दस वर्षपछि

Author : राजन मुकारूङ
Published on : August 28, 2010


  
राजन मुकारूङ

दस वर्ष-अघि

अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई ।

 

मेरो डाइले भन्नुहुन्थ्यो-

यो उम्रेकै साल

म पनि जन्मेको अरे !

 

यही आँपको रुखमुनि म

केही क्षण सुस्ताउथेँ

शितल ताप्थेँ

र परपरसम्म हेर्थेँ

यो फराकिलो मैदान

यी खेतका गराहरू

सोच्थेँ-

कुनै दिन

मेरो पनि हुनेछ यस्तै मैदान र खेतका गराहरू ।

 

जोत्त्न थालेको पचास वर्षपछि

मैले अन्तिम पल्ट हेरेथेँ

मेरै पसिनाले हिलाम्य पारेका गराहरू

रोप्नलाई ठिक्क पारेका लहलहाउँदा बिऊहरू

मन भारी भएथ्यो

तप्पतप्प खसेका थिए आँसु

किनभने-

म मुक्त भएको थिएँ त्यसदिन ।

 

झुम्कीले यहीँनेर एक मजेत्रो पसिना पुछिथी

गुढ्वाले यहीँनेर जोडजोडले नारा लाएथ्यो

मेरी उसले यहीँनेर उभिएर सोधिथी-

मुक्ति भनेको के हो गुढ्वकबाबा?

 

पचास वर्षसम्म जोतेको खेत

खनेको बाँझो

यसैलाई जीवन ठानेको थिएँ मैले

भनेथेँ-

झुम्किकडाइ !

आजदेखि यो खेत हामीले कमाउनुपर्दैन रे !

यही होला मुक्ति ।

 

मेरी ऊ त्यसबेलै झस्केकी थिई

सोधिथी-

अनि कल्ले दिन्छ जोत्त्ना?

मलाई सरकारसित विश्वास थियो

उसैले दिन्छ भनेथेँ ।

 

पाँच वर्षपहिले

रातो परिचय-पत्रको लागि

धर्ना बस्न काठमाण्डू गा'को मेरो गुढ्वा

जन्डिसले थलिएर उतै मर्यो

कम्लरी बस्न उतै ग'की मेरी झुम्की

परार माघीको अघिल्लो रात

'आउन नपाउने भएँ' भन्दै फोनमै खूब रोइथी

त्यसै रात उसले आत्महत्या गरिछे

बालुवा बटुल्थी झुम्किकडाइ

तिनाउ-नदीमा बगी पोहोरको बर्खा ।

 

दस वर्षपछि

आज २०६७ साल साउन २ गते

सत्तरी वर्ष पुगेको म चुन्नीलाल डगौरा थारू

म मुक्त कमैया

यही आँपको रुखमुनि उभिएको छु

सोचिरहेछु-

यो आँपको रुखसँगै म किन जन्मेँ?

 

यहाँ प्रयोग गरिएका थारू भषाका शब्दहरूको अर्थ-

डाइ- आमा

झुम्की- थारू युवतीको नाम

गुढ्वा- थारू युवकको नाम

गुढ्वकबाबा- गुढ्वाको बाबा

झुम्किकडाइ- झुम्कीको आमा

जोत्त्ना- जोत्त्नुको लागि ।
 
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।