कविताको कमाल

Author : कोरङ्गी प्रेम
Published on : November 15, 2010


  
कोरङ्गी प्रेम

  एकताका मेरो रुचिको विषय भनेको संगीत थियो । त्यो विनाको जीवन कल्पना पनि गर्न सक्दिन थें । त्यसैले म सानो छँदा अगेनो माथिको खोपीमा रहेको बुढो रेडियोले एकै छिन सुख पाउँथेन । गाईबाख्रा चराउँदा होस् या भाइ वहिनी हेर्दा अथवा बाबु बाजेको बिंडो थाम्नलाई गोरु जोत्दा समेत सुख पाउँथेन त्यो रेडियोले । साँझ विहान गाउँघर डुल्दा छड्के पारेर रेडियो भिरी ठाँटिएर शानले हिंड्दा बेग्लै शान हुन्थ्यो यो ठागुको (ठुलेको)। संखुवासभा सुदुर पूर्वी पहाडी जिल्ला भएकोले रेडियो नेपालको प्रसारणहरू स्याँ स्याँ गरेर प्रष्ट नसुनिने तर रेडियो खरसाङ र अल ईण्डिया रेडियो चांहि क्लियर । अल ईण्डिया रेडियोबाट मिठा मिठा हिन्दी गीत बज्ने हुनाले सबैले अल ईण्डीयानै सुन्थे । त्यती मिठो गीत गाउने रेडियो थाहै नपाई हाम्रा नेताहरू झैं पोईला जाँदा यो ठागुको भोक निन्द्रा सबै हराउँथ्यो । पर्नु पीर पर्थ्यो यो ठागुलाई । त्यो कसरी भने जब बुवा कोलवीरे (तास) मा गोलखाँडी जान्थे रेडियो पोईला गईहाल्थ्यो । त्यसो त पोईला जानेमा अरुहरू पनि ताँती लाग्थे । जस्तै भकारामा बाँधेको पठ्याक्री, कुखुराको भाले अनि हातमा बाँधेको घडी । अझ रमाईलो कुरा त के थियो भने रेडियो र घडी चांहि जति बुढो भयो त्यती नै पोईला जान्थ्यो । महिना पिच्छे, हप्तै पिच्छे हुँदा हुँदा दिनै पिच्छे । आज फूल बहादुरसँग, भोलि राम बहादुरसँग, पर्सी सुन बहादुरसँग आदि ।

  जब ०४८ सालमा उच्चशिक्षा अध्ययन गर्न भनी मञ्जुश्रीले बसालेको वस्ति  छिरें मेरो सांगीतिक यात्रा निकै फस्टायो । मेरो बसाई सानोठिमी भक्तपुरको छात्रवासमा थियो । सोहि छात्रवासमा मेरो मामा युवराज गुरुङ पनि बस्नुहुन्थ्यो जो बरियात क्रममा वार्डेन पछि तेश्रो तहमा हुनुहुन्थ्यो । हाल NRN बेल्जियमको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँकै साथी सहायक वार्डेन जो हाल अनौपचारिक शिक्षा केन्द्रमा  अधिकृत हुनुहुन्छ र एक अर्का साथि चांहि नेपाली रेडियो बेईजिङ चाईनामा नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । यी ३ उस्तादहरूको माझमा मेरो सांगीतिक यात्रा राम्रैसंग मौलायो । बुढाहरू पालैपालो मादल, गिटार र हारमोनियम बजाउँथे म चांहि घोक्रो फुलाएर नारायण गोपाल बनि टोपल्थें । अलिकति लाज अनि धेरै रहरहरूको माझ घोक्रो फुलाएर चिच्याउँदा पेटको लाम्टा दुखेर हुरुक्कै हुन्थे । रहरै रहरमा मैले एक साँगीतिक यात्री भेटे आले मगर थरको नाम चाहि नेताहरूले झै भुले अहिले । म गाउँबाट आएको सानो ठिटो रातो गाला अनि हातखुट्टामा ननिख्री कठ्ठीएर बसेको अलिअलि लेग्रोको कारणले मलाई  सानो भाइ भन्दै खिज्याउथे साथीहरू । त्यसताका ३ जना मामाहरू विच मेरो सांगीतिक यात्रा निकै फस्टायो ।उहाँहरूको अचम्म लाग्दो बाजा बजाईले मेरो जोस जाँगरलाई निमिट्यान्न नपारे पनि समस्यामा चांहि अबश्य पा-यो । अधिकृत मामा यो कटमा गाउनु पर्छ उ कटमा गाउनु पर्छ भन्दै गुरुङ्सेनीले भेडाको ऊन फट्कारे झैं गरी गिटार फट्काल्थे । चाईनामा हुने मामा चांहि मादलको पनि भाले र पोथि हुन्छ बाबु यो चाहि भाले परेछ त्यती राम्रो स्वर छैन पड्केको भन्दै तल्ला घरे वाले मुढा बनाउदा गोरुको छाला चुटे झैं चुट्थे अनि मेरो मामाको त के कुरा आ... गर्दै हारमोनियमको तालमा राग अलाप्थे बुढा । अरु २ मामाहरूलाई समेत यसरी बजाउ उसरी बजाउ भन्दै गाईड गर्थे । मानौं उनी छोटे उस्ताद नै  थिए । पछि विस्तारै कलेजको कार्यक्रमहरूमा गाउँदै जादा पो थाहा पाएँ बुढाहरू सबै फेल । तातो न भुत्लोको बाजा बजाई बुढाहरूको, त्यसो त मेरो गायन शैली पनि त कम विचित्रको थिएन गीत गाएको हो की देउसीमा भट्याएको आफैं कन्फ्यूज । मैले मेरो गाउने रहरलाई मार्न सकिन तसर्थ २०४९ साल तिर मेरो साथि र म सिंहदरवार छिर्यौं । त्यसताका त्यहाँ सर्वसाधारणलाई रेडियो नेपालको कार्यक्रमहरू हेर्ने सुविधा थियो । त्यस्तै २०४८-५० साल तिर एयरपोर्टमा पनि २० रुपैयाँको टिकट काटेर २ तला माथि चढि एयरपोर्टको दृश्यावलोकन गर्न पाईन्थ्यो तर जब जनयुद्व सुरू भयो सबै बन्द भयो । त्यसताका अनुरोध गीतको कार्यक्रम ज्यादै लोकप्रिय थियो । सबैले चिठी पत्रबाट मन परेको गीतको फरमाईस गरी पठाउँथे । हामी रेडियो नेपाल परिसरमा छिर्यौ १ कर्मचारीले उहाँ प्रदीप राज पाण्डे हो भनि चिनाए । उहाँको "म तिम्रो शहर छोडी टाडा"  भन्ने गीत खुबै हिट थियो त्यसबेला । पछि थाहा पाएँ उहाँको सबै गीतहरू एक से एक रहेछन् । त्यसबेलाका गीतहरू खुवै मेहनत गरेर गाईन्थ्यो परिणाम कर्णप्रिय हुन्थ्यो अहिले मेहनत पनि छैन मिठास पनि छैन । उहिलेका गीतहरू सुन्नलाई गाईन्थे भने अहिलेका गीतहरू हेर्नलाई गाईन्छन् । अहिले गीतको भिज्युअल छैन भने गीतको कुनै अत्तोपत्तो हुँदैन । २०४९ साल तिर हो क्यार हामी २ ले स्वर परिक्षा दियौं । ल गाउ भनेर स्थायी र अन्तरा गाउन लगाईन्थ्यो २-३ मिनेट गाए पछि ओके भन्थ्यो र १ महिना पछि रिजल्ट हेर्न आउनु भन्थ्यो । मैले स्वर परिक्षामा गाएको गीतको बोल-

"पहिले नै हामीले गरेका थियौ, कहिल्यै नछुटिने बाचा

दुई ढुक्ढुकीको मिलन भयो, मिलन भयो आज"    

यसरी स्वर परिक्षा त दियौं तर पास हुने छाँट नदेखे पछि रिजल्ट हेर्न फर्केर जाने आँट गरेनौं ।

     मन्जुश्रीको वस्ती (काठमाण्डौ) मा मेरो जिन्दगीको महत्वपूर्ण समय संघर्षमय तरिकाले बित्यो । रोग भोग र गरिवीसंग संघर्ष गर्न मैले त्यही वस्तीमै सिकेको । अतः यो मञ्जुपत्तनसंग मेरो कहिल्यै नटुट्ने नाता सम्बन्ध वसेकोछ  । त्यै वस्तीमा घाँटीमा दाम्लो (टाई) झुण्ड्याएर २-४ कौडी कमाई गर्थें केही वर्ष अघि । अचानक दिल्लीबाट हाम्रा नेताहरूलाई दर्शनको निम्ति डाकिए झैं मलाई पनि मेरी अर्धाङ्गीनीबाट बोलावट भयो अनि नेताले कुर्सी त्याग्न नसके झैं मैले पनि पत्नी मोह त्याग्न सकिन । परिणाम घाँटीको दाम्लो (टाई) फुकालेर २०६३ फाल्गुन १, फेब्रुअरी १३, २००७ का दिन RNAC को बुढो जहाज चढि छिरें हङकङ जुन दिन माओवादीका भूमिगत नेताहरू खुलामञ्चमा सार्वजानिक हुँदै थिए । जब म हङकङ छिरें मेरो जिन्दगीको अर्को पाटो सुरू भयो । रात दिन सन्चो बिसन्चो केही नभनी टाउँको जोत्दा बल्ल थाहा पाएँ के हो जिन्दगी ? के हो नाता गोता ? अनि समयको महत्व ? यसरी टाउँको जोत्दा जोत्दा बिरक्तिएको मनमा बिभिन्न भावनाहरू अंकुराउँथ्यो र तिनै भावनाहरूलाई कविताको माध्ययमबाट उग्राउँदथें । मैले यसरी करिव १२-१५ वटा जति उग्राएँ हुँला । ती कविताहरू तात्कालिन Nepal.hk ले छापिदिन्थ्यो । म खुरुखुरु उग्राइरहन्थें सो ब्लगका सम्पादक प्रकाश केसीले चाहि मेरो ऋणै खाए झैं गरी छापिदिन्थे । मेरो कविता हङकङमा सबै भन्दा पहिले यसै ब्लगले छापिदिएको थियो । अत त्यो ब्लग प्रति सदा आभारी छु । त्यै ब्लगले मलाई एउटा पगरी गुथाई दियो कविको जुन मेरो निम्ति असाध्यै भारी बन्यो । यसरी बिरक्तिएको मनलाई सम्हाल्दै टाउँको जोत्न थालेको पनि ३ बर्ष बितिसकेछ । यतिका बर्ष पछि एक पल्ट नेपाल जानु पर्यो भनि चाँजो पाँजो मिलाउन थाले । सबै भन्दा पहिले त छोरी श्रेयाको पासपोर्ट बनाउन जरुरी थियो । त्यसैले August 14 2009  शुक्रबारका दिन ड्यूटीबाट आवश्यक कागजात बोकेर चिम्साचुई स्थित नेपाली महाबाणिज्य दुतावास तर्फ हानिएं लन्च ब्रेकमा 

   आवश्यक कागजातका साथ फारम भरी काउण्टरमा बुझाएं । काउण्टरमा रहेको कर्मचारीले सबै कागजातहरू हेरे पछि तपाईको एउटा कागज पुगेन भन्यो । मैले सोधें "के पुगेन" ? जवाफमा उस्ले भन्यो "बिवाह दर्ताको प्रमाण पत्र नेपालीमा"   "म संग छैन भएको कागजात सबै यिनै हुन" मैले भने । "त्यसो भए फ्याक्स् गरी मगाउनुस् नेपालबाट"। अब कति हजार गोलखाँडी जाने भो भन्दै लागेँ काम तिर । काममा पुगेर टाउँको मात्र के जोत्न थालेको थिएं withheld नम्बर आयो । फोन उठाएं एउटा स्त्री स्वर कानमा गुन्जियो । तिनले सोधिन "कोरङ्गी भन्ने मान्छे तपाई हो ? हाकिम साहेवले खोज्नु भा छ कुरा गर्नुस्" भनिन् र फोन हाकिमलाई दिईन् । हाकिम चांहि चितवन निवासी उमनाथ न्यौपाने हुनुहुन्थ्यो पछि चिनजानमा थाहा पाएं । मैले भने "हजुर सर म कोरङ्गी" । हाकिम "कोरङगी जी तपाई त हिडीहाल्नु भएछ हामीले त यता उता खोज्यौ तपाईलाई । तपाईको नपुग कागजपत्र घरमा छ की फोन गरेर सोध्नुस् पो भनेको त कहाँ हिडीहाल्न भा को ? हाम्रो प्रकाश जी को Nepal.hk मा कोरङ्गी भन्ने मान्छेले कविता लेखिरहन्थ्यो त्यो तपाई नै हो ?" "हजुर सर त्यो कोरङगी मै हुँ । यसो बचे खुचेको समयमा कोरी टोपल्थें । प्रकाश सरले निकाली दिनु हुन्थ्यो" । हाकिम साहेवले मेरो कविताको नाडी छाम्दा ठिकै पाएछन् क्यार "तपाईका कविताहरू राम्रा छन् । ल भोलि आउनुस् बिल काटेर जानुस" भन्नु भो । ६३० डलर लाग्दो रहेछ पैसा र बिल काटेको ३ दिन पछि पासपोर्ट पाईने । एकताका मूलबाटो डटकमका एक मित्रलाई मेरो कविता यहाँको वेभसाईटमा हजुर भनेर निकै बिन्ती बिसाए पछि "कतिको दम छ पहिले हेर्छु अनि विचार गरौंला" भन्ने जावफमा एउटा कविता नराम्ररी शहिद बनाएं । रुकुम रोल्पाको जंगलमा यार्सागुम्बा खोजे झैं दिनै पिच्छे मूलबाटो डटकम मा तल माथि दाया बाया टाउँको देखि पुच्छरसम्म खोजीं हेरें नामोनिसाना कत्तै नपाए पछि आफैंलाई लाज लाग्यो मेरो कविताले आलु खाको देख्दा । अनि मैले पनि नाडी छामें मेरो कविताको र त्यसै बेला देखि कविता लेखेर उभो नलागिने रहेछ छाँट देखेर र लेख्न छाडी दिएं । तात्कालिन महाबाणिज्यदुत केशव प्रसाद भटराई २४ जना सचिवहरूको लिस्टमा परी बढुवा भएर नेपाल र्फकनु भए पछि कार्यवाहक महाबाणिज्यदुत शुशिल कुमार लम्साले साहाल्नु भो दुतावासको कार्यभार । केही समय पछि उहाँ पनि १३ जना प्रतिस्प्रधिहरूलाई पछारेर उप सचिवमा बढुवा हुनु भो । मैले उहाँलाई फोन गरेर बधाई पनि दिएं । शारिरीक रुपमा दुबै खुटाहरू नचल्ने भएता पनि मिजासिलो ब्यबहार र हँसिलो मुहारले सबैको मन जित्नु भएको थियो । एउटा क्षमतावान, मानविय संबेदना बुझ्ने मृदुभाषी ब्यत्तीको हातबाट मेरी छोरीले पासपोर्ट पाएकी छे । उहाँले पासपोर्टको साथ दिनु भएको बधाई र आशिर्वादले छोरी श्रेया पनि भविष्यमा एउटा उच्च ओहोदामा पुग्न सकोस् भन्ने आशा एवं  कामना गर्दछु । अन्तमा भूपू कार्यवाहक महाबाणिज्यदुत, दुतावासका कर्मचारीहरू र त्यो संजोग जुराई दिने तात्कालिन Nepal.hk हाल merouk.com का सम्पादक प्रकाश केसी तथा परिवार प्रति हार्दिक आभार प्रकट गर्दै सफलताको कामना गर्दछु ।

अस्तु ,११ नोभेम्वर २०१० ।

pmkorangi@yahoo.com

संखुवासभा, हाल हङकङ