दशैं

Author : बिष्णुनन्द चाम्लिङ
Published on : October 14, 2010


  
बिष्णुनन्द चाम्लिङ

यताउता चारैतिर हेर्दे

घुर्यानको एकछेउमा

दशाको पोका खोल्दै

सबैलाई भागबण्डा लगाईरहेछ दशैं,

 

हरेकसाल

बालबालिकाहरूको मनमा

उमङ्ग लिएर आउने दशैं

अभिभावकहरूको सामू

बहीखाता लिएर आउने गर्छ,

 

जाति र धर्मको नाम पुकार्दै

चाड र पर्वको मुकुण्डोले छोपिएर

सर्प जस्तै सलसली घिस्रिँदै

दुःखी दरिद्रीहरूको ढाडमा डस्न आईपुग्छ दशैं,

 

दशैं  !

रीति हो कि कुरीति ?

कुरीति हो कि रीति ?

संस्कार हो कि कुसंस्कार ?

कुसंस्कार हो कि संस्कार ?

संस्कृति हो कि बिकृती ?

बिकृती हो कि संस्कृति ?

ठम्याउँन गाह्रो छ,

 

तेरो मेरो

मेरो तेरो

फलानाको

ढिस्काको..........अरे

हाम्रो किन भएन ?

किन समस्त नेपालीको हुन सकेन दशैं ?

भूगोलले कि भाकलले छुट्यायो ?

भाकलले कि भूगोलले छुट्यायो ?

यसको निर्क्यौल गरिनु पर्दछ,

 

यौटै आकाश ��"ढेर

यौटै धर्ती टेकेर

यौटै बतासको सास फेरेर

अनि

यौटै रङ्गको रगत बोकेर

धर्मको

धर्र्सोले

भिन्न

बनाइरहेको छ किन ?

समाजले दशैंलाई भाँड्दैछ कि

दशैंले समाजलाई भाँड्दैछ  ?

वास्तवमा कसको हो दशैं ?
 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !