किनभने मेरो नशामा संघीयता कुदेकोछ

Author : भूपेन्द्र चेम्जोङ
Published on : September 15, 2010


  
भूपेन्द्र चेम्जोङ

फालिदेउ तिम्रा एसएलआरहरू

सिरानी लगाउ एम १६ हरू

फालिदेउ लापसापमा

तिम्रा अणुवमहरू

थन्काइदेउ तिम्रा फाइटरहरू

चावी लगाउ टेंकहरूमा

किनभने अव कसैको काम छैन ।

मेरो भूमिमा तिम्रा फाइटहरू उड्न सक्दैनन्

किनभने वुढा सुव्वाको मटेंग्राको निशानी बन्नेछन्

मेरो भूमिमा तिम्रा बमहरू पड्कदैनन्

किनभने इतिहासले निर्मलीकरण गर्नेछन्

मेरो भूमिमा तिम्रा मेशिनगनहरू ��"सिनेछन्

किनभने कांसोरेले पानी भरीसकेकाछन् ।

मेरो भूमीमा तिम्रा टेंकहरू हिड्न सक्दैनन्

तेलको टेंकीमा अरुण र मेचीको

पानी भरिसकिएकाछन्

परलैजाउ तिम्रा युद्ध सामग्रीहरू

मेरो भूमीमा आज नाहाङमा आइ सकेकाछन्

मेरो भूमीमा आज मिसेक झरिसकेकाछन्

कोशिस नगर सीमाना मेट्न

सिरीजंगाको रगतले कोरिएकाहुन् ती

पर लैजाउ फोहोरी हातहरू

खुकुरीको निशान वन्न सक्छन्

तिम्रा फोहोरी दिमागहरू

आजै लगेर तमोरमा पखाल

पर लैजाउ तिम्रा गिद्दे आँखा

फेरि गुलेलीको निशान बन्न सक्छन्

मलाई जिस्काउने कोशिस नगर

किनभने

आज मेरो आङमा मुक्कुहाङ चढेकोछ

मेरो मस्तिष्कमा मावोहाङ छिरेको छ

हल्लाउन कोशिस नगर मलाई

म अक्वाना माथि बसेकोछु

किनभने

मेरो नशामा जता ततै सघीयता कुदेको छ ।

 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !