एथेन्सको झरीमा रुझेपछि

Author : दयाकृष्ण राई
Published on : December 28, 2010


  
दयाकृष्ण राई

  फिरन्ते ढुङ्गे युग देखि अहिलेसम्मको ईतिहास अध्यन गर्ने हो भने मानिसहरू एक ठाउँबाट अर्को ठाउँ स्थानन्तर हुँदै चलायमान अवस्थामा रहेको पाईन्छ । सबै भन्दा पहिला मानिसको उत्पत्ति अफ्रिकामा भएको किंबदन्ती सुन्न पाईन्छ भने आधुनिकता तिर लम्किदै गएपछि कालान्तरमा मानिसहरू संसार भरि नै छरिएर बसोबास गर्न पुगे । प्रारम्भिक चरणमा एसिया र युरोप प्रवेश गर्दा बेग्ला बेग्लै वर्गीकरण गरिए पनि मानिसको पूर्खा अफ्रिकाको चिम्पाञ्जी हो भन्ने कुरालाई विकासवादका प्रतिपादक चाल्स डार्विनले पुष्टि गरेका छन् । यसरि मानिसको विकास हुने क्रमसँगै जहाँ-जहाँ पुगे त्यहाँको पर्यावरणीय पृथकताको प्रभावले गर्दा नै तिनीहरूको रुप रङ्गहरू परिवर्तन हुँदै गएपछि नै श्याम, श्वेत र पीतवर्णमा बिभाजित भएको हुन् सक्छ । तर हामी कहिले काहिँ सोमरसले लठ्ठ परेर भट्टीमा तर्क गर्दै चाल्स डार्विनको विकासबादलाई  खिल्ली उडाएर भनि रहेका हुन्छौ हामी बाँदरका सन्तान हौं भने पशुपतिका बाँदरहरू किन मान्छे नभएका ? यदि अफ्रिकामा हाम्रा पूर्खाको उत्पत्ति भएको हो भने हामी पनि श्याम बर्णको निग्रो नै हुनु पर्ने थियो, किन भएनौं ? उपबुज्रुक भएर बकम्फुसे यस्तै यस्तै तर्क बितर्क गरेर हामी कहिल्यै थाक्दैनौं । तर चार्ल्स डार्विनले बाँदरको विकसित रुपनै मानिस हो भन्ने तथ्य प्रमाण जुटाउन विश्व भरि नै परिक्रमा गरेर बिभिन्न दुर्लभ अवशेषहरू फेला पारेर मानिसको पूर्खा बाँदर नै हो भनेका थिए ।

परापूर्वकाल देखि नै घुमन्ते फिरन्ते मानिस क्रमश घुमफिर गर्दा गर्दै अत्याधुनिक युगतिर प्रवेशगरि हवाईयानको आविष्कार गरेर शुलभ तरिकाले विभिन्न देशको घुमफिर गर्न सक्षम भए । डार्विनले झैं अन्य बैज्ञानिकहरूलाई पनि विविध विषयको अन्वेषण गरि दस्तावेज संकलन गर्न पनि सर्वशुलभ हुन् पुग्यो र लेखकहरूको लागि चाहिँ जुन देशमा पुग्यो त्यहाँको जन जीवन, परम्परा, भाषा, संस्कृति, वातावरण, भौगोलिक बनावट र सुन्दर प्राकृतिक छटाहरूलाई समेटेर एउटा महत्वपूर्ण फिरन्ते दस्तावेज तयार पारेर त्यस ठाउँमा नपुगेका पाठकलाई घर बसी नेपाल देखाउने परम्परा चल्यो । नेपालमा कहिलेदेखि यात्रा संस्मरण लेख्ने प्रचलन आरम्भ भयो ? त्यो मलाई यकिन नभए पनि मैले पढेको पहिलो यात्रा संस्मरण लैनसिंह बाङदेलको स्पेनको सम्झना हो र त्यसपछि तानाशर्माको बेलायत तिर बरालिंदा र पाताल प्रवास हुन् । यी संस्मरणात्मक पुस्तकहरू पढेपछि मलाई पनि यस बिधाले अत्यन्तै आकषिर्त बनायो र अन्तत मैले पनि जापानको मेरो सात बर्षको बसाईका तिता मीठा अनुभूतिहरूलाई 'सम्झनाको आलिङ्गनमा बाँधिएर' शीर्षकमा पाठकहरू सामु पस्किने प्रेरणा यीनै अग्रज स्रष्टाहरूबाट नै मिल्यो ।

यहि क्रममा फेरि आफ्नो फिरन्ते दस्तावेज लिएर आइपुगेका छन् नियात्राकार केदार संकेत । मैले यस विधालाई फिरन्ते दस्तावेज किन भनि रहेकोछु भने जसले पुस्तक पढ्छ ऊ त्यस ठाउँमा नपुगे पनि उक्त ठाउँको बारे पर्याप्त ज्ञान दिन सक्ने एउटा महत्वपूर्ण दस्तावेज हो यात्रा संस्मरण । यात्रा संस्मरण मात्रै नभएर यस विधालाई आत्मा संस्मरण पनि भन्न सकिन्छ । लेखकले त्यहाँ भोगेका मीठा अनुभूतिहरू मात्रै समेटेर लेख्नाले पाठकका लागि उडन्ते टिपोट मात्रै हुनेछ । विश्व भूमण्डलीकरण र अत्याधुनिक उच्च प्रविधिले विश्वको जुनै कुनामा भएपनि त्यहाँको वस्तु स्थितिको बारेमा कम्प्युटरको माउसको एकै क्लीकले भ्रमण गर्न सकिने भएकोले त्यहाँको सामन्य विवरण मात्रैले पाठकलाई अवश्य फिक्का लाग्न सक्छ । लेखकले म पात्र बनेर आफुले भोगेका तीता अनुभूतिहरू र आफुले गरेका नकारात्मक कार्यहरू पनि ईमान्दारिता साथ चित्रकारले क्यानभासमा चित्र उतारेझैं जस्ताको तस्तै उतार्न सक्ने साहसका साथ पाठक सामु उभिन सकेन भने पाठकको मनमा अवश्य जिज्ञासा उठ्ने छ । त्यस ठाउँमा राम्रा कुराहरूमात्रै छन् ? लेखकले त्यहाँ पुगेर राम्रा कुराहरू मात्रै उपभोग गरे ? त्यहाँ नकारात्मक कुराहरू छैनन ? भन्ने प्रश्नहरूले पाठकको मन मस्तिष्कलाई बिथोलि रहन्छ । लेखकले यथार्थताको धरातलमा उभिएर आत्मा समिक्षा गरेर पाठकको मन जित्न धेरै कसरत गर्नु पर्ने भएकोले यस बिधा अन्य विधाहरू भन्दा जोखिम हो कि भन्ने मलाई अहिले भान भई रहेको छ । हुन् त सबैले संस्मरण विधालाईर एउटै संरचनामा लेखिनु पर्छ भन्ने मेरो भनाई होइन । जसरि भएपनि परम्परागत शैली र संरचनालाई निरन्तरता दिनु भन्दा पनि परिष्कृत गरेर जुन विधाको क्रमभङ्ग गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न चाहन्छन् सबै लेखकहरू । यसरि परम्परागत शैली र संरचनालाई तोडेर आफु अगाडि बढ्दा त्यस विधालाई आफुले कति न्याय गर्न सकेको छु भन्ने कुरामा पनि त्यत्तिकै ध्यान राख्नु अपरिहार्य देखिन्छ । 

जब मैले केदार संकेतका फिरन्ते दस्तावेजको पाण्डुलिपि प्राप्त गरें र नजर लगाउन थालें, आफ्नो मौलिक रचना भन्दा माथिल्लो भागमा अन्तै कतैबाट उछिट्टएिर अचानक बसेझैं दुई चार हरफ शब्दहरूमा मेरो आँखा टक्क अडियो म केही बेर असमञ्जसमा परे । तर त्यो त नियात्राकारलाई मन परेको अन्य नियात्राका पुस्तकबाट छनौट गरेर राखिएका अभिव्यत्तिहरू रहेछन् । मैले नियात्रा विधामा एउटा नयाँ प्रयोग पाएँ । माथी राखिएका हरफहरू र तल लेखिएका नियात्राको विषय वस्तुसँग कुनै अन्तर सम्बन्ध नरहे पनि यो नयाँ प्रयोगले स्रष्टाले स्रष्टा प्रति सम्मान गर्नु पर्छ भन्ने सिद्धान्तलाई उजागर गरेको छ । अर्को त पाठक माँझ पुस्तकको उत्कृष्टता र लेखकको विशिष्टतालाई जानकारी गराएर स्रष्टालाई माथी उठाउन प्रयास गरिएको छ । हुन् त केदारजीले समेटेका सबै जसो स्रष्टाहरू वरिष्ठ साहित्यकारहरू नै भए पनि सबै नेपाली पाठक सामुसम्म पुग्न अवश्य पनि सम्भव छैन । यसबारे मैले वरिष्ठ नेपाली लेखकलाई पनि पाठकको खडेरी बारे समय समयमा लेख्दै आई रहेकै छु । र कनिष्ठ लेखकको बारेमा त कुरै नगरौं । जे होस् केदार संकेतले जुन नयाँ प्रयोग ल्याएका छन् यसले नेपाली बाङमयमा अर्को नौलो चास्नी थपेको छ भन्ने मलाई लागेको छ ।  

अब भने म पाण्डुलिपिमा निरन्तर आँखा दौडाउन थाल्छु । मैले ब्रिटिश गोरखा सेनामा सेवारत हुँदा पुग्ने अवसर नपाएको बेलिजमा नियात्राकार सँगै विचरण गर्न थाल्छु । विशेष गरेर बेलिजको एडभेन्चर ट्रेनिङ्गमा बोर्डबाट पानीमा खसेर बोर्डको ईन्जिनले काटेर एकजना मित्र सख्त घाईते भएको संस्मरणले म झस्किन्छु र दुई दशक अघि हवाई टापुमा सैनिक अभ्यासमा जाँदा अमेरिकन मरिनसँग स्पीड बोर्डमा समुद्रको भ्रमण गर्दा मेरो सातो उडेको थियो । प्रत्येक दुई तिन मिनेटको अन्तरालमा विशाल पहाड जस्ता छालहरू हाम्रो सामु आई पुग्ने गर्दथ्यो । छालको माथी माथी स्पीडबोर्डबाट उफ्रिएर तल खस्दा छाङ्गाबाट खसे झैं पानीको सतहमा तल पछारिएर ज्यान पाकेको आँपझै थिल थिलो भएको थियो भने त्यस बेला चाहिँ हामी मुर्दामा परिणत भएका थियौं । करिव दुई घण्टा पछि किनारमा अवतरण भएपछि मात्रै हामीले सास फेर्यौं । त्यहि मेरो सम्झनालाई आलो बनाई दियो बेलिज यात्राले ।  

केदार संकेतले बिद्यार्थीकालको काठमाडौ देखि आफ्नो गाउँ रामेछापको संस्मरण पनि यस संग्रहमा समेटेका छन् । काठमाडौंबाट बाटो लागे पछि जति आफ्नो गाउँको सामिप्यतालाई छिचोल्दै जान्छन् उतिउति प्राकृतिक सौन्दर्यताले उनको मन अल्हादित भएको स्पष्ट रुपमा व्यक्त गरेका छन् । धेरै समय पछि स्निग्ध गौरी शंकर हिमाललाई दृश्यावलोकन् गर्न पाउँदा झनै उनी भावूक हुन्छन । जिरी र गौरी शंकर हिमालको विवरणले फेरी कलाकार साम्दे शेर्पाको यादलाई मेरो आँखा अगाडि झल्झल्ती प्रतिविम्वित गराई दियो । सन् १९९९ सालमा म जापान हुँदा कलाकार साम्दे शेर्पाले प्रहसन आरम्भ गर्नु भन्दा पहिला, छोटो आफ्नो परिचयात्मक दुई हरफको मुक्तक भनेका थिए-

गौरी शंकर हिमालको काखैमा छ जिरी मेरो गाउँ

कलाकारहरू मध्ये म पनि एक हुँ साम्दे मेरो नाउँ   

प्रतिभावान व्यक्ति साम्दे शेर्पाले आफ्नो मुक्तकमा वर्णन गरेको जिरी र गौरी शंकर हिमाल, केदार संकेतले पनि आफ्नो संस्मरणमा वर्णन गरेकोले केही बर्ष देखि बेपक्ता कलाकार साम्देको आकृति मेरो सामु टक्क उभिएझै लाग्यो । यसरि जति पढ्दै गयो संकेतका संस्मरणले मेरा अतितका पानाहरू पल्टिदै गए । ईटालीको ऐतिहासिक स्थल सनमारियोमा गोर्खालीको स्मारकमा पुगेर ६१८ जना मध्यमा १७ जना गोर्खालीलाई तथ्याङ्क बिहीन अवस्थामा राखिएकोले नियात्राकारको मनमा अमिलो उत्पन्न हुन्छ । स्मारकमा तथ्याङ्क नभएपछि बेलायती साम्राज्यको लागि ज्यान अर्पण गरेका ती बीर सपुतहरूको परिवारले अवश्य पनि कुनै खुट खवर पाएनन् । बेखवर ती बीर गोर्खाहरूलाई अझै सम्म पनि फर्केर आउने आशामा होलान तीनका परिवारहरू । जसरि शान्ति माया लिम्बुले दोस्रो विश्व युद्धमा गएको आफ्नो खसमलाई अझै पनि फर्केर आउने आशामा प्रतिक्षा गरिरहेकी छिन् त्यसै गरि तड्पी रहेका होलान् । र, नै नियात्राकारले खुलस्त रुपमा यसरी भनेका छन् । यस्ता वीरहरूको नामावली खोजी नीति गर्नु राष्ट्रलगायत इतिहास विद्वहरूको आवश्यकता देखिन्छ । गरेकै भने देखिन्न । हो हामी आफनै राष्ट्र र साम्राज्यबादी बेलायत देखि निरन्तर उपेक्षित हुँदै आई रहेकै छौं । यो दुवै देशको दायित्व हो । माथी उल्लेख गरिए झैं पहिलो र दोस्रो विश्व युद्धमा बीरगति प्राप्त गर्ने तथ्याङ्क बिहीन गोर्खाहरू हजारौं छन् । यी तथ्याङ्क बिहीन बीर गोर्खाहरूलाई युद्धोत्तर पश्चात कुकुर मरे सरह कुनै खोज नगरि, परिवारलाई बिना खवर कुनै क्षत्ति पुर्ति भरण पोषण नगरि निर्धक्क बस्नु भनेको महाअपराध हो । केदार संकेतले यस ऐतिहासिक स्थल पुगेर श्रद्धाको फुल चढाएर ती हाम्रा पुर्खाहरूको मृतात्माले संतुष्टी त पाए नै होलान् । हामी पाठक पनि त्यहाँ पुगेर एक थुङ्गा श्रद्धाको फुल चढाउन पाए ती आत्माहरूलाई अझै संतुष्टी मिल्थ्यो कि ?

गौरी शंकर हिमालको काखमा हुर्केको ठीटो ईटालीको डोलीमेटीका पहाडको न्यानो आतिथ्यमा पाएको मनोरम दृश्यले मन्त्रमुग्ध बनाएको अनुभूतिलाई उनको कलात्मक अभिव्यक्तिले पाठकलाई पनि उनीसँगै त्यस ठाउँको बिचरण गराई दिन्छन । जसरि हामी ड्राईभिङ्ग सिमुलेटरको स्टेरिङ्ग समातेर दौडाउन आरम्भ गर्छौं हामीलाई वास्तविक कार सयर गरेको अनुभूत हुन्छ, त्यसरि नै केदार संकेतको नियात्रा पढन थाले पछि थाहै नपाई वास्तविक स्थलमा नियात्राकारसँगै आफुलाई पाउने गर्छौं । स्वीजरल्याण्डको डाँडा पाखाहरूमा घरै घर । प्रत्येक घरको छेउको कटेरोमा कचेतका दाउराका चाङ्का चाङ् देखेर नियात्राकारले आफ्नो देश नेपाल जस्तै भनेर बर्णन गरेका छन् । हो भौगोलिक आधारमा तुलना गर्ने हो भने नेपाल र स्वीजरल्याण्ड दुवै भूपरिवेष्टित राष्ट्रहरू हुन् त्यसैले भौगोलिक तालमेल मिल्न गएपनि आर्थिक रुपमा सवल राष्ट्र हो स्वीजरल्याण्ड । त्यहाँको प्रति व्यक्ति दैनिक आय र हाम्रो देशको प्रति व्यक्ति बाषिर्क आय झण्डै समान हुन् जाला । यसबारे लेखकले जानकारी नगराए पनि मलाई ज्यादै गम्भीर सोंचाईमा पार्यो । नियात्राकारले बर्णन गरेझैं जताततै केवुलकार र साना बाटाहरू पनि सबै अलकत्रे मात्रै कहिले हुने हो ? स्वीजरल्याण्ड जस्तै कहिले बन्ला त हाम्रो देश नेपाल ?

ईटाली र स्वीजरल्याण्ड जस्ता देशहरूको मनमोहक प्राकृतिक सौन्दर्यतामा लिन हुँदा हुँदै नियात्राकारले अप्रत्यासित आफगानिस्तानको युद्ध भूमिमा पुर्याई दिन्छन् । गोलीको आवाज ड्याम्म बजि्रयो कानैमा । कानका ग्रन्थिहरू टिनिनिनि रन्किए । क्या फसाद ! "टेक कभर" लियौं दुबैले । उनको यो अभिव्यक्तिले ज्यानमा काँढा उम्रिन्छ । बर्षौं देखि युद्धको मारमा परेको आफगानिस्तानको बारे मलाई फेरि सोंच्न बाध्य गरायो । कारण आफगानिस्तान पनि अर्को भूपरिवेष्टित राष्ट्रनै हो । तर बर्षौ बर्षको युद्धले यो राष्ट्रले टाउँको उठाउन सकेको छैन । अर्को त गहिरो अध्यन गर्ने हो भने भूपरिवेष्टित राष्ट्रको छिमेकी राष्ट्रहरू पनि सवल र मैत्रीभाव भएको हुनु पर्दो रहेछ भन्ने विभिन्न तर्कनाहरूले मेरो मस्तिष्क भित्र अन्यमनस्कता छायो । त्यस पछि युद्धले जर्जर असरल्ल भगनावशेषहरूमा ईराकका रातहरू बिताउन फेरी नियात्राकारसँगै यात्रारत '' अर्को उनको भयानक बयानले फेरी एकपटक कोल्टेफेर्छ । गोराहरू चिच्याउन थाले "गेट-डाउन गेट-डाउन" भन्दैं । हामी पनि कोठामा नै छाती जोतेर लम्पसार पर्यौ । केही आकाशमा नै पड्किए केही नजिकैको हातातिर खसे । मुटुमा ढयाङ्ग्रो बज्न थाल्यो । बेक्कारमा छादा खाँदाको घुरेनको जागीर छोडेर ठुलो भाग खान आको हैन ? खाईस, मज्जाले खाने भइस् । धित मर्ने गरि खा । सराप्न थाले मनमनै आफैले आफैलाई । यसरि आफुले आफ्नै अनुहारमा लोप्पामार्दे आफ्नो ज्यान हत्केलामा राखेर बस्नु परेको क्षणले पक्कै पनि सबै पाठकको मुटुले पनि ढयाङ्ग्रो ठोक्नेछ । लाम्पुच्छ्रे चराझै उडेर आउने लामो दुरीको क्षेप्यास्त्रले यो त ग्रीन जोन पो रहेछ नभन्दो रहेछ भन्ने पनि माथी उल्लेखित शव्दहरूले सपष्ट छ । ईराकमै फुर्सदको बेला क्याफे घुम्न जाँदा काम गर्न गएका नेपाली चेलीहरूले नेपाली हो भन्ने चाल पाएर पनि वेवास्ता गर्नु र विदेशीहरूसँग मुख बङ्गाएर अङ्ग्रेजी भाषा बोल्नु । ईटालीका प्रहरीले पनि नेपालकै जस्तो घुस खाएको घटनाले आफै आश्चर्य चकित भएका छन् नियात्राकार । यस्ता आश्चर्य जनक घटनाहरूलाई थपक्क टिप्नुनै संस्मरणको विशेषता हो । केदार संकेतका बिभिन्न देशको नौ थान संस्मरणात्मक निबन्धहरूमा उनको छोटो बसाईको अनुभवहरू समेटेका छन् । उनले पाठकलाई एकछत्र आफ्नो बसमा पार्न सफल भएका छन्, झर्रो अनि प्रतीकात्मक शब्दले । उनले काठमाडौबाट आफ्नो गाउँमा जाँदाको संस्मरणमा यसरि लेखेका छन् । शेर्पेनी दिदीको होटलमा लोकल खसीको मासुको रससँग लोकलै चामलको भात पाँच भाइको सहयोगले मनग्गे हसुर्छु । पाँच भाई भनेको प्रतीकात्मक शब्द हो । जसले हातको पाँच अम्लालाई जनाउँदछ भने हसुर्नु भनेको झर्रो शब्दमा खानु हो । यस्ता थुप्रै उदाहरणहरू छन् । १, भोकको झोंकमा ठुला माछाले भुरा माछा निलेझैं छिप्पेको अमिल्चे भालेसंग दियौं स्वाराम स्वाराम । २, नविनजीले मार्लब्रो चुरोटको सर्कोसंग ल्याटे घुड्काउन थाले । ३, कुनबेला यो भित्रपसेको नाँइटोलाई उकास्ने ? , नानीहरूले भने प्याकेटको आलु चिप्सले गोजेरो भरे । ५, हामीसँग जाने फिरङ्गी जोन (कर्णेल) ले पनि हसुरे मज्जाले भोकको झोँकमा चस्मा फुकालेर ।

केदार संकेतले समय सापेक्ष अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा बसाई सरेर बस्ने हामी नेपालीले भोगेका घटना चित्रलाई पनि यसरि व्यङग्यात्मक शैलीले प्रस्तुत गरेका छन् ।

भन्छन अबका उत्तरआधुनिक साहित्यमा हरेक पन नौलो । क्षण नौलो । मान्छे नौलो । शब्द नौलो । प्रयोग नौलो । बाफरे बाफ सबै नौलो । मान्छे पनि नौलो । साँच्चै अब त मैले मान्छे मान्छेमा पनि नौलो देख्दैछु । बाबा आमा सेताको काला नानी जन्मिने । कालाको बच्चाको खैरो कपाल हुने । एसियनका बच्चाहरूमा कुईरा आँखा, घुँगरिएका कपाल देखिने । सबै नयाँ आयाम । नयाँ प्रयोग । नयाँ गद्य शैली । छरप्रस्टीन्दै छन् यहाँ सिद्धान्त र निजि विचार भावनाहरू । 

मैले आरम्भ मै उल्लेख गरिसकेको छु विकासबादको सिद्धान्त अनुरुप अफ्रिकाको चिम्पाञ्जीको विकसित रुप हो मान्छे । एसियाको आँखा चिम्से, गहुँगोरो डल्ले मान्छेको पुत्र या पुत्री अफ्रिकाको श्याम वर्णको निग्रो जन्मिए पनि युरोपका कैलो केस भएको स्वेत वर्णको जन्मिए पनि यसलाई हामीले समय सापेक्ष विकासबादको उपलब्धीको रुपमा वर्णसङ्कर पनालाई स्वीकार्नु सिवाय अरु विकल्प छैन । अब उत्तरआधुनिक साहित्यले पनि निरन्तर यीनै वर्णसङ्कर मान्छेको वर्णसङ्कर सिद्धान्त, वर्णसङ्कर विचारहरू लिएर हाम्रो सामु बेसाहाको धोक्रो बिसाएझैं बिसाएपछि हामी साहित्यिक स्रष्टाहरूले यसलाई कसरि प्रयोग गर्ने भन्ने बारे पनि सोंचनीय अवस्था आएको छ । जे होस् नियात्राकार केदार संकेतले नेपाली बाङमयमा दोस्रो पटक एथेन्सको झरी नियात्रा मार्फत आफ्नो उपस्थिति जनाएका छन् । एथेन्सको झरीमा छाता, वर्सादी र घुमको आवश्यकता पर्दैन जति रुझे पनि अझै रुझि रहुँझैं लाग्नेछ । अन्तमा नियात्राकार प्रति साहित्यिक यात्राको निरन्तरताका साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । 

 

दयावेल्स कार्डिफ