धुन

Author : काङमाङ नरेश
Published on : October 07, 2010


  
काङमाङ नरेश

बाँसुरीको धुनलाई पछाउँदै

घाम जस्तै क्रमस: डुबेर

साँझको धमिलो आकृतिमा

एउटी बैंसको थकान

फलैंचामा असरल्ल पारेर

भुसुक्क निधाउँछे

धुनै धुनमा

विरक्तिएर

सपनाको पहाड चड्दै

हिमालको टाउको माथि

नाङ्गो खुट्टाले उभिएर

उ चन्द्रमा टिप्छे

ताराहरू टिप्छे

नयाँ नयाँ ग्रहहरू देख्छे

रोजेर घामलाई टिप्न भनि हात अघि बढाउँछे

घामले पिल्सिन्ने गरि पोलेपछी

उ भन्छे

आत्था

यो त साँचै

नयाँ नेपाल जस्तै

तातो रहेछ ।
 
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।