किसिमै भो

Author : कोरङ्गी प्रेम
Published on : September 07, 2010


  
कोरङ्गी प्रेम

सधैं झैं मेलोमा टाउको जोतिरहेको थिएँ । खल्तीको मोबाईल बुरुक्कि बुरुक उफ्रन थाल्यो । बास्न शुरु गरेको भालेलाई कोरली पोथिको बथानबाट मुण्ट्याउँदै लगेर डोको भित्र जाक्दा कस्तरी उफ्रन्छ त्यसै गरी । यो ज्यानलाईनै लडाउँला झैं गरी । तर किन टेर्थ्यो यो ज्यान त्यति सजिलै । पौने कुर्इण्टल शिकार (मासु) छ यो ज्यानमा । बाबुको जेठा छोरा पो हुँ त । उस्तै त्यस्तैले त नआँटे पनि हुन्छ । फोन उठाएको दाइको रहेछ । दाइले हाँस्दै भन्नु भो किसिमै भो । सोधे, के भो त्यस्तो- के हुनु नी दक्षप्रजापतिको जस्तो मेरो कवितामा तिम्रो फोटो छापिए छ किसिमै भो । अतः म दाजु गुरुङ होईन । धरोधर्म हुँदै होईन । म उहाँको भाइ हुँ भनेर एउटा लेख नठेली रहन सकिन ।

  दाजु गुरुङ । यो यीनको नाम हो की यीनलाई बोलाउने साइनो के हो ? कति नंवरको चिट कुन खल्तीमा प-यो भनी अल्मलिएको परिक्षार्थी जस्तो कन्फ्यूज छु । कस्ले राख्यो यस्तो नाम - मुर्ख पण्डितले की बुद्धु लामाले ? मान्छेका कति राम्रा राम्रा नाम हुन्छन्-सुवास, सौरभ,आषिश । यीनका चांहि के हो यस्तो दाजु ? एउटा गतिलै नाम राखि दिए तिनका वाऊको के जान्थ्यो ? मान्छेहरू सहर बजार पसे पछि गाउँका नाम फेर्दछन् जस्तै पदम- पिटर, मदन-माईकल जीवन-ज्याक । नेताको कुर्सिमोह जस्तो कत्रो मोह यीनको चाहि गाउँले नाम प्रति खयर यीनी को हुन ? कस्ता छन ? कत्रा छन् ? यीनको धन्दा के हो ? थोरैलाई मात्र थाहा छ । नजिकको उठ्वस र हिम्चिम् नभएकाहरूले चाहिं गुगलमै गएर र्सच गर्नु पर्छ यिनलाई । त्यहाँ पनि भेट्न हम्मे हम्मे पर्छ  । आखिर को हुन यीनी ? थोरै गन्थन् गरौं यीनका बारेमा ।

    दाजु गुरुङ, भूपू मांशाहारी । ११ वर्षभूमिगत । भूंडीफुटुवा कवि । दिएर लिन विर्सने दानवीर कर्ण झैँ आदि । अनौंठा प्राणी । वुढाको बारेमा यत्तिनै । यिनको बारेमा लेख्दा विषय बस्तु रानो खोज्दै हिंडेको मौरी झैं अन्यत्र दायाँ वायाँ भयो भने यो सुकेको करङ वुढाले नडाम्ला भन्न सक्तिन । त्यसैले लेख्नु पूर्व क्षमा चाहन्छु ।

    सर्न्दभ कविताको । हिजोआज विदेश जानु र पत्रपत्रिकाको खेती सबै भन्दा मौलाएको खेती बनेको छ । चर्चा गरौं पछिल्लोको । सवै संघ संस्थाहरूका आ-आफ्नै पत्र-पत्रिका अनि आ-आफ्नै वेभसाइटहरू । राम्रो, अति राम्रो । समाजशास्त्रले के भन्दछ भने जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ गुणस्तरियता आउँछ । सायद त्यसैले होला हाम्रा कलमवीरहरू कम्मर कसेरै लागेका छन् । ज्यान फालेरै । छिनमै कथा लेखी भ्याउँछन, छिनमै गजल । छिनमै शायरी त छिनमै कविता । प्रतिभा होस् त यस्तो । माथिनै चर्चा गरें दाजु गुरुङ अनौठा प्राणी छन् । जनयुद्ध ताका कमरेडहरू आफ्नो उपनामले चिनिन्थे यिनी चाहि खुल्ला परिवेसमा आए पछि उपनामले चिनिन्छन् । यिनलाई बेथा लागेको महिना दिनमा बल्ल वल्ल कविता जन्मन्छ । त्यो पनि बढो हैरानीका साथ अरु कविहरू जस्तो सर्लक्कै एकै छिनमा आरामले जन्माउन सक्त्तैनन् यीनी । असिन पसिन भएर, मरेर जन्माउँछन । खै के खरावी छ यीनमा कुन्नी ?

बुढालाई एउटा कविताको ब्यथा लागेको २ महिना अघि रे June मा तर बल्ल August मा जन्माएछन् । कति लामो ब्यथा हो यिनको ? सिंगारी बाख्रीलाई भन्दा पनि लामो । एक दिन बुढाले भने कविता पठाएको छु यसो ठेल्देऊ है। बुढाको त्यती हिमचिम् छैन संचार जगत संग । ११ वर्षा त निस्केका खुल्ला सामाजिक परिवेसमा अनि कहाँबाट होस् हिमचिम् । मेरा हितैसी मित्रहरूका वेभर्साईटहरूमा राती १२ बजेसम्म लगाएर पालैपालो गरेर ठेली दिएँ । भोलिपल्ट २-४ वटा वेभर्साईटहरूले कृपा गरेर छापि दिए बुढाको कविता । मूलवाटो डटकम, बगैंचा डटकम, मेरो यूके डटकम, हङकङनेपाली डटकम र सृजना डटकममा जुनेली मकैको फुल उठे झैं वरर । बुढा मख्ख । तर मूलवाटो डटकमले चाहिं किसिमै गरेछ । दाजु गुरुङको कवितामा (मेरो) यो भाइको फोटो पो छापि दिएछ । अतः यसै लेख मार्फ सवैमा दाजु गुरुङ म होईन, धरोधर्म हाईन भनि प्रष्ट पार्न चाहन्छु । यीनका सिर्जनाहरूमा महाभारत, वेद, उपनिषद, रामायणको सुगन्ध आईहाल्छ । त्यसो त त्यै सुगन्धले लठ्याएर २-४ जना शुभ चिन्तकहरू बनाएका छन् बुढाले । राम्रै गरी निलेका छन क्यारे ती ठेलीहरू जमानमा । मेरा निम्ति त ती ठेलीहरूका दर्शन मात्रै पाए पनि अहोभाग्य । अतः जावो म ववुराको खोपडीबाट यस्तो सिर्जना कसरी निस्कन्थ्यो ? त्यसो त खेतला लाएछि यस्तै त हुन्छ । के थाहा वेभर्साईट र पत्रपत्रिकालाई ? को दाजु गुरुङ ? को भाइ ? कतिपय लेख रचनाहरू एउटाको खोपडीबाट निस्कन्छ र त्यस्मा अर्कैको फोटो टाँसिन्छ जसरी कर्साईले बाख्रीको मासुमा खसीको टाउको झुण्ड्याएर बेच्छन् । मलाई चोर कवि हुन छैन । त्यसैले म दाजु गुरुङ होईन । बुढा अलि भिरको टुप्पोमा फलेको चिण्डो जस्ता छन् । धेरै वेभसाइटहरूले यिनलाई फोटो नमागेका होइनन् तर ज्यान जाला दिन मान्दैनन् । तिनै फोटोको कारण कति कविताहरू गोलखाडी गए बुढाका । मान्छेहरू पत्रपत्रिका र वेभर्साईटहरूमा आफ्नो फोटो निकाल्न हाम्रा नेताहरूको जस्तै दिल्ली दौड गर्छन । २ लाईनको कवितामा ४ लाईनको फोटो छाप्छन् मानौं उनीहरू आाफ्ना सिर्जनाहरूलाई भन्दा फोटोलाई ग्राहयता दिईरहेछन् । नेताहरूले जस्तो तरुनी काण्ड, झापड काण्ड, सुत्केरी काण्ड अहिलेसम्म मच्चाएका छैनन् बुढाले, तैपनि किन आफुलाई सर्वजानिक गर्न मान्दैनन् ? त्यसैले त यिनी अनौठा प्राणी छन् । बेलाबखत अर्जुनका झैं तिखा तिखा कविता रुपी वाणहरू फुत्त फुत्त मिल्काउँछन् विभिन्न वेभ र्साईटहरूबाट । खै कतिलाई र्घाईते बनाए अहिलेसम्म यिनले तिनै दैव जानुन् । मैले एउटा कुरा बुझ्न सकिरहेको छैन । कतिपय वेभर्साईटहरूले फोटो विनाको लेख रचना छाप्दैनन् । के छ त्यस्तो जादु फोटोमा ? प्राथमिकताको विषय फोटो हो की लेख रचना ? के विना फोटोको सामग्रीहरू समसामयिक र वजनदार छन् भने पनि त्यो प्रकाशन योग्य मानिदैनन् ? मेरो जिज्ञासा उहाँहरू प्रति । हुन त कस्ता कस्ता सनसनीपूर्ण खवरहरू त मैयाहरूको फोटो भन्दा १२ हात पछि छापिन्छन् कठै हामी जस्ताका लेख । यीनका १-२ वटा गुणहरू चाहिं विर्सिनसक्नुका छन् जस्का वारेमा चर्चा नगरे यीनी टाउको विनाको मूर्ति जस्तै हुन्छन् ।

चर्चा अझै बुढाकै यानेकी दाजु गुरुङकै । यीनी एक शाकाहारी । म्याद सिद्धि सकेका (Out dated) । मांशहारीकालमा यीनी कस्ता थिए त्यो पनि अलिकति । मांशाहारीकालमा यीनी दिनै पिच्छे दशैं मनाउथे जसरी हाम्रा सभासदहरू संविधान लेख्ने वहानामा मनाउँदै छन् नेपाली जनता र देशलाई मागीखाने भाडो बनाएर । हप्तामा ५ दिन सोम, मंगल, वुध, विही र शुक्रबार बुढा चैते दशै मनाउथे । ती दिनहरूमा कामको चटारो बढी हुने हुनाले हल्का फुल्का खाने र राम रमिता पनि कमै गर्थे । बाँकी २ दिन शनि र आईतवार चाहि प्राय: बिदा हुने हुनाले यीनको बडा दशैं । यिनको चुल्होमा सबै जिवजन्तु र पेय पदार्थहरूलाई स्वागत थियो जसरी राज्यले जनजाती, मधेसी, महिला, दलित भनेर भेदभाव गरेको छ त्यस्तो कहिल्यै गरेनन् यीनले । सबैलाई पालैपालो दर्शन दिन्थे बुढा । खसी कुखुरा माछा भ्यागुता र्सप गड्यौला गंगटा आदि सबै प्रति समान ब्यबहार थियो बुढाको । वियर वाईन ह्वीस्कीसंग त बुढाको नङ र मासुको सम्बन्ध थियो भारतसंग हाम्रा नेताहरूको सम्बन्ध भए जस्तै । कुखुरी काँ देखि रविको अस्त नभएसम्म मेहमानहरूको ताँती । मेहमानहरू पनि कस्ता कस्ता हिमाल पहाड तर्राई सबै ठाउँबाट । सबैलाई विना रोकटोक प्रवेष बुढाको राम झुपडीमा । चुल्होमा पाकेको शिकार र मेहमानहरूको कोसेलीपात सबैसंग बाडेर खान्थे बुढा हाम्रा ठुलाबडाहरूले जस्तो एक्लै कहिल्यै कुम्ल्याएनन् यीनले । यीनले मांशहारीकालमा एउटा उल्लेखनीय काम गरेर निकै चर्चमा आए तर गिनीज बुकमा दर्ता गर्राई हाल्नु पर्ने खालको चाहि होइन नेताहरूको जस्तो । गाठी काम के गरेछ भने चल्होमा कस्ले नेतृत्वगर्ने भन्ने विवाद चुलिए पछि सबै कर्साईहरूलाई एउटै टेबलमा बसाएर ३ बुदे सहमती पत्रमा हस्ताक्षर गर्न लगाएछन । राष्ट्रपतिको भूमिका निभाएछन् । तर्सथ जमानाका राष्ट्रपति पनि हुन बुढा । ती बुदाहरू निम्नानुसार थिए ।

१ एकले अर्काको अस्तित्व स्विकार्नु पर्ने ।

२ आपसी झै-झगडा गरेर र्सवसाधारणको जिवनमा खेलवाड गर्न नपाईने ।

३ सहमतिय पद्धतिलाई अंगाली अघि बड्नु  पर्ने ।

 यसरी बुढाको योगदान फलाकी रहँदा एउटा प्रसंग कोट्याउन मन लाग्यो । एउटा ब्यक्ती ४-५ बर्षे नावालक छोरो लिएर डुल्न निस्कन्छ । नजिकैको पोखरीमा माछाका भुराहरू चारोको खोजीमा सल्बलाईरहेका देखेर प्लाष्टिकको चामल पोखरीमा छरि दिन्छ । माछाहरू हारालुस गर्दै चारो खान्छन् । पोखरीमा चामल हालीरहेको देखेर परेवाहरू पनि त्यो मान्छेको वरीपरी झुम्मीन आईपुग्छ र सडकमा चारो छरिदिन्छ । परेवाहरू रमाई रमाई चारो खान्छन् । त्यो रोमाञ्चित २ दृश्यले त्यो वालसुलभ मनमा जिज्ञासा पलाउछ र बाबालाई सोध्दछ । बाबा किन ती परेवाहरूले माछाको चारो खोसेर खादैनन ? अनि माछाहरू परेवासंग किन झगडा गर्न सडकमा जादैनन् ? ती प्रश्नहरूले त्यो ब्यक्ती भावविहव्ल हुँदै भन्छ । वावु यीनीहरू जनावर भए पनि मानिस जस्ता भेडा छैनन् । आफ्नो सिमा र परिधीलाई कहिल्यै नाघ्दैनन् । एकले अर्काको अस्तित्व स्विकार्दछन् । यीनहरूको ब्यवहार स्वच्छ छ । मानिस जस्ता स्वार्थी छैनन् धेरै नैतिकवान छन् । म मेरो देशको राजनिती सम्झन्छु । के हाम्रा नेताहरूको बुद्धि कर्साईहरूको जत्ति पनि छैन ? के हाम्रा नेताहरूले माछा र परेवाले जस्तो एकले अर्काको अस्तित्व स्विकार गर्ने संस्कार सिकेका छैनन् ? के माल्दिभसका राष्ट्रपति नेता नासिद जस्तो नेता हाम्रो देशमा कहिल्यै जन्मदैनन् जसले आफ्नो ४ करोड डलर सुविधालाई घटाएर २० लाखमा ल्याए र बाँकी रकम स्वास्थ्य मन्त्रालयलाई दिए । यदि कर्साई भन्दा गए गुज्रेका अनि परेवा र माछा जस्तो एकअर्काको अस्तित्व स्विकार्ने संस्कार नसिकेका स्वार्थी नेताहरूले नेतृत्व गरेको नेपाल सिंगापुर बन्लाकी झिंगापुर बन्ला पत्ता लगाउने जिम्मा तपाईको ।

अस्तु ।