घामको चुम्बनले देश चिनाउँछ - नयाँघरे

Author : युवराज नयाँघरे
Published on : December 08, 2010


  
युवराज नयाँघरे

निबन्धकार युवराज नयाँघरेको नवीनतम् नियात्रा संग्रह हालै बजारमा आएको छ - घामको चुम्बन । निबन्ध र नियात्रा लेखेर कहिल्यै नथाक्ने नयाँघरेको प्रस्तुत कृति निकै नै चर्चित भएको छ पाठकमाझ । २०६५ सालको मदन पुरस्कार बिजेता नयाँघरेको नियात्रा लेखनबारे र घामको चुम्बनको सेरोफेरोमा उत्तम बाबुसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्रि:

तपाईको नयाँ कृतिको हालखबर के छ ?

नयाँघरे : 'घामको चुम्बन' क्रमशः पाठकहरूले रुचाइरहेको पाएको छु । यात्राको चोखो स्वाद र नेपालको सुन्दरता यस कृतिमा रहेको पाठकीय प्रतिकृया मैले पाएको छु । अहिले यसको माग भइरहेको छ ।

'घामको चुम्बन' अरु लेखनभन्दा के कति भिन्न छ ?

नयाँघरे : निश्चय नै भिन्न कृति हो यो । यात्राको सोझो र कोरा बयान यहाँ छैन । भाषाको कलात्मक प्रस्तुति र अनुभूतिको हार्दिक बयान यहाँ पाठकहरूले भेट्न सक्छन् ।

नेपालको कुन - कुन भूभागको बयान छ यस कृतिमा ?

नयाँघरे : पूर्व इलामदेखि पश्चिमी सिमाना महाकाली नदी टेक्दाका अनुभव र सूचना यहाँ लिपिवद्ध छन् । सगरमाथा देखि तराइका सुन्दर गाउँबस्ती पुग्दाका दृश्यहरू मैले यहाँ उतारेको छु । पहाडी खोँचदेखि तराईका समथरसम्म समेटेको छु मैले यहाँ ।

सामाजिक र सांस्कृतिक पक्षहरूको बृतान्त कतिको उतार्नु भएको छ ?

नयाँघरे : प्रशस्तै उतारेको छु मैले । घुमघामको क्रममा त्यहाँको जनजीवन र लोक सभ्यताको प्राप्तिलाई नियात्रामा नउतारे त्यो कमजोर हुन्छ । यतातिर म सचेत छु । घरगाउँका अनेक दृश्य र ती दृश्यका पछाडी थपक्क रहेका भावलाई म लेख्न रुचाउँछु । पात्रले बोलेका कुरा, व्यवहार र प्रभावलाई जति धेरै नियात्रामा उतार्यो - उति रचना शक्तिशाली र यथार्थपरक हुन्छ । मेरो नियात्रा लेखनमा यी कुरा बढ्ता छन् भन्ने लाग्छ ।

घामको चुम्बनमा स्थानीयता कतिको छ नि ?

नयाँघरे : नियात्राकारले स्थानीय पक्षलाई किनार लगाएर लेखेको रचना फोस्रो, नक्कले र काठेमूला जस्तो हुन्छ । मैले घामको चुम्बनमा पिाढीमा बस्दा फाइफस्टारको रोस्टेड चिकेनको बयान गरेको छैन । जुकाले टोकेर हैरान पारेको बेला खरानी खोजेको छु - एन्टिबायोटिक खोजेको छैन । साँचो नियात्रा लेखनमा इमानदारीताको तीब्रता भेटिन्छ ।

भाषिक सुन्दरता कतिको छ यस संग्रहमा ?

नयाँघरे : म यो मामलामा एकदमै सचेत छु । अघिल्ला संग्रहहरूको प्रतिकृयाबाट म उत्साहित छु । ग्रामिण सुन्दरता, हाम्रा बस्तीहरूको ठेट बोलीचाली र संस्कृतिलाई खिप्न उद्यत छु यस संगालोमा पनि । नेपाली भाषाको चोखो रुप र स्वाद पस्केको छु यस कृतिमा ।

नेपालको बृतान्त गर्दा समानता के भेट्नु भो तपाईले ?

नयाँघरे : सुन्दरता । नेपालका हरेक ठाउँ र परिवेश प्रिय छन् । अझ कति विध्वम्स भइरहेका सम्पदा समेत छन् । नेपालका पहाड, तराई र मधेसमा विविधता भए पनि सांस्कृतिक निधि भने विशिष्ट खालको छ ।

'घामको चुम्बन' मार्फत केहि सन्देश छन् कि ?

नयाँघरे : पर्यटन बर्षमा साहित्यको कोशेलीको रुपमा यो कृति आएको हो । घामको चुम्बनले देश चिन्न सबैलाई सघाउ पुर्याउने मैले ठानेको छु ।