चौतारा

Author : केदार 'संकेत'
Published on : November 02, 2008


  
केदार 'संकेत'
स्थानः

पिपलबोट चौतारा

पात्रहरू:

जङ्गबहादुर- रिटाएर्ड मेजर

नवध्वज- पढेलेखेका युवक

कान्तिराम- शिक्षक अधबैंशे

सरिता- गाँउकै एक पढेलेखेकी युवती

शान्ति- जङ्गबहादुरको नातिनी

 

                                                                                      दृश्य दुई

 

 
(जङ्गबहादुर अलिक खच्किएका छन् । उमेर र अस्वस्थताका कारण, सबै रेडियोको वरिपरि झुम्मिएर समाचार सुनिरहेका हुन्छन्, संबिधानसभा चुनावको अन्तिम गणना अनुसार क्रमशः नेकपा माओवादी, काँग्रेस, नेकपा एमालेलगायतका पार्टीहरू अग्रस्थानमा आउँछन्)

 

सरिता-            (हँसिलो अनुहारमा) अब त देशमा शान्ति छाउने भयो, मेरो दाइ पनि त घर फर्कनुहुन्छ होला, एक महिना मात्र छ तिहार आउन पनि, हैन त नवध्वज दाइ ?

                           (बीचैमा कान्तिराम बोल्छन्)

कान्तिराम-      खै ! सरिता बहिनी फर्किलान् नि अब त, एउटा कालो संघारलाई छिचोलेर विजयी भएका छन्, यो विजय गराउनमा उनीहरूकै ठूलो हात छ ।

नवध्वज-        (बसेको ठाँउबाट उठ्दै) कुन जिल्लामा, चुनाउको दौडानमा को को मरे, अत्तो पत्तो नै छैन । सेनाका कति मरे, जनसेनाका कति मरे, कति विधवा भए, कति टुहुरो भए, कति कोठरीमा छन्, खोज्लान् नी राष्ट्रले अब ।

                            (एकहुल ढाक्रेका हुलहरू तामाङ सेलोको भाकामा गीत गाउँदै ओह्रालो झर्छन् ।)

                            उभोँ त शैलुङ लेकैमा, चौरीले खाने खस्रुको पात

                           हामी त दुःखिया यो ज्यानले, कहिले पो फेर्ने सुखको सास)

                           (चौतारामा बसेका सबैजनाको आँखा तेतैतिर पछ्याउँछन्)

सरिता-            (पछ्यौरीको सप्को काँधमा मिलाउँदै) अब पनि कुर्सीमा पुग्नेले फर्किएर पहिलेको जस्तो हेरेनन् भने नेताहरूका पाइलाले फेरि-फेरि हाम्रा गाँउमा टेक्न पाउने छैनन् । ढाक्रे दाइहरूका गीत जस्तै हामीलाई सुखको शान्तिको सास फेर्न आवश्यक छ, शिक्षा, बिजुली शुद्व पानी, र स्वास्थ्य शाखाको खाँचो छ ।

कान्तिराम-      (औला ठड्याउँदै,) अब हेर्नुस् मेजर बा, देशको कानुन अब जनताका हातले लेख्न पाउने छन् । कसैले पनि ठूलोसानो, जात र लिंगका कुरा गर्न पाउने छैनन् । स्वायत्त प्रदेश बनेपछि एउटै नेपाली भएर आफ्नो पौरखमा रमाएर बस्न पाउने छन् ।

जङ्गबहादुर-       (शिर निहुराउँदै) साह्रै राम्रो हुने भए छ देशमा अब, बाबु हो मलाई त यो सासले उधोँ खिचेर ल्यायो, सास फेर्न पनि गाह्रो भएर आयो । टाउको पनि घुमाउँदै छ । म चैँ घरतिर झरेँ बाबु हो । ल, शान्ति आ नानी जाम घरमा तेरी आमा फेरि गन्गन् गर्छे, तेरो बाबा पनि नआएको एसपालिको छुट्टीमा । चिट्ठी पत्र पनि छैन, चिन्तामा छे ।

शान्ति-            हजुरबा, मेरो बाबाले मलाई मिठाई नल्याएको पनि धेरै भैसक्यो । (निन्याउरो मुखलाउदै)

नवध्वज-        तिमीलाई म किनेर दिउँला नी भोलि, ल शान्ति ।

                         (फकाउँदै) तिमी त ठूलो भएपछि म जस्तै मास्टर बन्ने है ?

सरिता-            शान्तिलाई सुमसुम्याउँदै) म पनि किनेर दिन्छु है तिमीलाई । तिमी यो चौतारामा आएनौ भने त हामी सबैलाई नरमाईलो हुन्छ ।

कान्तिराम-      साँच्चै, यो चौतारामा हामीहरू एकदिन भेट भएन भने मलाई त खाना नै रूच्दैन भनेको ।

सरिता-            ए ! तेसो भएर पो होला, मेरो घरको बिल्लीले सधैँ मुख मिठ्याउँदै आउँछे तपाईंको घरबाट । (सबै गलल हाँस्छन् ।)

शान्ति-           (खुशी हुँदै) आजभोलि त बन्दुक पनि डम् डम् गर्दैन, म बाख्राको खोरमा नपसेको पनि कत्तिका दिन भैसक्यो, कस्तो मज्जा लागेको छ, तर मलाई दादाले प्याट्ट प्याट्ट हिर्काई बस्नुहुन्छ अनि टूहुरी टूहुरी भनेर जिस्काइबस्नु हुन्छ, टुहुरी भनेको के हो हजुरबुबा ?

जङ्गबहादुर-     (खोक्छन् मात्र बोल्दैनन् एकछिन शून्यता छाउँछ चौतारामा, मानौं एउटा युग ढल्दै छ आज।) सबैले मेजर बाजेलाई सुमसुम्याउँछन् ।

कान्तिराम-      टुहुरी भनेको केही पनि होइन शान्ति, म तिमीलाई भोलि पर्सी भन्छु । बरु अब तिमी डराएर बाख्राको खोरमा कहिल्यै पनि पस्नु पर्दैन । अब तिम्रो पाठशाला पनि चाँडै खुल्छ त्यसपछि त तिमी रमाई हाल्छ्यौ नी हैन त ?

                          खोकीको आवाज....

शान्ति-           आहा ! कति मज्जा, तर मैले त राष्ट्रिय गान पनि बिर्सी सकेँ कत्तिको बर्ष भयो स्कूल नगएको, अनी नी अंकल हाम्रो घरमा झुन्ड्याएको राजा रानीको फोटो किन निकालेको ?

नवध्वज-        (आश्चर्य मान्दै)  तिमी त सानै छ्यौ भनेको त कसरी आज तिमीले यत्तिका कुराहरू ठूला मान्छेले जस्तै गर्दै छ्यौ हँ ?

सरिता-            ओहो शान्ति ! अब ती तस्वीरहरू झुन्ड्याउन हुँदैन । झुन्ड्यायो भने त फेरि बन्दुक पड्काउँछन् । तिमी ठूलो भएर धेरै पढेपछि आफैले बुझ्नेछ्यौ, तेसैले भोलिबाटै कान्तिराम अंकलसँग स्कूल जाने है ।

नेपत्थ्यमा-       शान्ति, ए ! शान्ति, घर आइज छिटो ।(घरैबाट शान्तिकी आमा बोलाउँछिन् ।)

शान्ति-           (हजुरबुबाको छेवैमा गएर) घर जाऊँ हजुरबाबा घर जाऊँ, रात परिसक्यो । बाबाले मिठाई ल्याउनुभयो होला, म त गए । घरतिर लाग्छिन् । बाबा, बाबा ...!

 

जङ्गबहादुर-     (झिनो स्वरमा ) शान्ति शान्ति... (बीचैमा वाक्य रोकिन्छ ।)

 

नेपत्थ्यमा-       (एउटा आवाज आकाशमा यसरी मडारिन्छ) अब मेजर बाजे यो चौतारामा शितल खान कहिल्यै नआउने भए । न शान्तिका बाबाले मिठाई बोकेर दशैंमा शान्ति र शान्तिकी आमालाई भेट्ने छन्, न त उनीहरूले देशमा आउन लागेका शान्ति देख्न पाए । सरिता, अब तिमी तिहारको बाटो हेरेर तिम्रो दाइ राज र बसन्तलाई नपर्ख, उनीहरू त यो देशको लागि शहीद भए, शहीद !! 

                             सबैमा निस्तब्धता छाउँछ ।

                             (लाँकुरी डाँडाबाट एकहुल राँके जुलुश निक्लन्छ)

गणतन्त्र-           जिन्दावाद, जिन्दावाद !

सामन्तवाद-      मुर्दावाद मुर्दावाद !(केही क्षण नारा घन्किदै गर्छ)

लोकत्रन्त्र-         जिन्दावाद, जिन्दावाद !

                               पर्दा बिस्तारै बन्द हुन्छ 

          

                                                                             समाप्त