मान्छेहरू हराइ रहेका छन्

Author : दाजु गुरूङ
Published on : November 15, 2010


  
दाजु गुरूङ

मान्छेहरू

मान्छेले मान्छे वगाउने भेलहरूमा 

मान्छेको मानव सागरमा

हराइ रहेका छन् ।

जिन्दगीका दौडहरू    

जीवनका वक्र-रेखकीय यात्राहरू   

रुमलिरहेछ मान्छे हराउने सागरहरूमा

छाती भरि सञ्चित तृप्त-अतृप्त चहानाहरू  

एक मुठ्ठी सुस्ताउने विश्रामको श्वास प्रश्वासहरू  

कृतिम धुलाहरू र इञ्जिनका काला धुवाहरूमा 

तरलित भइरहेछ यो कंक्रिटको  जंगलमा।

मान्छेहरू

मान्छे हराउने सपनाको शहरमा

व्यस्त छन् अभ्यस्त छन्                  

घाम उदाउँछ, अस्ताउँछ

कुनै हेक्का छैन ।

जिन्दगीका  भोगाइहरू 

जिन्दगी समाउने मान्छेहरूका दैनिकीहरू  

यान्त्रिक भइरहेछ मान्छे बगाउने भेलहरूमा

स्वचालित छन्  पाइलाहरू, तरलित छन् तृष्णाहरू 

मन भरि सगरमाथा जत्रा उधारो सपनाका भारीहरू     

हरपल आगो फूल्ने वालुवा र फलामसँग लाप्पा खेल्दै

काँण जस्तै हान्निरहेछ यो मायावी शहरमा ।

मान्छेहरू

मान्छेले मान्छे नचिन्ने यो घना वस्तीहरूमा

दिन र रात एक गरेर

मान्छे  खोज्दैछन् ,खोजीरहेकाछन्

खोज्नुको कुनै अर्थ छैन ।

यो अन्तहिन यात्राहरू

मान्छेहरू दौडीरहेका बाटाहरूमा

धेरै मान्छेहरू भेटीएका थिए जिन्दगीका मोडहरूमा  

निसासिएका थिए, छट्पटिएका थिए आफ्नै अजङ्ग सपनाहरूमा

भन्दै थिए घराबाट आएको असक्त बा को पत्र पढ्या छैन

घरपटी  हस्पिटल भर्ना भएको धेरै भयो जान भ्याछैन

अरुको के कुरा जिन्दगीले फड्को मारेको थाहा छैन  ,

टाँगामा नारिएको घोडा जस्तो 

नेटको सञ्जालमा उनिएर अल्झिरहे जस्तो 

अलारामको खवरदारीसँग दौडीरहेछ यो सपनाको शहरमा ।

मान्छेहरू 

मान्छे मोल तोल गर्ने शो-केशको शहरमा

सजिएका छन्, सजाइएका छन्

काँचका सामान जस्तेा, रवरका खेलौँना जस्तेा

तोड्न पनि हुने मोड्न पनि हुने

यो खुल्ला कमिशनको वजारमा ।

मान्छेहरू

यो कृतिम मानव सागरमा

जीवन-डुङ्गा चडेर सपना खोज्न हिडेका क्याराभानहरू

सपना खोज्ने धेरै धेरै कोलम्वसका अनुहारहरू 

कोलम्वसहरू हराइरहेकाछन्  सपनाहरू खोज्दा खोज्दै

कोलम्वसहरू लुटिइरहेकाछन् नयाँ पिराटसहरूबाट जिन्दगी रोज्दा रोज्दै

फूल्न अगावै तुषारो र ठिहीले निमटेको कोपिला जस्तै ।

आसा र अकाँक्षमा वलात्कृत छन् मानवीय भावनाहरू

चिसिएकाछन् मान्छेका जिन्दगीका उत्कृष्ट चहानाहरू 

कतै सिमेन्ट र वालुवाका भुइहरूमा, कतै सागरका छालहरूमा  

यो मायावी सपनाको शहरमा
 

dajuup@yahoo.com