भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?

Author : दयाकृष्ण राई
Published on : November 17, 2010


  
दयाकृष्ण राई

         बेलायतमा पहिलोपल्ट सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । मिस युके नेपाल । यो कार्यक्रम आयोजना गर्ने संस्थाले अवश्यपनि एउटा नयाँ ईतिहास निर्माण गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले आफूमा भएको प्रतिभा प्रदर्शन गरेर बेलायती भूमीमा दर्बिलो तथा गर्विलो इतिहास रच्न सफल भएकोमा मेरो व्यत्तिगत तर्फबाट सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । बिजय प्रतिस्पर्धीहरूलाई बधाईका साथ भविष्यमा अन्य सिर्जनात्मक गतिबिधिमा आफूलाई निर्लिप्त गराई बेलायती भूमीमा हामी नेपाली हौं भन्ने अस्तित्व कायम गर्ने छन् भन्ने हामी सबै आशाबादी रहनु पर्दछ । विशेष गरेर यो प्रतिष्पर्धा धेरैबर्ष अघिदेखि हङकङमा सम्पन्न हुँदै आइरहेको सर्बविधितै छ । नेपाल बाहिर लेखिएको साहित्यलाई हामीले डायस्पोरिक साहित्य भने जस्तै यस प्रतियोगिताका बिजय सुन्दरीहरूलाई डायस्पोरिक सुन्दरी भन्दा कुनैपनि आपक्ति जनक विषय नबन्ला ? सन् १९९४ सालमा नेपालमा पहिलोपल्ट मिस नेपाल प्रतियोगिता भएको थियो र नेपाल टेलिभिजनले प्रसारण गरेको हेर्ने शौभाग्य पनि मलाई मिलेको थियो । अंग्रेजी बोल्नु नै बौद्धिकता हो सोचेर होला निर्णायकहरूले नेपालीमा सोधेको प्रश्नलाई सहभागीहरूले मुख बङ्गाएर अंग्रेजीमा उत्तर दिइरहेका थिए । त्यस्तै सोंच भएका एक-दुई निर्णायकहरूले पनि अङ्ग्रेजीमै प्रश्नहरू सोधेका थिए । प्रतियोगितामा के के प्राविधिक त्रुटीहरू भएका थिए भनेर पछि सम्पादन नगरिएको भागहरू नेपाल टेलिभिजनबाटै प्रसारण भयो त्यो हेर्दा बडो रमाइलो र हस्यास्पद थियो । निर्णायकले अंग्रेजीमा सोधेको प्रश्न द्वैभासेले गलत ब्याख्या गरिरहेको थियो । बिचरा नेपालीमा उत्तर दिने प्रतियोगीको कन्तबिजोग पनि नदेखिएको भने होइन् ।

मिस युके नेपालका प्रतिस्पर्धीहरूले अवश्यपनि त्यो समस्या झेल्नु परेन होला र मुख नबङ्गाई नै स्वतःस्फूर्त मौलिक उच्चारणका साथ मकैको फुल उठेझै पढकिए होलान अङ्ग्रेजी भाषाहरू । म त्यस कार्यक्रमको प्रत्यक्षदर्शी होइन, यो मेरो आफ्नै अडकलबाजी मात्र हो । नेपालमा त त्यस्तो नियति भोग्नु पर्छ भने अजिङ्गरले आहारा निलेझैं अङ्ग्रेजी भाषाले निल्न आँटेको हामी बेलायती नेपालीहरू कसरी पो अछुत रहन सकिन्छ र गोरुखाने भाषाबाट । म आफैले यहाँका मानिसहरूसँगको परिचय क्रममा मेरो नामलाई जिब्रो चपाएर दयालाई (डाया) उच्चारण गर्ने गर्छु । कहिले काहिँ मनमनै आफैलाई भन्ने गर्छु ''थुइक्क दयाकृष्णे बेलायतमा नेपाली भाषाको संरक्षण सम्बर्द्धनमा लागौं भन्ने यही हो तेरो चाला'' । अङ्ग्रेजी भाषा बोल्ने सबै ब्यक्ति बौद्धिक, विद्वान, विदुषी हुन्छ भन्ने हामी सम्पूर्ण नेपालीकै दिमागको खोपडी भित्र बन्द भएको छ । ठुला घरानाका सोंच्नेहरू नेपालमा पनि आफ्नै परिवारमा अङ्ग्रेजी भाषा प्रयोग गरिरहेको हामीले देख्न पाउने छौं । नेपालमा राणाहरूले पनि त्यही सोंचेर अंग्रेजी भाषा खुबै प्रयोग गर्ने गर्दथे भन्ने इतिहासहरू पढन पाइन्छ । राणा बाहेक कसैले अङ्ग्रेजी भाषा बोलेको सुने भने जिब्रो नै थुत्ने गर्थे रे । तर उनीहरू पनि कतिले काठे अङ्ग्रेजी मात्रै बोल्ने गर्थे रे ।

जुद्धशम्सेर प्रधानमन्त्री हुँदा बेलायतका जर्नेल भेटगर्न नेपाल गएछन् जरसाहबको अनुहार बडो रातो-पीरो रगत चुहिएला जस्तो थियो रे । जुद्धशम्सेर महाराजलाई हतार परेछ जरसाहवको अनुहारको बयान गर्न । प्याच्चै भनिहालेछन ''जनरल हाउ ब्लडी यू आर'' ? उनको स्वकीय सचिबलाई मर्नु न बाँच्नु भएछ र बिनम्र पूर्बक बिन्ति जाहेर गरेछन् ''महाराज हजूरले बोलिबक्सेको अंग्रेजी अलिकति मिलेन'' । जुद्धशम्सेर महाराजबाट हुकुम बक्सभएछ ! छाडदे जुद्धेले बोलेपछि बोल्यो-बोल्यो । म लगायत कतिपय गोर्खाहरू जुद्धशम्सेर महाराजकै अङ्ग्रेजी बोलाईले बेलायतमा काम चलाइरहेका छौं । जुद्धशम्सेर महाराजले जसरी गर्वकासाथ आफूले बोलेकोमा अडान राखे त्यसरी नै हामीले पनि गर्वगर्ने ठाउँहरू छन् । मलाई गोरा साथीहरूले तिमीहरूलाई भाषिक अवरोध (ल्याङ्ग्युएज बेरियर) छ भन्ने गर्छन । उनीहरूको बोली भुइँमा खस्न नपाउँदै म उत्तर दिने गर्छु अवश्य पनि म अङ्ग्रेजी भाषामा कम्जोर छु र यो कुरा म सहर्ष स्वीकार्छु । यो त मेरो तेस्रो चौथो भाषा भित्र पर्छ म कसरी तैले तोते बोली देखि बोलिल्याएको भाषा तँ जस्तो बोल्न सकुँ ? सबैभन्दा पहिलो तोते बोलिमा बोलेको मेरो मातृभाषा राई भाषा हो । र दास्रोमा राष्ट्रभाषा नेपाली हो । म आफ्नो मातृभाषा र राष्ट्रभाषा बिर्सिएँ भने मात्र हीनताबोध हुन्छ । अङ्ग्रेजी भाषा मैले पछि सिकेर बोलेको हुँ र पोख्त हुने प्रयास जारी छ, भएन भनेपनि मेरो कुनै आत्माग्लानी हुने छैन । म आफ्नै मातृभाषामा पोख्त छैन भने तिमीले बोलेको अङ्ग्रेजी भाषा पनि आधिकारिक रुपमा कहिँपनि स्वीकार्य हुने छैन भने मलाई कसरी अङ्ग्रेजी भाषामा समस्या हुँदैन, भनेपछि बुझ्नेहरू जिल्ल पर्छन । मुर्खहरूले चाहिँ पाँडेगाली गरेर फकिन कन्ट भनेर जान्छन ।

हामी नेपालीले आफ्नो नेपाली भाषा बिर्सिएर अङ्ग्रेजी भाषामा निपुण होइन दुबै भाषामा निपुण भएमात्र छाती फुलाएर गर्व गरौं । आफ्नो भाषालाई बिर्सिएर अङ्ग्रेजी भाषालाई सभ्य, शिष्ट भाषा हो जसलाई सो भाषाको पूर्णज्ञान छ उही नै हो बौद्धिक ब्यक्ति भनिरह्यौ भने भविष्यमा हाम्रो नेपाली समाजलाई तहसनहस बनाएर नै छाड्ने छ । निचोड कुरा चाहीँ भौतिक सुन्दरता र बौद्धिक सुन्दरता को हो । नेपालमा माओबादी सतहगत भइसकेपछि मिस नेपाल प्रतियोगितालाई सम्पन्न हुन दिएनन् । प्रतियोगिको बारुले कम्मर, टिमिक्क परेका बक्षस्थल, कस्सिएका नितम्भ, मुलाझैं सर्लक्क परेका अनाबृत्त पिडौंला, बदामी आँखा, सुन्तले ओँठ, सरलक्क बादलझैं फिँजिएका केशविन्यास, दारिमका दानाझैं मिलेका दन्तलहरको मुल्याङ्कन गरि भौतिक सुन्दरतालाई प्राथमिकता दिएर बौद्धिक मापन नगरी, नारीको उपहास गरियो । नारी भोगविलासको साधनमात्र होइन, पुरुषको खेलौना पनि होइन । यहि नै हो उनीहरूको मूलनारा ।

माओको देश चाइना र लेनिनको देश रसियामा पनि निरन्तर सम्पन्न भइरहेको प्रतियोगिता नेपालमा रोकावट गर्न खोजेपनि हात्तीलाई भैँसी बान्ने दाम्लोले बाँधे जस्तैमात्र भयो । सन् २०१० को विश्व सुन्दरी प्रतियोगिता त झन चाइनामै सम्पन्न भयो । मलाई थाहा छैन माक्र्स र माओको दर्शन भित्र भौतिक सुन्दरताको बारे के कस्तो उल्लेख गरिएको छ ? नारीलाई भोगविलासकै साधन होइन भन्ने विषयलाई सबै पुरुषले आत्मासात गर्नुपर्ने विषय हो र नारीहरू पनि सजग हुनु पर्दछ । माओको जीवनीलाई हेर्दा त पार्टीको जति-जति बिस्तार गर्दै लगे उतिकै पुरानो पत्नीसँग बिच्छेद र नयाँ पत्नी फेरेर आफ्नो बैबाहिक जीवनलाई पनि बिस्तार गरेको पाइन्छ । लिखित रुपमा होइन मौखिक रुपमा सुनेको चाही माओले चीनमा गणतन्त्रको लागि लड्दा माओको सैन्यले गरिव जनताहरूको स्याउ खाएको मुल्य त्यही स्याउको बोटमा झुण्डाएर जान्थे रे ! तर अहिले नेपालमा काठमाडौमा बनिरहेको आलीशान महल, खरीद भइरहेको जग्गा जमीन खरीदकर्ताको नाम सोध्दा माओबादीको नाम लिने गरेको पाइन्छ । यो भन्दा दशपन्ध्र बर्ष अगाडि काठमाडौको महङ्गी कस्ले बृद्धी गर्यो भनेर प्रश्न गर्दा विदेशमा गएको लाहुरेले भन्ने गर्थे अहिले त्यो पनि माओबादीकै टाउकोमा थोपरिन्छ । मैले तीन दशक भयो बिदेशमा पसिना बगाएको काठमाडौमा घर छैन । दशबर्ष जङ्गल बसेर पैसाफल्ने रुख (मुद्राबृक्ष) फेलापर्यो कि ? कवि अर्जुन खालिङ्गले एमालेको ९ महिने सरकारलाई ब्यङ्ग गरेर आक्रोस शीर्षकमा कविता यसरी लेखेका छन्-

मेरो अहमको छतको घामले छेल्ने

मार्बलको अश्लील छाला टाँसेर

कामुक मोटरहरूमाथि ओथारो बसेको

त्यो अराजक महल बनाउने त्यत्रो पैसा

कहाँबाट आयो हा ?
 

न त त्यो-

पसिनाहरूको इँटाले पखालिएको छ

न जोहोका झ्यालढोकाहरू नै हालिएका छन्

नौ महिनामै कसरी त्यत्रो हलक्कियो ?

 

अनौ नै नसमातुँ जस्तो बनायो

मेरो मेहनतको खुत्रुके फोड्दिउँ ?

कि जोतिदिउँ डोजरले त्यै साँढे घरलाई ?

कवि खालिङ्गले भनेझै मलाई पनि मेरो ३० बर्षे परिश्रमको खुत्रुके फुटाउन मन लागेको छ । माओबादीको उदगमथलो रुकुम रोल्पा तथा बिकट हुम्ला जुम्ला र अन्य ठाउँका गरिब जनताहरू भोकले प्याक प्याक भएको समाचार देखिरहेका छौं । नेताहरू भने बुर्जुवा सर्बहारा नारालगाएर काठमाडौको (सुरा र सुन्दरी) सुसुगृहमा बिताइरहेका होलन ? नेपालका माओबादीहरूले पनि नेपाली जनतालाई बुर्जुवा दर्शनमात्रै छाँटे भने रुमानियाका राष्ट्रपति निकोलाए काउसेस्कोझै जनताले तिनीहरूको घाँटी रेटने छन् । उनीहरूको सिद्धान्तमा बौद्धिक सुन्दरतालाई मात्रै स्थान दिइन्छ । तर मैले अहिलेसम्म देखेको भोगेको प्रत्यक्ष अनुभव चाही विद्वानमान्छेले पनि भौतिक सुन्दरतालाई नै प्राथमिकता दिएको देखेको छु । एउटा उदाहरणलाई हेरौं ! एकजना शैक्षिक योग्यता बिहीन परि झैं सुन्दरी सामान्य साक्षर होस्। र अति कुरुप, कुलीन घरानकी शैक्षिक योग्यता स्नातकोत्तर होस् । विद्यावारिधि गरेको एकजना केटालाई रोज्न लगाएमा त्यहीँ सामन्य साक्षर, भौतिक सुन्दरीलाई नै रोज्ने छ । प्रिय पाठकबृन्द तपाई कुन रोज्न चाहनु हुन्छ ? भौतिक सुन्दरी या बौद्धिक सुन्दरी ?

वेल्स कार्डिफ