिकारी, शंकर प्रसाद कोइराला (एस.पि. कोइराला), वामन प्रसाद न्यौपाने आदि स्रष्टाहरू सचिवको कुर्सीमा बसेर देश हाँकिरहेका छन् । सचिवका दावेदारका रूपमा प्रशासनका उम्दा प्रतिभा चन्द्र घिमिरे (सह-सचिव) पनि कविताकै शिल्पकार हुन् । उसो त साहित्यिक प्रतिभाका रूपमा ज्वजल्यमान प्रतीक ढकाल पनि सह-सचिवबाट सचिव बन्ने स्पष्ट बाटोमा छन् ।

त्यसैगरी, भर्खेरै विश्व बैंक, अमेरिकामा काम गरेर नेपाल फर्किएका अर्थ मन्त्रालयका उप-सचिव, मधुकुमार मरासिनी साह्रै सुन्दर तर कविता लोकमा कमै देखिने प्रतिभा हुन् । उनको कविता र प्रशासनिक जीवन दुवै लोभलाग्दो छ । शुरुमै उल्लेखित नाम, रमेश क्षितिज साहित्य र प्रशासन दुवैमा सम्मानका साथ लिइने नाम हो । रोल्पामा L.D.O. को रूपमा कार्यरत उनका कविता, गीत, कथा ��"धी मन पराइएका छन् । उनी हल्लामा भन्दा सिर्जनामा विश्वास गर्ने प्रतिभा हुन् ।

यसरी, नेपाली साहित्य हरफका शिल्पीहरू एकातिर देश सेवा पनि गर्दैछन, अर्कोतिर साहित्य सिर्जनामा पनि सर्मपित भएको देख्दा साहित्य र प्रशासन एकै सिक्काका दुइ पाटोजस्तो लाग्दछ । प्रशासकको जीवनमा साहित्यले पु-याएको योगदान वा साहित्यमा प्रशासनिक जीवनले दिने कच्चा पदार्थ कुन महत्वपूर्ण हुन्छ ? यो अनुसन्धानकै विषय हुन् सक्छ । तर, सार्वजनिक पदाधिकारीको रूपमा बहाल ब्यक्तिलाई भने साहित्यले अलग पहिचान दिदोरहेछ जस्तो लाग्छ । यो मेरो दुइ महिने जागिरे जीवनको ठम्याइ हो । हामीले नागरिक सेवाका लागि सेवा प्रवाहको माध्यम हुन् दुइ महिना बाँकि छ । नागरिकहरूसम्म मेरो सानो पहिचान पुगेको होला भन्नु भ्रम हुनेछ । तर, हामीसँग तालिमरत केही साथीहरूले मसँग परिचय हुँदा आत्मियता र सम्मानभाव दर्शाउनुहुन्छ । वहाँहरूले मेरो कविता "मोनालिसा र मार्च ८" को बारेमा पटक-पटक कुरा उठाउनुहुन्छ । हामीसँग तालिमरत विशेष प्रतिभा भनेर वहाँहरू आफै गर्वित भएको कुरा सुनाउनुहुन्छ ।

खासमा म त केही होइन, समयको उपज मात्र हुँ । एक हजार डलरको पुरस्कार दिन योग्य प्रतिभा भनेर मेरो कवित्वमाथि योग्यताको छाप लगाइदिने निर्णायक मन्डलका वरीष्ठ कवि तुलसी दिवस र मेरो बारेमा कान्तिपुरमा तिख्खर कलम चलाइदिने पत्रकार देवेन्द्र भट्टराइका कारणले मात्र चिनिएको हुँ । नातावाद, कृपावाद सगरमाथा जस्तै चुलिदै गएको बेलामा, कुनै जान-पहिचान बेगर नै वहाँहरूले आ-आफ्नो ठाउबाट जे योगदान गर्नुभयो, त्यसको निम्ति म सदा ऋणी रहनेछु ।

अन्त्यमा, जीवनका मोडहरूमा कहिले असल विद्यार्थी, कहिले असल कविको रूपमा हिड्दा-हिड्दै म पनि मेरा अग्रजहरूले असल प्रशासकको छवि बनाएको लाममा उभिने जमर्को गर्दैछु । म असल प्रशासक बन्न सकुला वा नसकुला भोलिको दिनले बताउनेछ । आज भने, असल प्रशासक/साहित्यकार बनेर देखाउनु मेरो जीवनको आदर्श र विश्वास दुवै हो भन्न चाहन्छु । अस्तु ।

 

बिराटनगर