बेपत्ता माइला

Author : एस.के. पूर्वेली
Published on : December 22, 2010


  
एस.के. पूर्वेली

हाम्रो देशको माइला बेपत्ता भएछ

कसैले देख्नु भए खबर गरिदिनु

बिचरा माइला के के न गर्छु भन्थ्यो

गर्न त धेरै नै गरेको थियो

 

कहिले ठूलादाई कै वंश नाश गर्यो

हजारौं निर्दोष जनताको

छातीमा गोली नै ठोक्यो

सयौँ नागरिकहरुको बेपत्ता नै बनायो

तर पनि सोँचे जति गर्न सकेन

 

सायद यही अभिषापले पो हो कि ?

विचरा माइला बेखबर छ ,

हुँनसक्छ यि सबै खुनको कारण पो हो कि ?

ऊ आफैँ बेपत्ता छ

हुल्याहा नै भन्नु पर्दा

हठी निडर, स्वाभाव

अनि

ठूलो कद भएको

कसैसँग डराउँनु त के

कसैले केही बोले

बेपत्ता बनाइदिने हाम्रो माइला

 

पोहोर आएको जनसागरको

भेलमा परि ऊ आफैँ

बेपत्ता भयो कि

या गत महिना गएको

हिम पहिरोमा एक हुल

आरोहीहरु बेपत्ता भए भन्थे

कुनै हाम्रो देशको माइला थियो कि ?

 

जनकपूरमा बम पड्किन्दा

दर्जन मानिस मरे भन्थे

फेरि पनि हाम्रै देशको माइला पो थियो कि ?

हुँन त मधेश पुरै बन्द छ भन्छ

यही कारण अलि ढिलो भयो कि

जे भए पनि हाम्रो देशको

माइला बेपत्ता भइको छ

कसैले देख्नु भए

खबर गरिदिनु होला ।

 

 

चुनवान , हङकङ