अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

Author : किराँती भोगेन एक्ले
Published on : September 13, 2010


  
किराँती भोगेन एक्ले

तनावमा छु

आजको अस्त

भोलिको उदय

या भनौं बिपना र सपनाको ठीक बिच

उभिएर खुब तनावमा छु

विगतको समीक्षा

आगतको सम्भाबीयताको अध्ययन

वर्तमानको हरेक क्षण

मनले मगजलाई घोची रहन्छ

यथार्थमा आदर्श गल्ने पो हो कि

खसेर भीरबाट सुन्दर कल्पनाहरू

थेचारिएर मन थलिएर

बा कुँजिने हुँ संधैलाई

खुब तनावमा छु

अग्ला घरहरूका चेपचाप

गाडिएका जराजुरी जतनले उखेलेर

छासछुस पारेर रहरका लामा हाँगाबिंगा

सानो आफ्नो आँगन अगाडिको कटेरोमा 

संधैलाई बास सार्ने मेसोमा लागेको बखत

सोची रहेको छु

कतै म त्यो काराङकुरुङ त बन्दिनँ

जो संधै अनुकूल तापको खोजिमा

जीवनभर कहाँ कहाँ उडी रहन्छ

पटक पटक साइबेरिया छाडी रहन्छ

पटक पटक फेरि फर्की रहन्छ

अ हो, कल्पनाले नै रिंगटा चल्छ

भोलि त्यो भोगाईको नियति बनिदियो भने !

सोच्दा नै मात्र तनावमा छु

कहिलेदेखि यसरी कहिलेसम्म

मेरो आफ्नै माटोसंग

मलाई हिड्न सिकाउने बाटोसंग

मैले तर्सनु, तर्कनु पर्यो/पर्ने

त्यो माटोमाथि निस्फिक्री फुल्न

त्यो बाटोमाथि निर्धक्क हिड्न

केले, कसले किन रोक्यो, रोकी रहन्छ ?

त्यहैँ  छ त

अजम्बरी फुलेको च्याब्जुको चिहान

ऊसले फाँडेको खोरिया 

पहरा काटेर ल्याएको कुलो

तितेफापर र घैयाको बीउ पनि अझै

पुरानो मटियामा संचित नै छ त

सयौं मल्ला भेडा-बाख्राको खेवा

उधौली उभौली गर्ने लेख बेंसी

हजारौं चौंरी र भैंसी चर्ने खर्कहरू

पुस्तौं पुस्ता चोक गाडिएको निसानी

ठूलो चप्लेटी ढुंगा

सबै सबै अलगै छ त

के नपुग थियो/छ मलाई

खालि मानव बिक्री मुल्यसंगै

महत्वाकांक्षाको बढोत्तरीले

राजी खुसी बेचिने लतमा फसेर म

बहादुर बनेर

कवाडी मालमा दरिएको त छुइनँ ?

प्रश्न आफैंमाथि बर्सिन्छ कोर्राजस्तो

र चहराउँछ बेस्सरी

थुर्थुर काम्दै मैले बक्नु पर्छ

हो, हो

तर

तर म किन कसरी अम्बली बनें

कुलतमा फसें

कसले फ्याकिरहेको छ

मतिर भाङको लड्डु

कसले उकासी रहेकोछ निरन्तर

त्यो विषाक्त गुलियोमा भुल्न

र आज चेतमा आउनु खोज्दा

उम्कनु खोज्दा कुलतबाट

किन यो तनाव

खुब तनावमा छु ।

बाँडेर मान्छेलाई तासका चक्किहरूमा

जीवन थुतेर मृत्यु फ्याक्नेहरू,

सिधा दिएर घुमाई लिनेहरूको बफदारीमा

घर गोठ छाडेर बेवारिसे

महलहरूको रखवारीमै कपाल पकाउने

अर्को अनि अर्को पुस्ताको उदयमा

गर्व गर्नु नै मेरो धर्म हो ?

गाउँ बस्ति रित्याएर उजाड

सयौंतले भवनहरूको सहर बसाउने

कुल्लीहरूको लगातारको उत्पादनमा

हर्षमान्नु नै मेरो कर्म हो ?

अधिकार छिनेर काखको सन्तानको

गानिएको दुधको पीडा सहँदै

मेमको बेबीको मीठो निदरीको लागि

रुन्चे स्वरमा लोरी गाउँनुदेखि

आधा निद्रा सुतेर

आधा निद्रामा उठेर

चर्पी सोहोर्नु,.....चुलो पोत्नुसम्म

भ्याई नभ्याई नपुगेर

विवश निचोरिन्दै

सितन बनेर गिद्धे दृष्टिको

अस्मिता लुटिएपछि

असन्तुलित मस्तिष्कमा बाँचेर

रित्तिनु नै मेरो जीवन हो ?

 

यदि यसोहरू होइन भने

कहिलेदेखि यसरी कहिलेसम्म

मेरो आफ्नै माटोसंग

मलाई हिड्न सिकाउने बाटोसंग

मैले तर्सनु, तर्कनु पर्यो/पर्ने

त्यो माटोमाथि निस्फिक्री फुल्न

त्यो बाटोमाथि निर्धक्क हिड्न

केले, कसले किन रोक्यो, रोकी रहन्छ ?

उघारेर आँखा चेतनाले

पन्छाएर रंगीचंगी कागजका छेकाबार 

अस्ताएर परदेश

झुल्कन खोज्दा आफ्नै कोठेबारीमा

किन तुवाँलो लाग्छ मनमा

किन सुनौलो देखिन्दैन बिहानी

ऊफ खुब तनाबमा छु ।
 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !