प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?

Author : दयाकृष्ण राई
Published on : October 19, 2010


  
दयाकृष्ण राई

विश्व जनसंख्याको नयाँ तथ्याङ्क अनुसार पुगनपुग दुइकरोड पचासीलाख जनसंख्या भएको देश नेपालमा जनजाति आदिबासीहरू ७०% र बाहुन, क्षेत्री र अन्य जम्मा ३०% भएको तथ्याङ्क पाईन्छ । त्यही अनुरुप नेपाल सानो देश भएपनि भाषा,संस्कृतिहरू विशाल छन् । तर कतिपय भाषा संस्कृतिहरू लोपभइसकेको पाइन्छ र कतिपय लोपोन्मूख अवस्थामा छन् । उदाहरणको लागि कुसुण्डा भाषा बोल्ने एकजना व्यक्तिमात्रै छन् उनी हुन् राजामामा । जनजातिका बौद्धिकबर्गहरू यसरी नै भाषा संस्कृति लोपहुँदै गएमा जनजाति आदिबासीहरूको अस्तित्व निमिटयान्न हुने चिन्ताले सबै जातजातिको भाषा संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने अभियानमा लागेका छन् । जनजाति आदिबासीहरू ४६ सालपछि ज्यादै सक्रिय भएर आफ्नो हकहितको लागि अग्रसर भइरहेको अवस्था छ । गणतान्त्रिक नेपाल घोषणा भइसकेपछि क्षेत्रिय स्वायत्तताकोबारे तडकारो विषय बनेको छ । अधिकांस गैरजनजाति बिद्वानहरू यसलाई बिखण्डन हो भन्ने नारा लगाइरहेका छन् र केही प्रतिशत बौद्धिक स्तरकाले आदिबासीहरूले क्षेत्रिय स्वायत्तता पाउनु उचित हो भनेर सकारात्मक आवाज पनि उठाउँदै आएका छन् । जनजाति आदिबासीका बिद्वानहरूपनि सतप्रतिशत सहमत छैनन् । जुन ब्यक्ति यसबारे लागिपरेको छ उनीहरूको पनि स्पष्ट बिचार देखिदैन । हामी कसैले पनि पूर्बाग्रह नराखी स्वायत्तक्षेत्र विभाजनलाई बिकासक्षेत्र विभाजनको रुपमा लियौंभने हामी सिङ्गो नेपाली अखण्ड भएरै बाँच्ने छौं । संकुचित घेराभित्र रहेर आ-आफ्नै डम्फू बजाउँन लाग्यौं भने बिखण्डनबादीहरूले भविश्यवाणी गरेको कुरा तथ्य साबित हुनेछ । नयाँ संबिधानले विभाजित प्रदेशहरूको स्पष्ट खाका तयारी नगरी संबिधान निर्माण गरेमा नयाँ संबिधान नै हाम्रो सामु घाँडो भएर झुण्डिने छ ।

त्यहीँ निर्माणाधिन संबिधानमा असन्तुष्ट जनजाति आदिबासीहरूले साउन ३० गते देशव्यापी चक्काजाम गरेको थियो । त्यस समयमा म नेपालमा थिएँ र त्यस चक्काजामलाई राम्ररी नियाल्ने मौका मिल्यो । अन्य पार्टीहरूको चक्काजाम घोषणा भएकोदिन मुसापनि चुँ गर्दैन तर ७०% आदिबासीहरूले चक्काजाम घोषणा गरेकोमा निर्बाध रुपमा दुइपाङ्ग्रे सवारी साधनहरू सडकभरी गुडीरहेका थिए भने मौका छोपेर चारपाङ्ग्रे साधनहरूपनि कहिँकतै गुडीरहेका देखिन्थे । जनजाति आदिबासीहरूको देशब्यापी चक्काजाम त्यति प्रभावकारी बनेन र म यस सन्दर्भमै सोचमग्न भएर कम्जोरी पक्षलाई केलाउने प्रयास गरिरहेको थिएँ । ठयाक्क त्यसको तीन दिनपछि भाद्र ३ गते आदिबासी गीतकार समाजले कार्यक्रम पर्देश र घरदेश सर्जक सम्बाद आयोजना गरेर मलाई पनि सहभागी भइदिनका लागि पदाधिकारी मित्रहरूबाट बोलावट भयो । निर्धारित समयमै कार्यक्रमस्थल बागबजारको होटेल अशोकाको बैठककक्षमा पुगेँ । पर्देशका सर्जकहरूमा बेलायतबाट गणेश राई, ईश्वर चाम्लिङ्ग र म स्वयं थियौं । आदिबासी गीतकार समाजका अध्यक्ष गीतकार बसन्त बित्यासीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने महासचिव टीका चाम्लिङ्गले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसपछि शुरु भयो सर्जक सम्बाद । म तेस्रोबक्ता अथवा सम्बादकर्ताको रुपमा आफ्नो वैयक्तिक कुरा भन्दापनि सांगठनिक कुराहरूलाई मित्रहरूसामु सम्प्रेषण गर्न उपयुक्त थियो । र म नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको महासचिव भएको नाताले प्रतिष्ठानको भाबीरणनीतिहरू सरसर्ती देउसी भट्टाएझैं भट्टाउँदै लागे । मेरो ठीक अगाडिपट्ट टेबुलमा आदिबासी चलचित्र निर्देशक नविन सुब्बा नोट कोर्नमा ब्यस्त थिए । मैले बुँदागत रुपमा संगठनको भाबीयोजनाहरू भन्ने क्रममा नेपाली प्रतिभा प्रतिष्ठानले बेलायतमा भाबीपीढीहरू नेपाली भाषा र देवनागरि लिपीबाट बन्चित हुने प्रचुर सम्भावना भएकोले नेपाली भाषा पठन-पाठन गराउनका लागि पहल गर्ने अभियान प्रारम्भ गरेकोबारे पुष्टि गरें । र हामीले बाषिर्क दिँदै गरेको प्रतिभा पुरस्कारलाई भविष्यमा बृद्धिगर्दै लैजाने र नेपालको मदन पुरष्कारको राशीसम्म पुर्याउने लक्ष्य भएको र मदन पुरस्कार जतिनै पुर्याउन नसकिएपनि यसलाई दोस्रो मदन पुरस्कारको रुपमा नेपालका साहित्य सङ्गीतमा बिशेष योगदान पुर्याएरपनि उनीहरूको योगदान सही मुल्याङ्कन नभएका उपेक्षित प्रतिभावान स्रष्टाहरूलाई पुरस्कृत गर्ने  । यस्तै कुराहरू बोल्दाबोल्दै समय सकिएको संकेत कार्यक्रम सञ्चालकबाट पाएँ र मेरो सम्बादहरू टुङ्गाइदिएँ ।

सामान्य रुपमा चलचित्रको छायाङ्कन गर्दा निर्देशकले अभिनय गर्ने कलाकारहरूलाई सम्बाद बोल्न आदेश दिनेगर्छ । तर त्यसदिन कार्यक्रम सञ्चालक टीका चाम्लिङ्गले निर्देशक नविन सुब्बालाई सम्बाद बोल्न लगाए । नविनजीले यसरी सम्बाद बोल्नथाले । यहाँ भएका कुरा र उता दयाजीहरूले चलाएको अभियान कन्ट्राडिक्सन जस्तो लाग्यो । कारण हामी त्यहीँ खसभाषालाई विस्थापित गरेर आफ्नो भाषाको लागि लडाई गरिरहेकाछौं उहाँहरू त्यसकै संरक्षणमा लाग्नु भएको रहेछ । अर्को त मदन पुरस्कार भनेको के हो ? मदन पुरस्कार भन्यो भने अहिले त मान्छेहरू हाँस्छन् । राख्नु हुन्छ भने तपाईहरूको पुरस्कार अर्कै राख्नुहोस । र किरात सौन्दर्यशास्त्र प्रति यहाँहरूले अध्यन गर्नुहोस् । नविन बोलिरहेका थिए मेरो मनमस्तिष्क भित्र उत्तरका मुस्लोहरू ज्वारभाटा बनेर उर्लिरहेका थिए । तर मेरो सम्बाद बोल्नेपालो भने गइसकेको थियो । म भन्दा पहिला वरिष्ठ गीतकार भुपाल राईले आफ्नो सम्बादमा किरात सौन्दर्यशास्त्रकोबारे बताएर हामीलाई पनि त्यसबारे अध्यन गरेर भाबीसन्ततीहरूलाई पनि हस्तान्तरण गर्ने सुझावहरू दिए । यो कुरा मननयोग्य थियो र म नतमस्तक नै थिएँ । जुन सौन्दर्यशास्त्र रक्षजीले नेपालबाट ल्याएर यहाँका स्थानिय पत्रिकाहरूमा अनुनय-विनय गरेर प्रकाशन गरेर हाम्रो बेलायतका पाठकहरू बीच पुर्याएको कुरालाई हामीले बिर्सनु हुँदैन र रक्षजीले ल्याएर पढने मौका दिएकोमा हामी कृतज्ञपनि छँदैथियौं । र सौन्दर्यशास्त्र लेख्नेहरूलाई त झन जति आभार दिएपनि थोरै हुन जान्छ । किरात सौन्दर्य शास्त्रको लेखन कसले गर्यो र त्यो विशुद्ध किरातभाषा र किरात लिपीमा छ त ? अहिलेको परिप्रेक्षमा यो कुरा सम्भव छ ? लेखकहरू हुन भोगीराज चाम्लिङ्ग र धनप्रसाद सुबेदी, त्यो बिशुद्ध खसभाषा र देवनागरि लिपीमा लेखिएको छ । नविनले कुन आधारमा कन्ट्राडिक्सन भनेका हुन् उनको सम्बाद आफैमा कन्ट्राडिक्सन थियो । उनको चलचित्रको कुरागर्ने हो भने प्रायः सबै खसभाषामा निर्देशन गरेका छन् । सायद घर परिवारमा पनि उनले लिम्बूभाषा प्रयोग गर्दैनन् होला ? सँधै प्रयोग गरिरहेका छन् भने अति राम्रो हो र म उनको सम्मान गर्दछु । मैले हेरेको उनको चलचित्र तरेवा चाहीँ लिम्बू भाषामा थियो । नविनजीले भनेजस्तै म त्यस कार्यक्रममा आफ्नो दुम्माली राई भाषामा सम्बाद गर्न सक्थे तर त्यो कसले बुझ्ने ? बुझ्नुपर्ने ब्यक्तिचाहीँ गीतकार भूपाल राई हुन् तर मलाई विश्वास छ उनले भाषा बोल्दैनन् । र हामी सबै खसभाषाकै माध्यम हाम्रो अभियानमा अग्रसर भइरहेका छौं । भुपालजीले पनि देवनागरि लिपीमा नेपालीमानै साहित्य लेखे, केवल उनले त किरात मिथक, विम्व, प्रतीकहरूमात्रै प्रयोग गरेर यहाँसम्म आएका हुन् ।

  

नविनजीको अर्को सुझाव, दोस्रो मदन पुरस्कारमा थियो । दास्रो मदन पुरस्कार भन्नाले मदन पुरस्कारको भातृसंगठन भन्न खोजिएको होइन । हामीले प्रदान गर्ने पुरस्कार त प्रतिभा पुरस्कार हो । मदन पुरस्कार जस्तै अर्को प्रतिष्ठित पुरस्कार निर्माण गर्न प्रयत्न गरिरहेको जनाइएको हो । नविनजीलाई मदनपुरस्कार सामान्य लाग्ला तर अरु कसैलाई त प्रतिष्ठित पुरस्कारनै लागेको छ । कतिले नेपालको नोवेल पुरष्कार नै भन्ने पनि गर्छन् । मदन पुरस्कार के हो भन्नेबारे पूर्णरुपमा ज्ञान नभएपनि आफू साहित्यकार भएको नाताले बुझ्ने प्रयासमा निरन्तर लागिरहेकै छौं । उसले पाउनु पर्ने थियो पाएन, त्यस्तो पनि के पुरस्कार भन्ने मानसिकताले हाम्रो मस्तिष्कमा जरा गाडेको हुन्छ । कुनै पनि पुरष्कारहरू बिबादरहित हुँदैनन् । गत सालको नोवेल शान्तिपुरस्कार ��"बामालाई पुरष्कृत गर्दा बिभिन्न बिबादित तर्कबितर्कहरू चल्यो, भने सन् १९६४ को साहित्यमा नोवेल पुरष्कार पाउने महान साहित्यकार ज्या पोल सार्त्रले पुरष्कारनै अस्वीकार गरिदिए । त्यसैले प्रतिभा पुरष्कार प्रदानगर्न पूर्बनै स्रष्टाहरूको सही मुल्याङ्कन गरी सम्मान र पुरस्कृत गरेर पुरस्कारलाई वजनदार बनाउँने प्रतिभा प्रतिष्ठानको लक्ष्य हो । फरक ब्यक्ति फरक बिचार अवश्य हुन्छ र आफ्नो बिचार जनमानसमा सम्प्रेषण गर्नु सबैको नैसर्गिक अधिकार पनि हो । र नै मैले पनि आफ्नो बिचारहरू राख्ने जमर्को गरेको हुँ ।

बेलायतका भावीपिढीहरू नेपालीभाषा भने दुःखले बोल्ने गर्छन् । तिनै नेपालीभाषा बिर्सिदै गएका र देवनागरि लिपीबाट बञ्चित भइसकेका पिढीहरूलाई हामीले कसरी किरात सौन्दर्यशास्त्रबारे शिक्षा प्रदान गर्ने ? हामी जनजाति आदिबासीहरूको आ-आफ्नो मातृभाषा छ त्यसलाई हामीले पहाड तिरै छाडेर खसभाषाका साथमा भौतिक सुबिधा सम्पन्न सहरहरू प्रवेश गरेका थियौं । अहिले त्यो खसभाषालाई पनि छाडेर बेलायत प्रवेश गरेको हामीले अनुभूत गरेका छौं । त्यसैले नेपाली भाषाको संरक्षण र सम्बर्द्धन गरेमात्र हाम्रो एउटा टेक्ने धरातल निर्माण हुनेछ । नभए किरात सौन्दर्यशास्त्र कुन चराको नाम हो ? भन्ने सम्म अनभिज्ञ रहनेछन् हाम्रा भाबीपिढीहरू । नेपालीमा लेखिएकोलाई अङ्ग्रेजीमा अनुबाद गरेर उनीहरूलाई शिक्षा प्रदानगर्ने कि ? नेपाली भाषा र लिपीको प्रशिक्षण दिएर उनीहरूलाई सवल बनाउँने ? यीनै प्रश्नै प्रश्नको पहाड हाम्रो सामु ठडिएको छ । जनजाति आदिबासीहरूको मुख्य कम्जोरी चाहीँ  टेक्ने धरातल निर्माण नगरी आकाश थाम्ने प्रयत्न गरिरहेका छौं जस्तो लागेको छ । तत्कालैको लागि हाम्रो टेक्ने धरातलनै देवनागरि लिपी हो । नभए हामी के माध्यमबाट हाम्रो बिचारहरू सम्प्रेषण गर्छौं त ? हामी नौलाख किराती भन्दै आकाश पाताल छेंडेर टुक्रिने तर किरात सौन्दर्यशास्त्र लेखाउन चाहीँ धनप्रसाद सुबेदीलाई गोहार्ने । बघिनीसँग बिहे गरेको स्यालको कथाझैं बघिनीले सिकारपनि मार्यो डल्लै बोक्नपनि सक्षम भयो । अन्त्यमा स्यालले फोक्सो बोकेर फुर्ति लगाएछ मर्दकोभारी फोक्सो भन्दै । त्यस्तै हामी किरातीहरू पनि बाहुनलाई सौन्दर्यशास्त्र लेखाएर सिकार ढालेर हामीलेचाहीँ मर्दको भारी फोक्सो त बोकिरहेका छैनौं ? 

 

वेल्स कार्डिफ