जीवन यात्रा

Author : नरेश ठूले
Published on : September 09, 2010


  
नरेश ठूले
पर देखि त्यहाँसम्म

त्यहाँ देखि यहाँसम्म

पाईताला भरिको भूगोल

आँखा भरिको दृश्य

कान भरिको श्रवण

हिँड्दै, हेर्दै, भोग्दै खै म कहाँ पुगेँ ?

सिङ्गो शरीर ब्रह्माण्ड बोकेर

टेक्दै खुट्टाको दुई हत्केलाले पाईतलाका अजस्र डामहरू

काँटा खुस्केको घडी-

घाँटी अठ्याउँदा अठ्याउँदै पलहरू

समय उच्छिटि्एको क्षितिज पारी नियाल्न

ठिङ्ग उभिएछु यतै कतै म

हेर्दै मध्यान्न ढल्केका घामहरू,

 

भोली, पर्सि....गन्ति गर्दा गर्दै 'भ्रम'

झुल्की सकेछन् ३६५ वटा घामका प्रकाशहरू- कैयौं गुणा

भोलीकै सपना देखेर बग्रेल्ती 

रबर तन्काई रहेको छु खुट्टा

एउटा पहाड चढ्यो

सामुन्ने उभिन्छ अर्को पहाड

पुनः त्यो पहाड चढ्यो

फेरी अर्को पहाड

त्यो चढ्यो अर्को पहाड....

आह ! कत्ति धेरै लामबद्ध पहाडहरू !!

जो मेरो खुट्टाले टेक्नै पर्ने ती थाप्लाहरूमा

त्यो टेकी रहेको छु

जो फन्को मार्नु पर्ने हो

त्यो मारी रहेको छु,

 

प्रत्येक श्रृङ्खलाका अवयवहरूमा

जो कथा कोरिएका छन्

विचारहरूले- जीवनको

बोधहरूले- जीवनको

चेतहरूले- जीवनको

उचालेर उर्जाले- लक्ष्यका चाङहरू

उचालेर उर्जाले- उद्देश्यका रासहरू

उचालेर उर्जाले- आकांक्षका थाकहरू

झोंकमा गिदीभरी बोझ लादेर तात्तेको कनसिरी

बाजी जित्ने घोडा जस्तै

कति कुदे होलान खुट्टाहरू !

यद्यपी, डाम छोड्दै इतिहासको

निरन्तर कुदिरहने छन् खुट्टाहरू ।

 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !