प्रेमराग

Author : केदार 'संकेत'
Published on : November 06, 2010


  
केदार 'संकेत'

यो सृष्टि सिर्जना

यो गीत गुञ्जनमा

तिम्रै मात्र राग

अनि

नवरसले भरिएको छ

खैः यो बेला कुन अंगबाट

रस भरौं कवितामा ।

 

म निरस भएको छु यस बखत

तैपनि रोजेको छु तिमीलाई

मेरो कवितामा तिमी सौन्दर्य पराग भएर

पनिर झैं मन फटाएर गयौ ।

 

सुनामीको छालझैं

क्षत-विक्षत बनाएर

मनको मन्द गतिलाई

तहसनहस बनाइदियौ ।

 

नहुनु थियो हाम्रो भेट

भेटिन गयो

यही त होला जीवनचक्र चल्ने क्रम

जहाँ तिम्रो र मेरो मन

छिया-छिया भएर

दोभानमा परिणत भयो ।

खै कुन शब्द शिखाले

परिचुम्बन गरौं तिम्रो अधरलाई

खै कस्तो स्पर्शले

काउकुती लगाऊँ तिम्रो अंग अंगलाई

किनकि म यस बखत भग्नावशेष भएको छु

तर, तिमी भने मेरो विस्मृतिमा

पुष्पहार शैंयामा फुल्दै छ्यौ होली

म भने किन किन तिम्रो सपनाको खोजीमा

रित्तो खाटमा कोल्टे फेर्दै छु ।