जङ्ग बहादुरको रातो घोडा

Author : दाजु गुरूङ
Published on : October 07, 2010


  
दाजु गुरूङ

धेरै पहिले कोतबाट फुकेको

जङ्ग बहादुरको रातो घोडा

यहि सडकै सडक भएर दरवार पसेको थियो

घोडा जतिनै बड्के पनि, जतिनै फड्के पनि

कालन्तर आफ्नै तबेलाबाट लडेको थियो

आफन्तै आफन्तहरूबाट मारिएको थियो,

तर चार भञ्झ्याङ भित्रको खुल्ला चौरको चौकुनामा

अझै जङ्ग बहादुरको राता घोडाहरू जिउँदैछन्  

शताब्दियौं देखि पहरामा तैनाथ छन्

हरपल आवत जावतका हरेक अनुहारहरूको फेहरिस्ता राख्छन्

लाग्छ, राता घोडाहरू समयलाई चुनौती दिइरहेछन्  

कोतको ज्यूँदो इतिहास वोकेर 

जङ्ग बहादुर को त रातो घोडा

विगत इतिहास बनिसकेको छ

तर विगत इतिहास वर्तमान प्रति अट्टहास गरिरहेछ,

किनकी जङ्ग बहादुर ढलेका छैनन्  

राता घोडाहरू तबेलाबाट लडेका छैनन्  

हिज-आज गाम बस्ती शहर बजार  

चोक गल्ली सडकहरूमा

जङ्गेहरू ढल्की ढल्की हिँडीरहेका छन्   

राता घोडाहरू बड्की बड्की दौडीरहेका छन् 

भदौरे राँगो जस्तै,

आस्थाको धरोहर र वर्तमानलाई निर्ममताले कुल्चेर

भविष्यलाई एउटा भयवाह सुन्यतिर धकेल्दै।

गलत इतिहासको गलत गणितलाई         

नत कुनै सीमाले रोकेको छ,नत कुनै आस्थाले छेकेको छ,

बरु जङ्गहरूको संजीविनी कवज

दरवार पस्ने मायावी मुकुण्डो भएकोछ 

किन की जसरी भए पनि दरवार पस्नु छ

सबै जङ्गेहरूलाई जङ्ग बहादुर बन्ने रहर छ,

त्यसैले त दरवार पस्न घोडा छाँद्नु पर्छ रे 

दरवारमा बस्न  घोडाको लस्कर वाँद्नु पर्छ रे

दरवारको लागि छाँदेको 

दरवारको लागि वाँधेको

राता घोडा रोक्न पाइदैन रे, छेक्न पनि पाइदैन रे 

नयाँ जङ्गेहरूको उर्दी छ, हुकुम छ 

वेलगामी राता घोडाहरू जहाँ पनि हिड्न सक्छन्

जस्को बाली पनि चर्न सक्छन्   

मन लागे टोक्न सक्छन्, सडक रोकेर ठोक्न सक्छन्  

अनि हनुमान जस्ता भएर बलवान घोडाहरू 

लुम्विनीमा परेड खेल्छन्

स्वयम्भूमा निशाना लगाउँछन् 

खेत बारीमा बारुद फलाउँछन् 

वर्वर पाषण वर्तमान   

निरिह परेवाहरू आफ्नै आँगनमा,

आफ्नै आकाशमा खेल्न सक्तैनन्, उड्न सक्तैनन् 

एक्लो पशुपतिनाथ निरिह परेवाहरू भन्दा निरिह छन् 

अनि जङ्गे र राता घोडाहरू उन्मूक्त छन्, वेलगाम छन् ।

हिज आज जङ्ग बहादुरको वुख्याचाले साह्रै तर्साउन थालेको छ

निरिह मानिसहरूका सपनाहरूमा ऐठन पर्छ   

आफ्नै घर-आागनमा ढुक्क छैनन् 

त्यसैले त नया जङ्गेहरू सुनिएको शरीरलाई मोटाएको ठानेर 

राता घोडाहरूको शौखिन बनेका छन्       

अनि मुलुकलाई घोडशालामा रुपान्तरित गर्न   

थरी थरीका घोडशालाहरू खोलिएकाछन्

घोडशाला, वधशाला, ठग ठोगशाला

जङ्गेहरूलाई जे गर्न पनि छुट् छ

घर घरेडी र कित्ता काटको राजिनामा लेखनमा व्रह्म लुट छ ।

राजिनामा लेखनको भूत देखाएर 

रातो घोडा दरवार चड्ने व्रह्मास्त्र बनेकोछ

मानिसहरू कति निरीह छन् जङ्गबहादुरको व्रह्मास्त्र सामू  

गाँस काटेर पाल्छन 

व्रह्मास्त्र टाउका माथि झुण्ड्याएर जाँतो जस्तो  

थाहा छ आफै माथि  खसिरहेछ भनेर

त्यसैले त आफ्नै घर आँगनमा शरणार्थी बनिरहेछन् 

दानवीर कर्ण भएर 

सुनेको थिए -

जङ्गबहादुर आफ्नो घर बारीको साह्रै माया गर्थे रे

आँगन अनि साँध सीमाको साह्रै ख्याल राख्थे रे

तर खोइ ? किन कुन्नी ? नयाँ जङ्गेहरू

छिमेकीहरूले ठेल्दै ठेल्दै टाउकामा टेक्दा पनि

कहिलेकाहि यस्तै हो भनेर ङ्चिच हास्छन् रे

कतै दरवार जाने रोडम्याप पो बिग्रन्छकी भनेर  

त्यसैले त आज मेचीले निकाशको बाटो खोज्दैछ रे

कालीले बग्ने भिसा माग्दैछ रे 

के गर्ने र जङ्गेहरूलाफ दरवार जाने घोडा छान्दैमा ठिक्क

राता घोडाहरूलाई मल्ल युद्घमा ठिक्क 

निरीह मानिसहरू जङ्गे र राता घोडाहरू देखि दिक्क

त्यसैले त घरमा गौंथली बस्यो भनेर

घरमा मूसो पस्यो भनेर    

नव जङ्गेहरू घरमा आगो लगाईरहेछन्

राता घोडाहरू आँगनमा मादल बजाउँदै ताण्डव नृत्य गरिरहेछन् 

एउटा कहाली लाग्दो  वर्तमान

संधै बिझिरहने काल- खण्ड 

तर मानिसहरूले बिर्सिएका छैनन्

भन्दैछन, धेरै पहिले जङ्गबहादुरको रातो घोडा

यसरी मात्तिएको थियो

यसरी नै पात्तीएको थियो

कालन्तरमा आफ्नै तवेलाबाट लडेको थियो 
 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !