अस्तित्वबोध

Author : रामकृष्ण सुनुवार 'आँकाला'
Published on : December 28, 2010


  
रामकृष्ण सुनुवार 'आँकाला'

खै ! अस्तित्व महागो छ भन्छन्

म त अस्तित्वहिन मान्छे

मलाई अस्तित्वको महत्व थाहा नभएरै होला

सोह्र कौंडीहरूमा

तियाँ, चोका, पञ्जा र छक्काहरूसंगै

भोक, प्यास, निद्रा बिर्सेर

घोप्टी र ठाडीको चर्को स्वरमा

स्फूर्तिका साथ छाती पिटिरहेको हुन्छु ।

 

भन्छन् जुवाडे !

ऋण-महंगी, महंगी-ऋण

परीवारको सन्त्रास बिर्सेको छु ।

तिनै कौंडीहरू

घोप्टी, ठाडी र चितपोटमा

अलिकति अस्तित्व हारेको छु

अलिकति अस्तित्व गुमाएको छु

खै ! कहिले जितेर फर्काउनु मेरो अस्तित्व ?

म अञ्जान छु

हो, मैले अस्तित्व गुमाएको छु ।

 

बाहुन्न पत्तिको त्रिपन्न खेल

ऐना झैं झलल्ल आँखामा झल्कन्छन्

किट्टी, जुटपत्ति, गोलखाँडी आदि ईत्यादिमा

कहिले बासा, कहिले मेम

एकलकाँटे एक्कालाई

दशक दशकहरू

पृथक पृथक छुट्टयाएर

अलिकति अस्तित्व लुटपुटाएर

गुटमुटाएर कसैलाई सुम्पेको छु

हो, मैले अलिकति अस्तित्व हारेको छु

हानेको छु, गुमाएको छु ।

 

जब म जुवा र तासमा

अलिकति अस्तित्व हारेर, गुमाएर

घर र्फकन्छु, डरले थर्कन्छु ।

अनि अलिकति सान्त्वनाको अभावमा

दुई चार बोतल रित्याई दिन्छु ।

सिध्याई दिन्छु, पिई दिन्छु

गल्लीगल्ली जथाभावि बकबकाउँदै

खुट्टा लर्खराउँदै, लर्बराउँदै

लक्ष्यबिहिन हिंडिरहेको हुन्छु

हो, मन्दिरहरूमा, पाटीपौवाहरूमा

अनि फोहर नालाहरूमा

म लडेको हुँदिन, मात्र शरीर

वा अलिकति अस्तित्व लडेको हुन्छ ।

 

मेरी श्रीमति, बिचरी,

रातभरी अनिद्रै बसेकी हुँदो हो

अनि मेरा रगतहरू

फगत भोका-नाङ्गा

के गर्दा हुन् ? के खाँदा हुन् ?

के लगाउँदा हुन् ? कहाँ सुत्दा हुन् ?

परीवारको दुर्दशाबाट

एक लाल, दुई लाल

अलिकति बढी अस्तित्व गुमाएको छु

हो, म अस्तित्वहिन मान्छे

अलिकति अस्तित्व हानेको छु

अलिकति हारेको छु, गुमाएको छु

मैले अस्तित्व गुमाएको छु ।