सहरमा

Author : प्रकाश थाम्सुहाङ
Published on : November 06, 2008


  
प्रकाश थाम्सुहाङ
Author
मानौँ,
कुनै आख्यानको
अथवा कुनै कविताको
सर्वाल्टन पात्र म
यो सहरको सिंहदरबारलाई उल्टो घुम्दै
यो सहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै
यात्रामा आफु खोज्दै हिहिँरहेछु
आफु यात्रामा खोज्दै हिडिँरहेछु
 
हो,
म सुदुरपूर्वको एउटा गाउँले
यो सहरमा
अस्तित्वदावीको जीकिर गर्दैँ हिडिँरहेछु,
म एक आउटसाईडर
म एक निषेधित विचार
म एक वर्जित चिन्तन
पिठ्युँमा रातो घाम बोकेर
बोक्दै टाउकोमा अजङ्गको पृथ्वी
सुनाउँदै इतिहासको लालमोहर
यो सहरको मुख्य सडकमा भर्खरै ढडिएको
नयाँ सालिकलाई देव्रे पारेर
म आदिवासी लुङा
यात्रामा आफू खोज्दै हिडिँरहेछु
आफु यात्रामा खोज्दै हिडिँरहेछु,
 
उदेक लाग्छ
सदियौँ मस्त सुतिरहेछ
यो निरङ्कुश सहर
यो सहर बराबर नेपाल
नेपाल बराबर यो सहर,
किन ब्यूाझिएन अझै पनि
र तन्काएन आफ्नो आँखा
उसकै परिधि भन्दा बाहिर ?,
 
अब, छिचोलोर यो सहरको अध्याँरो तह
हिँडेर अँध्यारो गल्ली
म पुग्नेछु प्रत्येक चोकहरूमा
भवनहरूमा, मनहरूमा
र खोज्नेछु मेरो नागरिकता नम्बर
टेक्दै पाइतालाले अध्याँरो
प्रत्येक सरकारी कम्प्युटरको फाइलहरूमा
खोज्नेछु मेरो जिन्दगीको पासवर्ड,
 
म यायावर
समग्र नेपाल खोज्दैछु
नेपाल, नेपाल, नेपाल खोज्दैछु