संघियता

Author : उमेश राई 'अकिञ्चन'
Published on : December 15, 2010


  
उमेश राई 'अकिञ्चन'

शासक

तिमीलाई घडि मनपर्छ वा समय ?

 

शासक

तिमीलाई फूल चाहिन्छ कि माली ?

 

भन

तिमीलाई

मेरो कविताको

कस्तो हरफ मनपर्छ ?

 

तिम्रो अनुहारजस्तो

वा

भोको नाङगो नेपालीजस्तो ?

 

आहाराको खोजीमा

प्रत्येक बिहान बाँसझ्याङबाट

उडिरहेका बकुल्लाझै

दिनहुँ

तेस्रो विश्वको

पासपोर्ट बोकेर

उडिरहेछन् हजारौं मदनहरू

 

उस्तै छ कर्णालीको कछाड

उस्तै छ कालापहाड जानेको कहानी

चुनावी नारामा

धेरै पटक सुनियो

उस्तादले गाएको

राष्ट्रवादको गीत

देखियो धेरै-धेरै

काचुली फेर्नेहरूलाई

सिंहदरबार छेउ

 

हामीलाई मनपर्देन

कालो जुत्तामा उभिएको मान्छे

कालो घोडा चढेको सालिक

अनि

बिरूपाक्ष भन्दा

कुरूप बनाइएको

कालो काठमाडौं

 

हामीलाई फर्काइदेउ

हाम्रैं सानो संसार

 

हामी तराइको घुङी र सिपीले बाँचौला

हामी पहाडको चण्डि र भैलीमै रमाउला

हामी कर्णालीको कछाड नै लगाउँला

 

हामी हाम्रै आँगनको फूल बनौंला

हामी हाम्रै माटोको माली बनौंला ।