कविताको फूल र दिमागको रेखा

Author : देश सुब्बा
Published on : December 01, 2010


  
देश सुब्बा

         २१ तारिख आइतबार २०१० । आधा घाम र आधा छायाँ छोडिन्दै गएको गर्मी र अगाडि पोल्दै चिसाउँदै आइरहेको जाडो मौसमको त्यो दिन कामले थकित शरीर र दिमागमा बाक्लिएको शहर, समस्याको प्रदुषणले उकुसमुकुसिएका कविता, शरीर सबैलाई झटाउन, टकटकाउन र ताजा बनाउन हाम्रो सधैँ चुनवानमा भेटघाट गर्ने सृजक, विचारक, समालोचक प्रेम राई, डि.बी. पालुङवा, बिमल राई, म देश सुब्बा र दुई अथक कुदिरहने बालकहरू अविनाश र निसाम्को टोली हङकङको प्रसिद्ध युद्ध कालिन खानेपानी जगेर्ना गर्न निर्माण गरिएको धेरै बाँधहरू मध्येको एउटा प्रसिद्ध बाँध 'सिन मुन बाँध' वरिपरि एक वृत्त पैदल यात्रा मार्न हिँड्यौँ । थियो झोलामा केही पानी, जूस र सम्झनालाई कैद गर्ने बिमलको क्यामेरा ।

          बाटोमा लटरम्म कविता थिए । रुखमा फलिरहेका, फूलमा झुल्दै गरेका, पानीमा पौडिरहेका, हावामा तैरिरहेका । ती उर्वर कविताले हाम्रो आँखा, दिमाग र मनलाई छुन्थ्यो, हल्लाउँथ्यो र थकाइले सुतिरहेको चेतनालाई झक्झकाउँथ्यो । झोलामा थिए बिमलका नयाँ कविता, डि.बी.को कविता र मेरा कविताहरू । हामीले प्रकृतिका कविता र झोलाका कविताहरूलाई ताछ्न थाल्यौ, छोडाउन थाल्यौ, फिजाउन थाल्यौँ । हाम्रो खुट्टाले यात्राको रेखा टेक्दै, छोड्दै गरिरहेका थिए । बाँधको किनारामा प्राकृतिक सौन्दर्यको सिकार गरिरहेका चित्रकार, फोटोग्राफर थिए । चित्रकार किनारमा थुप्रिएको ढुङ्गा र रुखको जराको स्केच गरिरहेका थिए, फोटोग्राफर त्यहाँ माछासित भोक र हत्याको खेल खेलिरहेका बकुलाहरूलाई क्यामेरामा कैद गरिरहेका थिए । हामीले टेक्दै र छोड्दै गरेको बाँध गोलो रेखाको एउटा वृत्त थियो । हामीले बाँधको वृत्तसँगै जीवनको सानो खण्डको वृत्त कोरिरहेका थियौ । हामी जीवन, जगत्, मृत्यु सबैलाई धारण गरेर एउटा एउटा अदृश्य रेखामा हिँडिरहेका रहेछौँ । मृदुभाषी प्रेम राई कविताको शल्यक्रियामा भन्दै थिए, 'मलाई लागेको के हो भने कवितामा शिल्प हुनुपर्छ, कारण हुनुपर्छ र सन्देश हुनुपर्छ ।' उनको भनाइको रेखा डि.बी. पालुङ्वाको सुन्दर कविता 'मेरो यात्रा अब अन्तरिक्षतिर' तर्फ तानिएको थियो । हामीले यस कवितामा बहस गर्यौँ । किनभने शिल्पले भरिपूर्ण यो कविता अति सुन्दर हुँदाहुँदै पनि अन्तरिक्ष यात्राको कारण, उसलाई स्पष्ट भएको थिएन रहेनछ । डि.बी. ले केही बताए कविताको बारेमा । तर ऊ कारणमा आफै पनि स्पष्ट नभएको जस्तो देखिन्थ्यो । उकालो चढ्दाचढ्दै बिमल भन्दै थिए, देशजीको रेखा कविता 'आँधी छेक्ने गुलाबको म विनिर्माण गरेर हेर्छु'

 

       मैले मेरो कवितामा बनिरहेको पाठक जिज्ञासा छलफलको लागि राखेँ । 'मेरा कविताहरू शिल्प बिनाको इमान्दार सन्देश बाहक हुन्छन् भन्ने आरोप पाठकको छ नि !'

 

       यसमा सबैले आ-आफ्ना मतले शल्यक्रिया गरे । दुईजना अथक बालकहरू अविनाश र निसाम् पसिनाको खेल खेल्दै दौडिरहेका थिए । बाटाभरि मान्छेहरू पसिना पोख्दै, दिमागको उकुसमुकुसिएको प्रदुषण उडाउँदै हिँडिरहेका थिए । हामी हाम्रै कविताको यात्रामा थियौँ । प्रेम भन्दै थिए,'रेखा कवितामा ठूलो स्पेश छ सबै खेल्न सक्ने । कविहरूले जतापनि खेल्न सक्छन् । यो डेरिडाको एउटा ग्याप्स हो ।'

      रेखा कविताको क्षेत्रफल, भविष्य, शक्तिको बारेमा पनि बहस भयो । कान्तिपुरमा केही समय अघि छापिएको श्रवण मुकारुङको कविता 'कतारका कविहरूलाई प्रश्नमा 'नब्बे डिग्री झुकेको सगरमाथा'मा पनि छलफल भयो । सगरमाथा नब्बे डिग्रीमा झुक्छ कि एकसय अस्सी डिग्रीमा छलफल गर्यौँ ।

       हामी कविताको शल्यक्रिया गरिरहँदा पनि चराले गाइरहेका कविता, पानीले छछल्किरहेका कविता र लुकामारी खेलिरहेको घामको कविता दिमागमा कम्प्युटर गरिरहेका थियौँ । त्यस्तै कविताको भलाइको लागि खडा गरिरहेका 'कविता कोष'को पनि हिसाब बिर्सेनौँ ।

     समयले अँध्यारो र झयाउँकीरीले झयाउँ झयाउँको कविता गाउन थाल्दा हामीले आजको रेखा हिँडिसकेका थियौँ । हामीले हिँड्न खोजेको आजको रेखा अविस्मरणीय थियो । दिमागलाई भेन्टिलेसन दियौँ । शरीरलाई टकटकाएर हाम्रा अगाडिका, पछाडिका, लेखिरहेका, लेख्दै गरेका, लेखिन लागेका सबै कविताहरूको शल्यक्रिया गरेर आफैलाई स्फूर्ति बनायौँ । अर्कोपटक 'कविता मेला'मा भेट्ने सल्लाह गरेर 'कविताको फूल र दिमागको रेखा' यात्रा पूरा गर्दै बिदा भयौँ ।

       हाम्रो कविताको खेल, मेला र विमर्श हुन थालेको पनि केही वर्ष बितिसकेको छ । यस वर्षहरूमा कति कविता लेखिए, कति छापिए, कति च्यातिए, कति हराए । हाम्रो अविरल कविताको यात्रा हो । यस यात्रामा हामीले सबै यात्रुहरूलाई बोलाउँदै हिँड्यौ । कोही पारी हङकङ छाडिए, कति काउलुन र कति न्यु टेरिटोरीतिर कति समाजसेवी भए कति राजनीतिज्ञ । अहिले हामी चाहिँ संसारभरि छापिनको लागि फेस बुकतिर आइरहेका छौँ-विशाल क्षेत्रफल बोकेको रेखा कविता लिएर । यस समुद्रमा मिसिन्दै आइरहेका छन् रेखा कविता पहाडकी रानी दार्जिलिङ, आतङ्कारीले भरिएको मुलुक अफगानिस्तान, हिमाल बोकेर उभेको मुलुक नेपाल, जाडोले कठिङ्ग्रयाउने पश्चिमी देश बेलायत र हजारौ टापूहरूको समूह हङकङबाट । यो खुला आकाश भएको कविता हो, यसमा जुनसुकै देश, जाति, वर्गका मान्छेहरू डुबुल्की मार्न सक्छन् । आतङ्कले विश्वलाई निलिरहेको बेला रेखा कविताको आवश्यकता छ भन्ने आव्हान बोकेर हिँडिरहेको यो कविता यात्रा । यो कविता यात्रामा सबै सबैलाई हामी हार्दिक स्वागत गर्दछौ ।